सीमा स्तम्भः किन हराउँदैछ धमाधम ?

0
494

झापा।

पश्चिम वंगालसँग सीमा जोडिएको नेपालको पूर्वी सीमानामा गाडिएका सीमा स्तम्भ धमाधम हराइरहेका छन् ।

वर्षेनि विभिन्न वहानामा सीमा स्तम्भ हराउने गरेको र सम्वन्धित निकायले समयमा सीमा स्तम्भको खोजी नगर्दा मेचीनगरवासीलाई सीमा सर्ने चिन्ताले सँधै पिरोल्ने गरेको छ ।

इलामको रोङ गाउँपालिकाको दूधेचौरस्थित पाटापुरदेखि झापाको मेचीनगर नगरपालिकाको सीमाना भद्रपुर संगको ३२ दशमलव ५ किलोमिटर क्षेत्रभित्र सानाठूला गरी २ सय २१ वटा सीमा स्तम्भ कायम गरिएको छ । तर, ती सबै सीमा स्तम्भहरु जुन ठाउँमा गाडिएको हो अहिले त्यहाँ सीमा स्तम्भ नभएर नेपालतर्फको भू– भागमा सारिएको स्थानीयले बताउँदै आएका छन् । मुख्य, सहायक र साना गरी अहिले एक सय ४८ वटा सीमा स्तम्भ जीर्ण अवस्थामा भेटिए पनि बाँकी ७३ वटा सीमा स्तम्भहरु छैनन् ।

केही सीमा स्तम्भहरु मेची खोलाले बगाएको र पुरिएको अवस्थामा छन् । पुरिएका सीमा स्तम्भहरुको अहिले चिनोवानो छ्रैन । मेचीनगरसंग सीमा जोडिएको भारतको पश्चिमवंगालको दार्जिलिङ जिल्ला पर्छ । भारतले दुई देशबीचको सीमालाई व्यवस्थित गरे पनि नेपालको तर्फ भने सीमा स्तम्भ हराउने क्रम नरोकिएको स्थानीयहरु बताउँछन् ।

पूर्वी नेपालमा नेपाल–भारत सीमाना छट्याउन राखिएका सीमा स्तम्भहरुको बैज्ञानिक निरीक्षण तथा मर्मत सम्भार नहुँदा स्तम्भहरु हराउने गरेको आवाज उठिरहेको छ । सीमा स्तम्भ हराएकै कारण नेपाली भूमि वर्षेनि अतिक्रमणको जोखिममा पर्दै आएको छ । तर, नियमनकारी निकायले सीमाको सुरक्षा प्रभावकारी गर्न नसकेकै कारण सीमा स्तम्भ हराउने र नेपाली भूमि मिचिने गरेको हो ।

सोमबार मात्रै झापाको मेचीनगर नगरपालिकाले नगरभित्र भारतसँग सीमा जोडिएको क्षेत्रको स्थलगत अनुगमन र सीमा स्तम्भहरुको अवस्थाका बारेमा जानकारी लिएको छ । नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित जनप्रतिनिधि, सुरक्षाकर्मी र सञ्चारकर्मीको टोलीले मेचीनगरको भारतसँगको खुला सीमाना करिव ३२ दशमलव ५ किलोमिटर क्षेत्रफलको स्थलगत अवलोकन गरेको थियो ।

मेचीनगरको सीमा सुदूरपूर्वको पनि भारतीय नाकासँग सीमा जोडिएको मेचीनगर नगरपालिकाको सीमाको अवस्था कस्तो छ भन्ने जानकारी लिन र बुझ्न अनुगमन र अवलोकन गरिएको मेचीनगर नगरपालिकाका प्रमुख आचार्यले बताए । अनुगमन टोलीलाई सशस्त्र प्रहरी बल नेपाल, बीओपी तिरिङ सारुगौडा दूधेचौर पाटापुरले सीमा स्तम्भका विषयमा जानकारी गराएको थियो । त्यस्तै भारतीय सीमा सुरक्षा बल एसएसवी ८ नम्बर बटालियनका असई दिम्बू दासले सीमा स्तम्भका बारेमा जानकारी गराएका थिए ।

सीमा सुरक्षा बल बीओपी तिरिङका अनुसार मेचीनगर–१ अन्तर्गत आफ्नो क्षेत्रको साढे ६ किलोमिटर क्षेत्रफलमा नेपाल भारत छुट्याउने सबैखाले ३३ वटा स्तम्भहरु भएपनि ६ वटा बाहेक बाँकी स्तम्भहरु कुन अवस्थामा कहाँ छन्, अत्तोपत्तो नरहेको जनाएको छ ।

सीमा स्तम्भहरु र सीमाका विषयमा जानकारी लिन दुई देशबीचमा सुरक्षाकर्मीहरुले हरेक महिनाको १ र १५ तारिख अवलोकन गर्ने गरेका छन् । यो संगै आवश्यकता अनुसार नियमित पनि नेपाल तथा भारतीय सुरक्षाकर्मीले सीमाको अनुगमन गर्छन् । तर, नेपाली सुरक्षाकर्मी भने स्तम्भहरुका बारेमा बेखबर छ । ‘सीमामा दुई देशका सीमा सुरक्षाकर्मीको संयुक्त गस्ती समेत बेलाबेला हुन्छ’– एक जना प्रहरी अधिकृत भन्छन्– ‘कतिपय बेला क्षेत्र तोकेरसमेत गस्ती हुने गरेकोे छ । सीमा सुरक्षाका सन्दर्भमा काउण्टर पाट्र्समा छलफलसमेत हुने गरेको छ ।’

झापामा नेपाल भारतसीमा सुरक्षाका लागि सशस्त्र प्रहरी पोष्ट वीओपी १८ वटा रहेका छन् । ती डेढदेखि करीब १२ किलोमिटरको फरकमा स्थापना गरिएका छन् । उता भारतले भने सशस्त्र सीमा बल (एसएसबी)लाई करिब ५ किलोमिटरको फरकमा तैनाथ गरेको छ । भारततर्फ बाटो छ, तर नेपालतर्फ बाटो छैन । त्यसकारण भारतले नेपाल तर्फको सीमा नाकाबाट आफ्नो उपस्थिति बढाउँदै लगेको स्थानीयको भनाइ छ । भारतीय सीमा सुरक्षा बल (एसएबसी)को उपस्थिति भने बाक्लो रुपमा रहेको छ ।

प्रत्येक १÷२ किलोमिटरमा एसएसबीले गस्ती गरिरहेको देख्न सकिन्छ । नेपाली सुरक्षा उपस्थिति निक्कै कम छ । स्रोतसाधन र पर्याप्त जनशक्ति नभएका कारण नेपाली सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखाउन नसकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका सशस्त्र प्रहरी उपरीक्षक प्रदीपसिहं कार्कीको भनाइ छ ।

सीमावर्ती क्षेत्रका बासिन्दा नेपाली सुरक्षाकर्मीको अवस्था सीमामा पातलो रहने गरेको बताउँछन् । उनीहरु भन्छन्– ‘नेपाली सुरक्षाकर्मीको तुलनामा भारतीय सीमा सुरक्षा बलको गस्ती बढी रहेको देखिन्छ ।’
सीमाको निगरानीका लागि सशस्त्रको मात्रै सीमित जनशक्ति परिचालित छन् । भारततर्फ भने अर्धसैनिक बल, एसएसबीको दह्रो उपस्थिति रहने गरेको स्थानीयको भनाइ छ । सशस्त्र प्रहरीले सीमाको सुरक्षाको काम मात्र गर्ने भएकाले सीमा स्तम्भ मर्मत उसको कार्यक्षेत्रभित्र नपर्ने बताएको छ ।

‘सशस्त्र प्रहरीले सीमा स्तम्भ मर्मत गर्ने होइन, हाम्रो काम सीमा सुरक्षाको मात्रै हो’– एकजना प्रहरी अधिकारी भन्छन्– ‘सीमा सुरक्षा कै लागि पनि हामीसँग आवश्यकताभन्दा कम जनशक्ति छ ।’ अन्तरदेशीय सीमा अपराध, दशगजामा संयुक्त गस्ती, सूचना आदानप्रदानका एजेण्डामा बेला बेला बैठक पनि हुने गरेको छ ।

यसैगरी, प्रसादगौडाबाट माताचोकसम्म ६ किलोमिटरको दूरीका ३४ वटामध्ये २० वटा सीमा स्तम्भहरु हराएका छन् । १४ वटा पनि जीर्ण र मर्मत तथा सम्भारको प्रतीक्षामा छन् । वडा नम्बर–५ को माता चोकदेखि काली मन्दिरसम्मको डेढ किलो मिटर दूरीमा ११ वटा ८७÷७ देखि ८८÷१ सम्मका ११ वटा नेपाल भारत छुट्याउने सीमा स्तम्भहरु भए पनि ५ वटा गायब छन् । जस्का कारण बेलाबखत दुवै देशबीच सीमाकै कारण समस्या हुने गरेको छ । काली मन्दिरदेखि मेची पुलसम्म आइपुग्दा ६ वटा स्तम्भहरु गायब छन् । त्यहाँ कूल १२ वटा सीमा स्तम्भहरु हुनुपर्ने हो ।

नेपाल–भारत सीमा नाकामा रहेका सीमा स्तम्भहरु निरीक्षण गरेर फर्किए पछि अधिकांश स्तम्भहरु हराएको, धेरै जीर्ण अवस्थामा रहेको नगरप्रमुख आचार्यले प्रतिक्रिया दिए । धेरै सीमा स्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको उनको भनाइ छ । फेला नपरेका, पुनर्निर्माण, मर्मत गर्नुपर्ने काम सबै नेपाल भारत दुवै देशका अधिकारी संलग्न टोलीले गर्नुपर्ने उनको जोड छ ।

९० प्रतिशतभन्दा बढी भागमा भारतले पुरानो र नयाँ गरी सतप्रतिशत बाँध निर्माण गरिसकेको छ । भारतले नदी उकास क्षेत्रमा विभिन्न जातका विरुवा रोपिसकेको छ । जसका कारण नदीका धार नेपालतर्फ वहन थालेको नगरप्रमुख आचार्यले बताए ।

भारतीयको यही कारण हरेक वर्ष नेपाली भूभाग कटानको जोखिममा परेको, नेपाली किसान र नेपाली भूभागमा अत्यधिक रुपमा क्षति पुग्ने गरेको उनको भनाइ छ । नेपालतर्फको भूभाग र सीमा स्तम्भको संरक्षण गर्न नेपाल सरकारले आफ्नो क्षेत्रमा बाँध निर्माण गर्नुपर्ने उनको सुझाव छ ।

नगरपालिकाभित्र खुला सीमा भएका कारण धेरै नोक्सान व्यहोर्नु परेको छ । त्यसैकारण नगरपालिकाले सीमा स्तम्भहरु र सीमा क्षेत्रको स्थलगत अवलोकन र निरीक्षण गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीको भनाइ छ । यसले नेपाल तथा भारत दुबै देशमा समस्या निम्त्याउने हुदाँ दुवै देशका अधिकारीले संयुक्त निरीक्षण गरी हराएका सीमा स्तम्भहरुको खोजी तथा मर्मत अभावमा नष्ट हुदै गएका स्तम्भहरुको उचित मर्मत तथा सम्भार गर्नुपर्ने उनको भनाइ छ । समयमै नेपाल पक्षले यसको रेखदेख र स्याहार सम्भार नगरे भविष्यमा समस्या चुलिँदै जाने र स्तम्भहरु नै हराउन सक्ने अवस्था श्रृजना हुँदा नेपाली भूमि जोखिममा पर्ने भन्दै उनले चिन्ता समेत व्यक्त गरिन् ।

स्तम्भको पहिला र अहिलेको अवस्थामा धेरै फरक रहेको स्थानीय शान्तप्रसाद न्यौपानेको भनाइ छ । दुई देशको दशगजामा रहेका स्तम्भ व्यवहारिक हुनुपर्ने उनको भनाइ छ । स्तम्भ अव्यवहारिक भए दुबै देशलाई नोक्सान हुने बताउँदै न्यौपानेले स्तम्भ सही ठाउँमा नभए दुबै देशको भूमि अतिक्रमणको चपेटामा पर्नसक्ने बताए ।

सीमा स्तम्भबारे स्थानीय प्रशासन बेखवर हुनुु हुँदैन । दुई देशका सुरक्षा निकायसंग हुने बैठकमा नेपालले सीमा स्तम्भका बारेमा पटक–पटक कुरा उठाउनु पर्छ । हरेक बैठकमा प्रमुख एजेण्डाका रुपमा स्तम्भ र सीमा क्षेत्रमा हुने गतिविधिका बारेमा कुरा उठाउनुपर्छ । हराएकाको खोजतलास गर्ने, नक्सामा खोज्ने, नभेटिए नापी गरेर स्तम्भ गाडनेतर्फ ढिला गर्नुहँुदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here