व्यवहार बदल्नु पर्छ

0
244

विश्व स्वास्थ्य संगठनले ओमिक्रोन भेरियन्ट दोस्रो लहरको डेल्टाभन्दा छ गुणा बढी संक्रामक रहेको जनाएको छ । त्यही तीब्रगतिमा विस्तार हुने भेरियन्ट अहिले नेपालमा पनि द्रूतगतिले फैलिरहेको छ । कतिपय स्वास्थ्यका विज्ञ तथा जानकारहरुले ओमिक्रोनले अघिल्लो भेरियन्टको तुलनामा फोक्सोमा असर कम हुने बताएका कारण पनि आम नेपालीमा हेलचेक्र्याइँ बढेकोले संक्रमण तीब्रगतिमा विस्तार भएको अनुमान गर्न सहज बनाएको छ । सामान्यतयाः हामीकहाँ कोरोना भाइरसको समूहको परीक्षण गर्ने प्रविधि र उपकरण कै अभाव छ, त्यसमाथि हाम्रो लापरवाही, असावधानी र हेलचेक्र्याइँ र गैरजिम्मेवार प्रवृत्तिले महामारीको भयावहता जटिल बन्दै गएको छ ।

यतिखेर परीक्षण गरिएकामा कोरोना पुष्टि हुने दर उच्च विन्दूमा पुग्न थालेको छ । प्रत्येक दिन बढेको संक्रमणले पनि हाम्रा स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप व्यवहार, भेटघाट, भीडभाड, विवाह, उत्सव, मेला र हाटबजार भर्ने प्रवृत्तिले महामारीको जोखिम नियन्त्रण हुने लक्षण देखिन्नँ । सरकारले पनि अघिल्लो भेरियन्टको समय जस्तै बन्दाबन्दी, कडाइ र खोप अभियानलाई तीब्र बनाउने प्रयास गरेको छैन । अहिले पनि आम मानिस तीन वर्षअघिको अवस्था जस्तै निर्वाध हिँडडुल गरिरहेका छन्, धार्मिक, सामाजिक तथा दैनिक व्यवहार गरिरहेका छन् । सम्भावित जोखिमप्रति थोरै पनि सचेतना भएको अनुभूति भइरहेको छैन ।

विपद् व्यवस्थापनका लागि गठित संघीय र जिल्लास्तरीय इकाइले बैठक र निर्णय त गरेको छ । तर, त्यसको प्रभावकारिता देख्न पाइएको छैन । सीमानाकामा आवागमन यथावत छ, परीक्षण दर बढाइएको छैन, औषधि, उपकरण, स्वास्थ्य सामग्री लगायतका भौतिक पूर्वाधार र उपायमा परिवर्तनको आभाष भएको छैन । उच्च जोखिम वर्गका लागि अतिरिक्त खोपको प्रबन्ध जिल्ला–जिल्लामा हुन सकेको छैन । सर्वाधिक भीडभाड हुने ठाउँहरुमा व्यापक भइरहेको संक्रमणका आधारमा झापा ‘रेडजोन’मा सूचीकृत भइसकेको छ । तर, अझै आम मानिसमा सचेतता देखिएको छैन । ‘न्याउरी मारी पछुतो’को अवस्था नआओस् सबै सचेत, सजग र सावधान रहौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here