सामाजिक सञ्जालको दुरुपयोग

0
1018

सामाजिक सञ्जालले सञ्चार जगतमा जति सहजता ल्याएको छ, त्योभन्दा बढी अपराधका घटना हुन थालेका छन् । परेवाको माध्यमबाट सूचना आदान–प्रदान गर्ने सञ्चार चिठीपत्र, टेलिफोन हुँदै इन्टरनेटको उपयोगमा पुग्दा सञ्चार क्षेत्र समृद्ध भएकै हो । तर, त्यही इन्टरनेटको माध्यमबाट सञ्चालन हुने फेसबुक, ट्वीटर, वाट्सअप, भाइवर, इमो, इन्स्टाग्राम, गुगल लगायत सञ्जालको बढ्दो प्रयोग दुरुपयोगमा बद्लिँदा मृत्युसम्मका घटना हुन थालेका छन् । यस्ता सञ्जालहरु उपयोग गर्ने नेपाली समाज विज्ञानको यो उपलब्धीसँग पूर्णतः परिचित छैन । प्रत्येक वस्तुको राम्रो–नराम्रो दुबै पाटो हुन्छ र त्यसको प्रयोग सकारात्मक नै हुनुपर्छ । सञ्जालका कारण मानिसको जीवन सहज भएको छ, समयको बचत पनि भएको छ, हैरानी पनि कम भएको छ । तर, यही सहजताले ठगी लगायतका अपराध त्यत्तिकै बढाएको छ ।

नाट्य सम्राट बालकृष्ण समले भनेका छन्– ‘ज्ञान मर्दछ हाँसेर, रोई विज्ञान मर्दछ ।’ यही भनाइ प्रमाणित भएको छ हाम्रो जीवनमा अहिले । विज्ञानको आविष्कारले मानिसको जीवन पद्धतिलाई सहज त बनायो तर नक्कली खाता खोलेर पैसा लुट्ने, मानमर्दन गर्ने र मानसिक यातना दिएर आत्महत्या गर्ने अवस्थासम्म पु¥याउने यस्तो अपराधलाई नियन्त्रण गर्न नसक्दा विज्ञानले रुनु परेको छ । नेपालले सञ्चार क्षेत्रमा फड्को मारेको छ । आज बाँचेको पुस्ताले कल्पना नै नगरेको सञ्चार सुविधा र सेवा उपभोग गरिरहेको छ । यही पुस्ताले सञ्जाल ह्याक गरेर पैसाको बार्गेनिङ गर्ने, गोप्य सूचना लिएर दुःख दिने, चिठ्ठा प¥यो भनेर ठगी गर्ने जस्ता अपराध सामान्य जस्तै भोग्न थालेका छन् ।

जनताको जीवन र सम्पत्तिको सुरक्षा गर्ने जिम्मा राज्यको हो । सरकार भनिने राज्यले त्यसका लागि प्रहरी बलको व्यवस्था गरेको छ । प्रहरी बलभित्र पनि इन्टरनेटजन्य अपराध नियन्त्रण गर्न साइवर अपराध ब्यूरो नामको बेग्लै इकाइ गठन गरिएको छ । विद्युतीय कारोबार ऐन अन्तर्गत कारवाहीको दायरामा ल्याइने यस्ता अपराधको अुसन्धान साइवर ब्यूरोले गर्दछ । ब्यूरोले जिल्ला–जिल्लामा संगठन विस्तार नगरेका कारण साइबर अपराधीहरु बढिरहेको हुनसक्ने बताइन्छ । त्यही अपराध बढ्दै जाँदा घरवारविहीन हुनेदेखि हत्या वा आत्महत्यासम्म हुन थालेको अवस्थाामा नेपाल प्रहरीले सचेतना कक्षा सञ्चालन गरी सुसूचित पनि गर्ने गरेको छ । तिनै सञ्जालमा भेटिने यस्ता हिंसा, अपराध र ठगीका सूचनाहरुले विज्ञानको दुर्बल पक्ष देखाइरहेको छ । त्यसैले यसबाट बच्न प्रयोगकर्ताले सजगता र सचेतना अपनाउनु नै अपराधबाट जोगिने बलियो आधार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here