उपन्यास ‘राजनीतिक उगाल’

0
551

नेपाली साहित्य भण्डारमा एक अर्को गहन कृति थपिएको छ । त्यो कृति हो अग्रज पत्रकार तथा लेखक ‘नकुल काजी’को सिर्जना (उपन्यास) ‘राजनीतिक उगाल’ ।

माया पिरतीका कथाले भरिएका कृतिलाई नै प्रायशः उपन्यास भनिएको पाइन्छ । अन्य पक्ष या राजनीतिक विषय समेटिएका उपन्यास पनि पाइन्छन् । त्यस्तै राजनीतिक विषय समेटिएको एक उपन्यास हो ‘राजनीतिक उगाल’ तर यो उपन्यास निकै भिन्न र मौलिक छ । हाँस्यव्यङ्ग्य शैलीमा लेखिएको यो उपन्यासमा, क्यारेमबोर्डको कुनामा पर्ने गोटी छिर्ने पकेट जस्तै नेपालको सुदूर पूर्वी–दक्षिण भेगमा पर्ने झापाको पनि कुनामा पर्ने भद्रपुर क्षेत्रको एमाले सत्ताकालको रोचक राजनीतिक परिवेश छ ।

कृति समीक्षा

कोरोना कालमा देशभरि निषेधाज्ञा लागेकाले उपन्यासकार स्वयम् पनि घरमै बस्न बाध्य हुनु परेका बेला लेखिएकाले उपन्यासले सोही समयको राजनीतिक विषय र स्थानीयता समेटेको बुझिन्छ । उपन्यासमा एक पात्र ‘हरिराम बाजे’ र अर्का ‘पाँडे’ नामका ‘म’ पात्र छन् । यिनै दुई पात्रबीचको सम्वादले उपन्यास भरिएको छ । उपन्यासमा विचार, मन्थन्, चिन्तन पनि छन् र यीनै कुरा उपन्यासको सन्देश रहेको पाइन्छ ।

उगालको अर्थ ः नेपाली बृहत् शब्दकोश (नेपाल राजकीय प्रज्ञा पतिष्ठान २०५५) अनुसार, ‘तामा, पित्तल आदि धातुका भाँडामा अमिलो वस्तु पर्दा देखिने विकृति, उग्लेर हरियो पदार्थ, तमतमाउँदो स्वाद, मात, पात्तिएको स्थिति, अमिल्दो मिश्रण, विकार ।’ लेखिएको छ । प्रस्तुत उपन्यास यिनै अर्थमा लेखिएका छन् ।

यस उपन्यासको गाम्भिर्यता या विशेषता बुझ्न विद्वान ‘राजबाबु शंकर’को विचार मनन गरौं, ‘आधा शताब्दी अघिदेखि अविश्रान्त अक्षरहरुको खेती गरिरहनुभएका आदरणीय नकुल काजीका हालसम्म फसलका रुपमा दुई दर्जन पुस्तककार कृतिका भकारी छन् । झापाली पत्रकारिताका त उहाँ मानक नै हुनुहुन्छ । देशव्यापी नै ‘नकुल काजी’ भन्ने नामको प्रतिच्छायाँ ‘पत्रकार’ हो । अर्थात्, उहाँ पूर्वाञ्चल भेगकै पत्रकारिताका एक अग्लो विम्ब हो । हाल झापाली पत्रकारितामा पहिलो पुस्ताका अग्रज साधक पनि उहाँ नै मात्र रहनुभएको छ । यस कृतिमा मूलतः ‘हरिराम बाजे’ र सहायक पात्रहरुका माध्यमबाट हाम्रो देश नेपाल, हामी नेपाली, राजनीतिक परिवर्तनहरु, तत्तत् समयावधीका अनेकन घटनावली, राजनीति गर्नेहरुको निरन्तर बौलट्टीपन र त्यसबाट निसृत दुर्विपाक, जनसाधारण तहमा लगातार बढ्दो दुःस्सह सन्तापबारे निरुपण गर्दै व्यङ्ग्य घुएँत्रोले निशाना साँधिएको छ ।’

यस राजनीतिक उगाल कृतिबारे कृतिकार स्वयम्को भनाई, ‘हाम्रो जस्तो पछौटे र विश्व सन्दर्भमा एकदमै निरीह रही केन्द्रीकृत शासनमा अभ्यस्त मानस संस्कार बोकेको देशबासी बहुल देशको यो वर्तमानमा राज्यसत्ताका दज्र्यानी अधिकार र शक्तिवालाहरुका प्रभावबाट मुक्त चेतना अवचेतना सायद सम्भाव्य छैन । यही भावभूमिमाथि शासकीयवृत्तका महानुभावहरुको औसत चलखेल एवम् प्रभावग्राही जनताका अनुभूति समेतको सहवासबाट यो किताबमा एकल अधिनायक बनेको पात्र हरिराम बाजे जन्मेको हो । अर्थात् यस किताबको स्पन्दन बन्न गएको त्यो हरिराम बाजे त्यसैकारण कुनै मूर्त मान्छे नभएर शासकीय समाजवृत्तका मनुष्यहरुको औसत प्रवञ्चक प्रवृत्तिको माटोलाई अनुभवसिद्ध पानीको दाउनसँग मुछेर निर्मित अमूर्त प्रतिक मात्र हो । हरिराम बाजेमा सिंहदरवारदेखि दुर्गम जिल्ला र त्यसको पनि कुनै दुर्गम गाउँपालिका अन्तर्गत अभेग वार्ड क्षेत्रमा हुकुमी बनिरहेका प्रमुख पदाधिकारी मध्ये कसैको पनि अनुहारको प्रतिच्छवि देखिए यो किताबलाई ऊ धन्य भएको अनुभूत हुनेछ ।’

जो देशका दज्र्यानी हरिराम मार्का चोट्टा लबस्तराहरुको बकम्फुसे हुइँयाका विदलन सहन विवश छन् उनीहरुमा समर्पित यो कृतिको पहिलो भाग या खण्ड १ मा, एमाले पार्टी तथा नेता केपी शर्मा ओली पक्षका पात्र हरिराम बाजे आफ्नै मिजासमा प्रस्तुत भएका छन् । पाँडे नामका अर्का ‘म’ पात्रसँग हरिराम आफ्नै किसिमका शैलीमा आपूm निकै जान्ने पल्टेर गफ लडाउँदछन् । उनका गफका एक अंश यस्तो छ, ‘हन हामेरका अदच्छे केपी ओली मउसुपमा ग्यान्यान्रले खोजेको योग्गेता जति थ्यो, तेति मादौ नेपालमा थ्यो र ? कस्तो मुखाड हुलुक्क अमिलो पानी आउने कुरो बोल्छौ हओ तपइँ ? सुन्दै हड्खाइँ पर्ला जस्तो हत्तेरिका !’ यस्तै रोचक प्रसंग र ठेट संवादले भरिपूर्ण छ यो उपन्यास ।

भाग दुईमा हरिराम बाजे भन्छन्– ‘हामेरको एम्माले सर्खारी पाटी कम पाउरिलो छ के त । हरिओम् तत्सत् । मास ल्यानिन र शत्तिदात्री कोरियान अवतारी मुन माता हामेरको रच्छे गर । हामेरलाई समर्बिर्दि लेराइदेर हामेरलाई सुख्खी नेपाली बनाऊ । ओम नम सिभाए, ओम स्वाहा विरोदी जति स्वाहा ।’ यस्तो स्वादिलो र चोटिलो व्यङ्ग्यात्मक सम्वादको अर्थ पनि गहन छ । यहाँ कोरोनाको महामारीको अवस्थामा पनि देशको स्रोतसाधन सत्ताधारी र आफ्नै राजनीतिक पार्टी विशेषका लागि चरम दुरुपयोग गरिएका लगायतका प्रसंग पनि छन् ।

‘तपइँको दिमाखको किड्नी बिग्रो कि क्या हो ? पाँडेजी, तपइँ डोन माइन चइँ नगर कि अन्तखेरी एखेप दिमाखको एक्सराइ चइँ गराऊ हओ, मैले भन्या मान’ जस्ता गाउँघरको बोलिचालीका ठेट, झर्रा शब्द, वाक्य पढ्नुको मजा नै बेग्लै । त्यसमाथि यस उपन्यसमा नेपाली राजनीति, राजनीतिका चरित्र, प्रवृत्ति आदि जान्न पाउँदा अर्कै आनन्द आउँदछ ।
तीन ः यस भागमा, हरिराम बाजेलाई प्रहरीले नचिनेकामा र बाटबाटै बयान लिएकामा हरिरामको पारो तताइ छ ।

 

हरिराम बाजे आपूmलाई सत्ताधारी राजनीतिक पार्टीको असली कमरेड मात्र होइन सरकारकै ठूलै ओहदाको हुँ भन्ने ठान्दछन् । हरिराम बाजे प्रवृत्तिका मानिसहरु गाउँ–ठाउँ, शहर बजारमा हाँक लगाउँदै हप्काउँदै–दप्काउँदै, पार्टी, सरकार, कमिशन आदिका कुरा कुर्लिरहेका भेटिन्छन् र यस्ता घमण्डी, छुल्याहा र उपद्र्याहा कार्यकर्ताको बिगबिगी रहेको छ भन्ने सन्देश यस भागले दिन्छ । निकै चर्चा पाएको होली वाइन लगायतको प्रसंग आउँछन् यहाँ ।

 

चार ः यस भागमा झापा सदरमुकामस्थित गफाडी चोक भनेर चिनिने चोकमा, नेपालमा मध्यावधी चुनाव भएमा, कोरोनाका कारण जनता मत दिन मतदान केन्द्र नगए केही फरक नपर्ने किनकि एमाले पार्टीले मधेशी नेताहरु परिचालन गरेर इन्डियाबाट मान्छे ल्याएर मतदान गर्न नजाने मतदाताका नाममा भोट हलाएर चुनाव जित्ने, एक डेड सयमा भोट किन्ने जस्ता हरिराम बाजेका हाँक हुट्टी छन् ।

पा“च ः चुनावका लागि हरिराम बाजेले मेची पारी गलगलियातिरबाट भोटरको व्यवस्था गर्ने प्रसंग यस भागमा छ । ‘हामेरलाई काँका मान्छे, कस्ता मान्छे, कस्का छोरा, कस्का नाति, कुन थर गोत्रको इत्तेदिसित कौने मतलब छैन भन्र अग्गि नै भनेँ त । हामेरलाई भोटका दिन जुन जुन नाम थरका मान्छे भोटिङ बुतमा अप्सेन हुन्छन्, ती ती नाम थरको भर भोट दिने खेताला चाइया हो । भोटर लिस्टीमा बकाइदा नाम हुने मादौ नेपाल र उन्को राजनीतिक खलकका कतिपय भोटमा अप्सेन हुने सिउरली छ । तेस्तै अवस्ता छ पर्चन्न र पर्चन्नको राजनीतिक खलकको । तेस्तै अवस्ता छ उप्यान्र यादौ र बाउरामको राजनीतिक खलकको । तिन्का नामको भोट ज्यालादारी खेतालाबड हामेरलाई हलाउन हामेरलाई मान्छेको सोरुपको इण्डेन बेहारी भए नि हुन्छ ।’

छ ः यस भागमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्ने उद्देश्यले सर्वोच्च अदालतमा नेपाली कांगे्रसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गराइपाउन बिपक्षी र विरोधीहरुले मुद्दा हालेकामा हरिराम बाजे र उनीजस्ताको रुवाबासी चलेको प्रसंग छ ।

सात ः एउटा लोटा, थाल, कचौरा र झाम्राझुम्रीको पोको, भोको र ख्याउटे शरीर लिएर आएका बिहारीहरु कसरी सीमाक्षेत्रका नेपाली शहरमा नेपाली नागरिक भइ आज भुँडीवाल धनी साहुका साथै नेपालको राजनीतिमा स्थान बनाउन सक्ने भएका छन् ? भन्ने दृष्टान्त यस भागमा पढ्न पाइन्छ ।

आठ ः यस भागमा उल्लेख हरिराम बाजे एमाले पार्टीका अध्यक्ष तथा देशका प्रधानमन्त्री केपी शर्मा ओलीका असाध्यै नजिकका विश्वास पात्र र पूर्वी दक्षिण नेपालको सरकारी कमरेड र सबसे ठूलो पर्सनालिटी भएको स्वयम् हरिराम बाजेले दाबी गरेपनि उनका अन्धाधुन्ध बकम्फुसे गुड्डी हँकाइ सुन्नेहरुले एकैछिनपछिदेखि उनलाई भुस्याहा, गोबरगणेश फाँइफुट्टे रहेछ भन्छन् नै भन्छन् । तर, पात्र पाँडे त्यस्ता मित्रहरुका खोजमा छन्, ‘त्यस्ता मित्रहरु जो कुतर्क गर्दैनन्, अन्धाधुन्ध दम्भी र हावादारी गफ गरेर आत्मरतिद्वारा आत्मवन्चक हुँदैनन् र जो आपूmमा देश दुखेको अनुभुत गर्दछन् ।’ नभन्दै पाँडेका घरमा एमाले पार्टी संस्थापन पक्षका केही असल ठानिएका मित्रहरु आइपुग्दछन् र पार्टी र सरकारका कामबारे भलाकुसारी हुन्छन् । तर, ती असल मित्रहरुको विचार र कुराहरु पनि एमाले पार्टी, सरकार र केपी शर्मा ओलीलाई अनावश्यक राम्रो मान्ने हरिराम बाजे प्रवृत्तिकै पाइन्छन् ।

नौ ः यस भागमा, नेपाल भारतको सीमामा पचहत्तर ठाउँ सीमा मिचिएकोबारे पात्र पाँडेको प्रश्नमा हरिराम बाजेको उत्तरबाट थाह हुन्छ केपी ओलीका विश्वासिलो पात्रको स्तर । हरिराम बाजे भन्छन्– ‘ककस्को जग्गा मिचिएको छ उस्उस्ले धनीपुर्जाको फोटुकपी, नापी आपिसबड पर्मानित र सर्खारी छाप स्टाम लागेको सक्कल नस्का, नागृकताको फोटुकपी, नर्पालिका, गाम्पालिका काँ पर्छ तेस्का ओडा अदच्छेको सैछाप भको सिपारिस, माल्पोत र तिरो तिरेको चुक्ता पर्मान संकलन गरेर इँलिसमा निवेदन टाँस गरी न्यू डिल्ली ग’र दर्ता गरे भइहाल्छ त । यो जग्गा किचोलामा हामेरु सर्खारीले बिचउल्याको भूँइका खेल्न मिल्दैन, इण्डे सर्खार र जग्गाधनीका बीचाँ । तेसो गर्नु इन्टर्नेस्नील र अन्लीगल ठहर्छ ।’

दशदेखि एघार ः यी भागहरुमा गहन चिन्तन गरिएका छन् । देश, देशको राजनीति, राजनीतिज्ञहरुका गुण, स्थानीय राजनीतिक परिवेश र सुधार गर्नुपर्ने पाटाहरु आउँछन् ।

बाह्र ः यस अन्तिम भागमा, एमाले र केपी शर्मा ओलीको सत्ता ढलेर नेपाली कांग्रेसको सरकार बनेको प्रसंग छ । केपी ओलीको उखाने टुक्के, सनकी, दम्भ, घमण्डका कारण सत्ताच्ययूत हुनुपरेको निष्कर्ष छ यहाँ र हरिराम बाजे जस्ता कार्यकर्ता जता पोसाउँछ उतैका राजनीतिमा लाग्ने निधो छ ।

अझ राम्रो गरि उपन्यास बुझ्न उपन्यासको बाह्रौं भागको पहिलो अनुच्छेद पढौं– ‘स्थानीय समाजका सदस्यहरुमा विभिन्न किसिमका मान्छे हुन्छन् र ती मध्ये हरिराम बाजे चारित्रिक स्वभावका पनि सम्भवतः सबै स्थानीय समाजका निर्बुद्धि पोचा वर्गभित्र हुँदाहुन्, जो आपूmलाई सर्वज्ञ भनाउन जताततै तिखारिएर अग्रसर हुने गर्दछन् । समाजका शिष्ट शालीन सदस्यहरुले उनीहरुबाट धतङ्गिएर आपूmलाई पराजित मान्न बाध्य हुनपर्ने अक्करिलो अप्ठ्यारो पनि सहिरहनु परिरहेको पनि हुन सक्तछ । अतः हरिराम बाजेलाई त्यस चरित्रका व्यक्तिभन्दा बढ्ता त्यस्तो प्रवृत्तिका प्रतिक मान्न सजिलो हुन्छ, जसमा औसत मानवीयस्तर, लोकलाज, नैतिक चेतना, अरुले आपूmलाई के देखिरहेको छ भन्ने इत्यादिसँग सरोकार राख्नुपर्ने सभ्यताको नामोनिशान हुँदैन, तापनि जो राज्यशक्तिको झिल्को भएको आभास छर्दै हावा हाँकेर त्यही शक्तिविरुद्ध धावा बोलिरहेको चाहिँ स्वयम् पत्तो पाउँदैनन् ।’

लेखक र उपन्यासले प्रवाह गर्न खोजेका सन्देश उपन्यासको एघारौं भागमा लेखिएको अनुच्छेदले अझ प्रष्टसँग कहन्छ, ‘लामो बलिदानयुक्त संघर्षबाट प्रतिष्ठापित वर्तमान राष्ट्रिय राज्य व्यवस्थालाई राज्याधिकार र शक्ति दुरुपयोगबाट उत्सर्जित दम्भका जहरिला धारले चोटैचोट पारी अशक्त बनाउने अवाञ्छनीय खेल तमाशा मात्र यो वर्तमानका प्राथमिक उल्लेख्य दृश्य परिदृष्य बनेर धोकित नेपाली छातीहरुलाई झन्झन् अनुतप्त तुल्याउँदैछन् । त्यही संविधानप्रदत्त अधिकार र शक्ति प्रयोग गरी त्यसैको टाउको फोर्न उद्यत् हुनु पाशविक कृतघ्नता होइन र ? यस्ता मानवीय गुणच्यूतहरु समसामयिक इतिहासका श्रपित अध्यायमा दर्ज हुने रहरको उन्माद प्रदर्शन गर्दैछन् अहिले ।’

उपन्यासमा मुसीकी आमा र खैनीवाल बिहारी जस्ता चाखलाग्दा सहायक पात्रहरु पनि छन् । सीमा पारीबाट एकधरो लुगा र सिलबरे लोटा हल्लाउँदै आएकाहरु आज सीमा क्षेत्रका नेपाली शहरमा नेपाली नागरिकता किनेर महलवाला र ठूला व्यापारीमा दरिएर नेपाली राजनीतिमै दख्खल राख्नेसम्म भएका प्रसंग छन् । उपन्यासले मूलतः भद्रपुर वरिपरिको तत् समयको राजनीतिक चित्र उतारेको छ अनि यस उपन्यासको नामको एउटा शब्द उगाल छ । आम मानिसहरुले बुझेका उगालको अर्थ जस्तै नेपाली राजनीति र नेपाली राजनीतिज्ञहरुका गुण र नेपाल सरकारका काम त्यही उगाल जस्तै विकार र विकृति हुन् । हो पनि, जबकी विश्व कहाँ पुगिसक्यो ? अनि नेपालमा चाहिँ कहिलेसम्म उगालै मात्र निस्किरहने हो ? उपन्यासको मूल विशेषता, उद्देश्य र प्रश्न यही पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here