प्रकृति र मानव मस्तिष्क

0
741

मानव समुदायले आफूलाई जति नै सर्वोत्तम प्राणीको श्रीपेच भिरेर प्राणी मात्रको उत्कृष्टता देखाउने कोशिस गरे पनि आखिरमा प्रकृतिको खेलसँग नतमस्तक हुनुपर्ने पाठ यसपालीको कोरोना महामारीले सिकाएको छ । प्रथम विश्वयुद्ध र द्वितीय विश्वयुद्ध हुँदै आणविक र परमाणविक शस्त्रअस्त्रको अहंमता र चिकित्सा क्षेत्रको व्यापक विकास हुँदा पनि कोरोना भाइरससामु निरिहता प्रदर्शन गर्नुपर्दाको क्षण आज संसारका लागि अनौठो र पेचिलो विषयबस्तु बनेको छ ।

जल सन्य शक्ति, थल सन्य शक्ति, वायु सन्य शक्ति तथा अन्तरिक्ष सन्य शक्ति र संसार एक क्षणमा ध्वस्त पार्न सक्ने परमाणविक शक्ति हातमा हुँदा पनि आज महामारीको सामु घुँडा टेक्नु परेको यथार्थ सबैको लागि सोचनीय भएको छ । आधुनिक, विकास र सभ्य हुने नाममा मानिस आफ्नो प्रकृतिको विरुद्धमा गइरहेको तर्फ उसले भेउ पाउनै सकिरहेको छैन । बढीभन्दा बढी अप्राकृतिकता, यन्त्रवत् जीवन, फास्टफुड, जङ्क फुड, प्रोसेस्ड खाद्यान्न, त्यसैगरी अनेक प्रकारका मासुजन्य खानाको लोभमा परेर आफ्नो स्वाभाविक प्रकृतिदेखि सैयौं माइल टाढा पुगे जस्तो देखिँदैछ ।

वर्तमानमा आमा प्रकृतिले हाम्रो ध्यान उनीतिर खिच्ने कोशिस गरेकी पनि छिन् । जसलाई हामी उपेक्षा गरिरहेकाले यसको संकेत कडा र घातक हुने देखिन्छ । उत्तरी र दक्षिणी ध्रुवमा पृथ्वीको औसत तापक्रमको दुई गुणा बढी तापक्रम बढ्नुले त्यहाँको बरफी सतह बार्षिक १० प्रतिशत पग्लिएर तटीय क्षेत्रमा रहेका शहरी इलाका डुब्दै जाने खतरा छ । संयुक्त राष्ट्रसंघको एउटा अध्ययन अनुसार अहिलेको आँधी–तुफान, बाढी–पहिरो, भूकम्प र तापक्रम परिवर्तन सन् १९७० को तुलनामा पाँच गुणाले बढेको छ । असंख्य अध्ययनहरुले औंल्याए अनुसार चरम मौसमका घटनाहरु दिनप्रतिदिन बढ्दो छन् । असमान्यरुपमा बढी वा कम तापक्रम, बाढी, समुद्री तुफान, भूकम्प, लामो समयको खडेरी, वन आगलागी तथा घातक प्रकोपीय रोगहरुबाट विस्थापित भएका संख्या बढ्दो छ । अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार युद्ध र अन्य युद्धका प्रकोपबाट विस्थापित हुने राजनीतिक शरणार्थीभन्दा वातावरणीय प्रभावका शरणार्थीको संख्या बढी छ ।

मानव सभ्यताको विकास सँगसँगै आएको चेतनालाई सही मानेमा सदुपयोग गर्न नसक्दा आजको मानव जीवनले सोच्नै नसकिने मूल्य चुकाउनु परेको छ । हामीलाई सभ्यताले सिकाएको प्रकृति प्रेम र यसको दिर्घकालीन संरक्षण गर्दै सही रुपमा प्रयोग गर्नुपर्ने पाठलाई शक्ति सम्पन्न मानिएका देशहरुबाट ग्रहण नगरिँदा आजको भयाभय स्थितिको सामना गर्नुपरेको भन्दा अत्युक्ति नहोला । शक्ति र सम्पन्नताको पछि दौडिएको आजको विश्व समाजलाई कोरोना महामारीले गतिलो झापड हानेको छ । दिगो विकास, वातावरण सन्तुलन र जलवायु परिवर्तनप्रति गरिएको उपेक्षा कै परिणाम हो आजको महामारी ।

तर, यस्ता अनेकन विपत्तिका बावजुद मानव अझै पनि हाम्रो ग्रहलाई न्यानो र बस्न योग्य बनाउनेतर्फ उन्मुख छैन । बरु अणु शक्तिको होडबाजी र व्यापारको लडाइँमा लागीपरेको छ । कार्बन न्यूनीकरणको अभियान चलाउनुको साटो यसको अस्वस्थ प्रतिस्पर्धामा उत्रिनाले गर्दा पनि आज आमा प्रकृति हामीसँग रिसाएकी छिन् । पूर्वीय दर्शन तथा अन्य दर्शनले देखाएको प्राकृतिक विज्ञानको सिको नगरी मानव विज्ञानको स्वविवेक प्रयोग नै अहिलेका समस्याको जड हो ।

एउटा वृक्ष लगाएको पुण्यले मानिसलाई परम्गति मिल्ने कुरा पनि संस्कृत वाङ्मयमा बताइएको पाइन्छ । हाम्रा पिता–पुर्खाले यसैले गाउँघरतिर वर–पीपल, शमीको रुख, सार्वजनिक ठाउँमा आँप, लिच्ची, जामुन, अमलाको वृक्ष रोपेर कतिपय त्यस्ता वृक्षलाई चौताराले आकर्षक बनाएर सबैले केही बेर भए पनि थकाइ मेट्ने, प्यास बुझाउने र शीतलता प्राप्त गरुन् भन्ने चाहना राखे । अझ नजिकै कुनै पानीको कुवा या पेउ राखिदिन पाए के–के न गर्न पाइयो भनेर खुशी हुने जमाना थियो । हिजोआज परिस्थिति फेरिएको छ, आवश्यकता अरू नै भएकोले ती एकादेशका कथा जस्तै बनेका छन् ।

मानिस कै एकल करामतले वन, जल, जमिन मासिँदो छ । पशुपन्छीको असीमित पालनले उष्णता बढ्दै गएको छ । यातायातको अन्धाधुन्ध प्रयोग, इन्धनको भरमार दुरुपयोग, उद्योगधन्दाहरूको सीमारहीत स्थापना आदि अनेक कारणले हरितगृह ग्यासको अत्यधिक उत्सर्जन हुँदा हिमाल, समुद्र, महासागरहरूमा संकट मडारिइरहेका छन् । अनेकौँ प्रकारको प्रदूषणको चपेटामा मानिस बाँच्न बाध्य हुनु परेको अवस्था छ । जलचर, थलचर एवंम् सामुद्रिक जीवजन्तुहरू मानिसको लोभको कारण महासंकटमा छन् । अनेकौँ जङ्गली जीवहरू विनष्ट भइसके, अरू अनेकौँ हुनेवाला छन् । उनीहरूको प्राकृतिक बासस्थललाई मानिसले अनेक ढङ्गले अतिक्रमण गरिरहेको छ ।

बाढी, पहिरो, सुनामी जस्ता संकट मानिसले झेलिरहनु परेको अवस्थालाई हृदयङ्गम गर्दा समयमै आन्तरिकको साथै बाह्य पर्यावरणलाई प्रकृतिमैत्री एवम् अनुशासित तुल्याइएन भने झन्–झन् आगामी दिनहरू संकटापन्न हुनेमा शङ्का छैन । आधुनिक, विकास र सभ्य हुने नाममा मानिस आफ्नो प्रकृतिको विरुद्धमा गइरहेको तर्फ उसले भेउ पाउनै सकिरहेको छैन । बढीभन्दा बढी अप्राकृतिकता, यन्त्रवत् जीवन, फास्टफुड, जङ्क फुड, प्रोसेस्ड खाद्यान्न, त्यसैगरी अनेक प्रकारका मासुजन्य खानाको लोभमा परेर आफ्नो स्वाभाविक प्रकृतिदेखि सैयौँ माइल टाढा पुगे जस्तो देखिँदैछ ।

विश्वमा देखिएका अनेकौँ प्रकारका महामारीदेखि लिएर विगत वर्षदेखि संसारलाई नै तोबा–तोबा पारेर आतङ्क फैलाउन अनेक रूप–रङ्गमा आफ्नो स्वरूप फेरिइरहने कोभिड–१९ लाई पनि यस सन्दर्भमा बिर्सन सकिन्न । त्यसैगरी विश्वमा बढ्दै गएको मोटोपन, क्यान्सर, हृदय रोग, फोक्सो रोग, किड्नी समस्या आदि इत्यादि अनेक रोगहरूको चक्रलाई मिहीन ढङ्गले बुझ्न जीवन निर्वाहको धुनमा मानिस अप्राकृतिक बन्न पुगेर भएको त होइन भन्ने दिशातिर पनि ध्यान जानु आवश्यक भइसकेको तर्फ सम्बन्धित सबैको ध्यानाकृष्ट हुनु समयसान्दर्भिक हुनेछ ।

त्यसैले मलाई लाग्छ कि मानव मस्तिष्क पद्धतिगत रुपमा नचलेको र प्रकृतिको सही सदुपयोग नभएको कारणले मानव मष्तिस्कले पाएको चरम उपलब्धिबाट पनि हालको महामारी लगायतका समस्याको समाधन तत्काल हुन नसकेको हो । मानव विज्ञानले प्रकृतिबाट अझ धेरै सिक्न बाँकी छ । त्यसैले त हाम्रा अग्रज ऋषिमुनीहरुले मानव र प्रकृतिबीच पवित्र र अर्थपूर्ण सम्बन्ध छ भनेका छन् । अब पनि हामीले हाम्रो गाउँ–ठाउँमा वातावरणको सदुपयोग र संरक्षण नगर्ने हो भने आउने पिँढीले धिकार्ने छन् र हाम्रा सन्तती पनि प्राकृतिक विपत्तिको चपेटा पर्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here