महाशिवरात्रि पर्व

0
566

फागुन कृष्ण चतुर्दशी आराध्यदेव भोलेनाथ शिवशङ्करको सम्झना, आराधना गर्ने तिथि र पर्व हो । चन्द्रमासको १४औं दिन अर्थात् चन्द्रमा उदाउन थाल्नु पूर्वको रात नै शिवरात्री पर्वको रात हो । यस रात पृथ्वीका जीवहरुमा शक्ति अनि गुरुत्वकर्षणको असाधारण बहाव रहने गर्छ भनिएको छ । यो आध्यात्मिक शक्ति शरीरमा बहन दिन आज रातभर जाग्राम बसेरै शिवरात्रि मनाइने सांस्कृतिक प्रचलन वैज्ञानिक रुपबाट महत्वपूर्ण भएकोले महाशिवरात्रि व्रतपर्वको अध्यात्मिक र सास्ंकृतिक महत्व अतुलनीय रहेको मानिन्छ ।

बराहपुराणमा उल्लेख भए अनुसार पशुको अर्थ विद्या र पशुपति भन्नाले विद्याका पति हुने हुँदा विद्या आर्जनमा पशुपतिको आराधना, उपासनालाई महत्वपूर्ण मानिएको छ । शिवजीलाई मानिसहरु धेरै नामबाट पुकार्ने गर्छन्, जस्तैः शङ्कर, महेश, महादेव, रुद्र, पशुपति, कैलासपति, भोलानाथ, शिवशङ्कर । सम्पूर्ण जीवहरुलाई जोगाउनका लागि हलाहल विष पिउँदाको तापले चिसोको खोजीमा गोसाइँकुण्ड पुग्ने, पत्नी सतीदेवीको असामयिक निधनको वियोगमा आँशुका धारा बगाउँदै लामो समयसम्म रातदिन नभनी मृत शरीरलाई बोकेर ब्रम्हाण्ड यात्रा गर्ने, अनि त्यो पीडादायी यात्रामा सतीदेवीको शरीरका अङ्गहरु कुहिँदै विसर्जन हुँदै जाँदाका सबै पीडाहरु पनि व्यहोर्ने । यस्तो दुःखै–दुःखले भरिएको अनि सफा, कमलो र घमण्डरहितको मन र प्रभावशाली व्यक्तित्व सित्तिमित्ति जताततै पाइनु सरल होला र ? तर, संयोग हो, जहाँ–जहाँ अङ्गहरु कुहिँदै विसर्जन हुँदै गए सबैमा शक्तिपीठको उत्पत्ति र स्थापना हुँदा मानव जातिका लागि, शक्ति प्राप्तिका लागि पूजा–आराधना गर्ने अवसर जुटेको मानिएको छ ।

पौराणिक ग्रन्थका अनुसार शिव परिवारको वासस्थान कैलास पर्वत हो । माता पार्वती भने मानवविरुद्धका गतिविधिमा संलग्न अपराधीहरुलाई नाश गर्दै, शान्त गराउँदै यताउता भ्रमण गरिरहने भएकीले उनको वासस्थानहरुलाई पनि शक्तिपीठका रुपमा लिइन्छ । जस्तैः ताप्लेजुङको पाथीभरा । शिव–पार्वती सनातनीहरुका संरक्षक मानिन्छन् र उनको सम्झनामा मनाइने पर्व शिवरात्रिलाई ‘महाशिवरात्री व्रत पर्व’ भनिन्छ ।

हिन्दू सस्ंकृतिमा उस्तै केही रात्रीकालीन पर्वहरु छन्– जसअनुसार शिवरात्री (शिव भगवानको उपासना गर्ने रात), मोहरात्रि (श्रीकृष्ण भगवान जन्म भएको रात), कालरात्रि (हिन्दूहरुको महानचाड बिजयादशमी अन्तर्गत महाअष्टमी र महानवमीबीचको रात) र सुखरात्रि (तिहारमा घर वरिपरि चारैतिर दियो बालेर उज्यालो पारेर मनाउने गरिएको) लक्ष्मीपूजाको रात ।

पूर्वका पशुपतिनाथको नामले चिनिएको झापाको अर्जुनधारा जलेश्वरधाममा महाशिवरात्रि व्रत पर्व धुमधामसँग मनाउने परम्परा छ । धार्मिक र सांस्कृतिक पर्वका रुपमा मनाइने ‘महाशिवरात्रि व्रत पर्व’ हिजोआज प्रायः सबै शिव मन्दिरहरुमा व्यवस्थित, सव्य र भव्य व्यवस्थापनसँग मनाउन थालिएको देखिन्छ । हिमवत्खण्ड नेपाल माहात्म्यमा महाशिवरात्रि पर्व मनाइने प्राचीनकालको मुख्य केन्द्र पनि काठमाडौं उपत्यका ‘पाशुपत्क्षेत्र’ भनी उल्लेख गरिएको पाइन्छ । यसै महत्वका कारण शिवरात्रि पर्वको उत्सवका उपलक्ष्यमा अनन्य श्रद्धा, आस्था र विश्वास बोकेर पशुपतिनाथको दर्शनलाई छिमेकी मुलुक भारतबाट आउने गरेका साधुसन्त र भक्तजनहरुको घुइँचो बिहानैदेखि पशुपति मन्दिरबाट रिङरोडसम्म लाइनमा बसेकाहरुबाट नै देख्न सकिन्छ ।

यसरी नै हरेक बर्ष नेपालमा सन् १९३५ बाट महाशिवरात्रि पर्वकै दिन सेना दिवस पनि मनाइने गरिएको छ । यसदिन दिउँसो टुँडिखेलमा राष्ट्रका महत्वपूर्ण व्यक्तित्वहरुको समुपस्थितिमा नेपाली सैनिकहरुद्वारा परेड लगायत तालिममा सिकेका बिषयहरु, आफ्ना कोर्षमा परेका बिषयहरु र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रदर्शन गरिने गरेकाले मानिसहरु कौतुहलपूर्ण रुपबाट जतिसुकै भीड भए पनि त्यो फलामे डण्डीकोबारमा अडिएर, चेपिएर, अप्ठ्यारो भए पनि उभिँदै, रमाउँदै एक टक लगाएर दर्शनार्थीहरु वरिपरि बाक्लै रुपमा उपस्थित भएर हेर्ने गर्दछन् ।

गुठी सस्ंथान लगायत रेडक्रस, परोपकार संघ र स्काउटहरुले आगन्तुक र दर्शनार्थीहरुका लागि खानपिन र बसोबासको प्रवन्ध, सेवा र आवश्यक व्यवस्था गरिरहेका देखिन्छन् । भक्तजनहरु बेलुकैदेखि धुनी जगाउँदै, अनेक किसिमले भजनकिर्तन गर्दै, रातभर जाग्रामको व्यवस्थापन गर्दै ‘पशुपतिनाथको जय’, ‘पशुपति महादेवको जय’ लगायतका नाराहरु गुञ्जयमान गराइरहेका देखिन्छन् । यसरी नै कास्मिरमा अमरनाथ, उत्तर प्रदेशमा केदारनाथमा पनि भव्यरुपमा मनाउने गरिन्छ । त्यसरी नै गोसाईं थान र मुक्तिनाथ समेत प्रसिद्ध छन् । सबैमा पशुपतिनाथ नै शिव आराधनाकालागि हिमालय क्षेत्रका प्रसिद्ध र प्रमुख धार्मिक स्थान मानिन्छन् ।

महाशिवरात्रि पर्व सन्दर्भसँग जोडिएको एक कथा पनि छ– जस अनुसार, कुनै समयमा एक जना ब्याधा शिकारको खोजीमा हिँड्दा–हिँड्दा घना जङ्गलभित्र पुगेछन् । रातपरुञ्जेलसम्म शिकार भेटाउन नसक्दा थकान र हैरानीले दिक्क हुँदै, त्यसै जङ्गलभित्र एउटा पोखरी नजिकै रहेको बेलको रुखमुनि बास बसेछन् । दिनभर असफलतामै बितेकोले दिक्दारी र पीडासँगै मनमा अनेक कुरा खेलाउँदै, बेलका पात टिप्दै फाल्न थालेछन् । फाल्दा–फाल्दा नजिकै रहेको शिवजीको मूर्तिमा बाक्लै गरी बेलपत्रले छोपिएछ । नदेखि र नजानी भए पनि ब्याधाबाट एउटा शुभ कार्य हुन गयो ।

यतिकैमा त्यहाँ एउटी मृगिणी पानी खान भनेर आइन् । मृगिणी देखेर ब्याधाले बल्ल शिकार फेला प¥यो भनी धनुषबाण ठिक पार्न थालेछन्, यता मृगिणीले हतार–हतार ब्याधासँग अनुरोध गर्दै भनी– ‘शिकारी दाइ कृपया मलाई अहिले नमार, किनभने घरमा दूध खुवाउनुपर्ने मेरा साना–साना नानीहरु छन् । उनीहरुलाई पहिले घर गएर मेरो दूध खुवाउँछु र फर्केर फेरि यही आउँछु, अनि जे गर्छाै गर !’ मृगिणीका यस्ता कुराले मन पग्लिएर ‘हुन्छ’ भनी धनुषवाण थन्क्याएर मृगिणीलाई जान दिई पर्खंदै बसे । ब्याधाका मनमा केही परिवर्तनहरु आए छन् । थाह नभएरै भए पनि शिवजीका प्रतिमामा बेलका पात अर्पण भएकाले उसको अन्तःकरणमा सत्वगुणको विकास भइसकेछ, केही समयपछि शर्त अनुसार मृगिणी उसकासामु बचन राख्न पुनः देखापरी । तर, उसले मृगिणीमा धनुषवाण चलाउने विचार तयार गर्न सकेन ।
आज यसरी के भएर मेरो मन बिथोलियो ! कसरी यस्तो अनौठो भयो ! भनेर ब्याधा विचार गर्न थालेछ, त्यतिकैमा ‘त्यो दिन फाल्गुण कृष्ण चतुर्दशी महाशिवरात्रिको दिन परेको र रातभरि चढाएको बेलपत्रको डंगुरमा शिवजीको मूर्ति देखिएपछि, यो सबै प्रभु भोलेनाथको कृपा र आशीर्वादका कारणले मेरा ज्ञानचक्षु खुलेका रहेछन् भन्ने थाह भएर प्रभु भोलेनाथको शरणमा परेको ब्याधालाई अन्त्यमा शिव दूतहरु आएर शिवलोक लगेको प्रसङ्ग आउँछ । यसरी ईश्वर भक्तिबाट नै सद्गत प्राप्त हुने रहेछ भन्ने ज्वलन्त उदाहरण बन्न पुगेको रात पनि हो यो ।

श्रीमद् स्कन्ध महापुराणको हिमवत्खण्डमा तीर्थमयी पावन भूमि नेपालमा, पशुपतिनाथको प्रभाव अतुलनीय र अवर्णनीय रहेको उल्लेख छ । संसारमा सबै कुरा शिवतत्वबाटै आउँछ र शिवतत्वमै मिल्छ, त्यसैले शिवतत्वलाई चिनौं र आत्मसात गरौं । धन, जन वा तन त्यागेर होइन अहंकार त्यागेर, सच्चा, सत्यको प्रिय र एकाग्रचित्त भएर । शिवशङ्कर भोले बाबालाई अत्यन्त मनपर्ने वस्तु गाँजा, भाङ, धतुरो लगायतका वस्तु हुन् भन्ने बहाना त्यागेर । सच्चा शिवभक्त बनेर, यो अनमोल जीवनलाई अशल मार्ग उन्मुख गराउँदै महाशिवरात्रि व्रत पर्वलाई नितान्त आफ्नै अनमोल जीवनको अभिन्न अङ्ग मानेर, आस्था र विश्वाससँग खुब खुशियाली पूर्वक, एकजुट भएर, मिलेर, रमाउँदै मनाऔं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here