आयुर्वेदिक उपचारको आकर्षण

0
615

‘रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु’ बुद्धिमानी हो भन्ने गरिएको छ । यसो भन्नुको अर्थ स्वस्थ रहनका लागि हावा, पानी र खानामा विचार पु¥याउनु हो । रोग लाग्ने प्रमुख तीन कारणहरुतर्फ होशियारी रह्यो भने धेरै अवस्थामा रोगबाट बच्न सकिन्छ । तर, आज प्रविधि र खाद्यवस्तुमा आएको परिवर्तन सँगै खाने प्रवृत्तिमा पनि व्यापक परिवर्तन आएको छ । जसका कारण खाद्यवस्तुलाई सुरक्षित राख्न, स्वादिष्ट बनाउन र आधुनिक देखिने होडमा गुणस्तरहीन खाद्यवस्तुको प्रयोग अधिक हुन थालेको छ । सँगसँगै जनसंख्या वृद्धि र त्यसले गर्ने फोहर वस्तुको उत्सर्जन तथा हानीकारक वस्तुको परीक्षण, प्रयोग र प्रतिष्पर्धाले सम्पूर्ण वायुमण्डल मात्र होइन जल, जमिन समेत जीवका लागि अयोग्य हुन थालेको छ ।

आजको विश्वमा सम्भावित रोगको उपचारका लागि नयाँ–नयाँ प्रविधि, उपकरण र परीक्षण विधि व्यापक भइसकेको छ । उपचारका परम्परागत विधिहरु प्राकृतिक र आयुर्वेदिक पद्धतिप्रति जनविश्वास कम हुन थालेको छ । वैदिक परम्परामा निर्विकल्प रहेका यी पद्धतिहरु प्रकृति र प्राकृतिक वस्तुकै प्रयोगबाट गरिन्थ्यो । जडीबुटी, पानी, वाफ, माटो जस्ता वस्तुले शरीरमा हानी पनि नपु¥याउने भएकाले पूर्वी सभ्यतामा यसको महत्व पनि त्यत्तिकै थियो । तर, पछिल्लो समय तत्कालै परिणाम खोज्ने प्रवृत्तिले विकर्षण हुन थालेको आयुर्वेद उपचार तीन वर्षअघि शुरु भएको कोरोना भाइरसको महामारीका समय जीवन रक्षाको आधार बनियो । त्यसयता आममानिसमा सनातनी उपचार पद्धति आयुर्वेदतर्फको आकर्षण बढेको मात्र छैन प्रयोग पनि बढ्दै गएको छ ।

आयुर्वेद उपचारका लागि अहिले स्थानीय तहदेखि जिल्ला स्तरका उपचार केन्द्रहरु सञ्चालित छन् । त्यसमध्येको बाह्रदशी गाउँपालिकास्थित आयुर्वेद स्वास्थ्य शाखामा उपचार गर्न आउनेको संख्या उल्लेख्य हुन थालेको समाचारले सुखद् सन्देश प्रवाह गरेको छ । रोग प्रतिरोधी क्षमता बढाउनेदेखि असाध्य रोगको उपचारमा समेत प्रभावकारी मानिने यो पद्धतिलाई प्रविधिसँग समेत जोडेर विस्तार गर्न सकिए यसको महत्व अझै बढ्ने निश्चित छ । विरामीको चाप बढेसँगै बाह्रदशीस्थित आयुर्वेद शाखाले ओपीडी सेवा बाहेक पञ्चकर्म पद्धति अन्तर्गतको स्नेहन, स्वेदन, नाडी, कटीबस्ती, ग्रीवावस्ती, जानुवस्ती लगायतका सेवा प्रवाह गरिरहेको छ । हाम्रो अर्थतन्त्र, परम्परा र अवस्था अनुकूलको रोग निर्मूल गर्ने आयुर्वेदिक उपचार पद्धतिलाई सहज, सरल र पहुँचमा पु¥याउन सकिए आम मानिसले अझै बढी लाभ लिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here