कनकाईमा कांग्रेस–एमालेलाई शेरबहादुर र श्यामसुन्दरको धक्का कति ?

0
541

सुरेन्द्र भण्डारी,
बिर्तामोड ।

कनकाई नगरपालिकाको मेयरमा कसले बाजीमार्ला ? यो प्रश्न यति बेला टोल–टोलदेखि चिया पसलसम्म बहसको विषय बन्न थालेको छ ।

कनकाईमा मेयर पदको टिकट नपाएपछि कांग्रेस छोडेर स्वतन्त्र रुपमा उम्मेदवारी दिएका शेरबहादुर थापा र एमाले छोडेर राप्रपामा प्रवेश गरी सो पार्टीबाट मेयर पदका उम्मेदवार बनेका श्यामसुन्दर ओलीले कति मतदातालाई प्रभाव पार्लान् ? अर्थात् कति मत उनीहरुले प्राप्त गर्लान् भन्ने विभिन्न अनुमान भइरहेका छन् ।

कतिपयले शेरबहादुर र श्यामसुन्दरले प्राप्त गर्ने मतका आधारमा सत्तारुढ गठबठन्धन र एमालेका उम्मेदवारको हार–जितको आँकलन पनि गर्न थालेका छन् । यथार्थमा शेरबहादुर र श्यामसुन्दरले कांग्रेस–एमालेका उम्मेदवारका कतिको धक्का पु¥याउलान् ? भन्ने प्रश्न नै कनकाईमा केन्द्रविन्दु बनेको छ । त्यहाँ कूल मतदाता ३५ हजार चार सय ७१ छन् । जसमध्ये पुरुष मतदाताको संख्या १७ हजार तीन सय १७ र महिला मतदाताको संख्या १८ हजार एक सय ५४ छ ।

यो नगरपालिकामा स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन दलसहित पाँच वटा दलले प्रमुख पदको दाबी गर्दै उम्मेदवारी दिएका छन् भने दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमध्ये संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बसन्त लिम्बूले उम्मेदवारी फिर्ता लिँदै गठबन्धनलाई सघाएका छन् ।

गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाको उम्मेदवारी छ भने नेपाल कम्युनिष्ट पार्टी एमालेकातर्फबाट उम्मेदवारी रहेको छ । त्यस्तै विवेकशील साझा पार्टीबाट भीमप्रसाद अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामसुन्दर ओली र मौलिक जरोकिलो पार्टीका टंक उप्रेतीको उम्मेदवारी रहेको छ ।

प्रमुख पदमै दाबी गर्दै शेरबहादुर थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् भने देवीप्रसाद उप्रेतीले समेत प्रमुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्दा यो नगरमा कांग्रेस र एमालेको मुख्य प्रतिष्पर्धा देखिएको छ । गतनिर्वाचनमा नेकपा एमालेका तर्फबाट राजेन्द्रकुमार पोखरेलले आठ हजार चार सय १६ मत प्राप्त गर्दै नगर प्रमुखमा बिजयी भएका थिए भने नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले ६ हजार एक सय ९७ मत प्राप्त गरेका थिए । ०७४ मा भएको निर्वाचनमा यो नगरमा एमाले र कांग्रेसको मतान्तर दुई हजार दुई सय १९ देखिन्छ ।

यता माओवादी केन्द्रले भने छ सय ३६ मत मात्र प्राप्त गरेको थियो । यसपटकको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले संयुक्त उम्मेदवार उठाएका छन् । तर, नेकपा एमाले एक्लै चुनावी मैदानमा छ भने राप्रपा लगायतका अन्य दल समेत एक्लाएक्लै मैदानमा उत्रिएका छन् ।

कनकाई नगरपालिकामा नेकपा एमाले र कांग्रेसबीच तीब्र प्रतिष्पर्धा हुने देखिए पनि राप्रपा लगायतका अन्य दलले समेत यो नगरमा चुनौति दिइरहेका छन् । नेपाली कांग्रेसका क्रियाशील सदस्य यो नगरमा एक हजार सात सय १३ जना छन् भने नेकपा एमालेका एक हजार सात ४५ जना पार्टी पिएम छन् । नेपाली कांग्रेसको तुलनामा एमालेका क्रियाशील सदस्य ३२ जनाले बढी देखिन्छन् ।

नेपाली कांग्रेसका नेता शेरबहादुर थापा पार्टीप्रति असन्तुष्ट रहँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएसँगै कनकाईमा कांग्रेसको मत बाँडिने एकथरिले विश्लेषण गरेका छन् भने अर्काथरिले नेकपा एमालेमा मेयर पदका लागि थुप्रै आकांक्षी रहँदारहँदै पुनः राजेन्द्रकुमार पोखरेललाई टिकट दिनुले पनि पार्टीभित्र रुष्ट कार्यकर्ताले मत दिनेमा आशंका उब्जिएको बताउँदै आएका छन् ।

कनकाईका लागि पोखरेल, चिमरिया र थापाबीचमा नै मुख्य प्रतिष्पर्धा रहने आंकलन गरिएको छ । कांग्रेसमा देखिएको असन्तुष्ट र एमालेभित्र पनि देखिएको असन्तुष्टिका कारण कतै थापाले त प्रमुख पद जित्ने होइनन् भन्ने चर्चा समेत हुन थालेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ दल, प्रतिपक्षी दल र तिनका कार्यकर्ता तथा उम्मेदवार अहिले मतदाताको घर–घरमा मत माग्न व्यस्त देखिन्छन् । नेकपा एमालेले सबै वडाका टोल–टोल र घर–घरमा पुगेर मतदातासँग मत मागिसकेको छ भने नेपाली कांग्रेसका उम्मेदवारले समेत घरदैलो कार्यक्रमलाई तीव्र बनाउँदै मत माग्दै घर–घर पुगिरहेका छन् ।

नौ वटा वडा रहेको यो नगरमा प्रमुख दुई दलसहित अन्य दलका नेता तथा कार्यकर्ता र स्वतन्त्र उम्मेदवारले समेत घरदैलो अभियानलाई तीव्र बनाएका छन् । रोचक मोडमा पुगेको कनकाईको निर्वाचनले जिल्लाकै ध्यान खिचेको छ । सामाजिक व्यक्तित्वका रुपमा छवि बनाएका तीनै जनाले घरदैलोलाई तीव्र बनाएसँगै कसले कति मतदातालाई आफ्नो पक्षमा पार्लान् भन्ने आंकलन गर्न सक्ने अवस्था नरहेको बताइन्छ ।

नेकपा एमालेले आफ्नो जित सुनिश्चित रहेको बताउँदै आएको छ भने गठबन्धन दलका तर्फबाट आफूहरुले संयुक्त उम्मेदवार उठाएकाले कांग्रेसको जित सुनिश्चित भएको दाबी गरिएको छ । यता कांग्रेस परित्याग गर्दै स्वतन्त्र उम्मेदवारी दिएका शेरबहादुर थापाले पनि आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहेका छन् । नगरबासीको चाहना अनुरुप आफ्नो उम्मेदवारी रहेकाले आफ्नो जित निश्चित रहेको उनको तर्क छ ।

यता उपप्रमुख पदमा कनकाईमा सात जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी परेकामध्ये संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले उम्मेदवारी फिर्ता लिएको छ । मञ्चका तर्फबाट गीतामाया चेम्जोङले उम्मेदवारी फिर्ता लिँदै गठबन्धनलाई सघाएकी हुन् । गठबन्धन दलकातर्फबाट उममेयरमा आशा शर्मा शिवाकोटीको उम्मेदवारी रहेको छ भने नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट मञ्जु प्रसाईंको उम्मेदवारी छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले समेत यो नगरमा उपमेयरको दाबी गरेको छ । यहाँ अम्बिकादेवी महतले उपमेयरको दाबी गर्दै उम्मेदवारी दिएकी छन् । त्यस्तै विवेकशील साझा पार्टीका तर्फबाट अम्बिका चापागाँई, राप्रपाबाट सचित्रा खनाल, मौलिक जरोकिरोबाट शान्ता दाहाल र उन्नत लोकतन्त्र पार्टीबाट बिन्दिया बराइलीले उम्मेदवारी दिएका छन् ।

दोहोरिए पोखरेल र प्रसाईं

नेकपा एमालेले कनकाई नगरको प्रमुख र उपप्रमुख पदका लागि दोहोर्याएर टिकट दिएको छ । ०७४को निर्वाचनमा बिजयी बनेका नगर प्रमुख पोखरेल र उपप्रमुख मञ्जु प्रसाईंलाई पार्टीले पुनः टिकट दिएसँगै उनीहरु चुनावी मैदानमा उत्रिएका हुन् । अन्य पालिकामा नेकपा एमालेका तर्फबाट दुबै पदमा कुनै पनि उम्मेदवार दोहोरिएका छैनन् । अन्य पालिकामध्ये बुद्धशान्तिमा मिरा भुर्तेल उपाध्यक्षबाट अध्यक्षमा टिकट पाएर चुनावी मैदानमा छिन् भने हल्दिबारीका उपाध्यक्ष डम्बर गिरीले समेत अध्यक्षको लागि चुनावी मैदानमा छन् ।

दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले समेत प्रमुख पदका लागि टिकट पाइन् भने मेचीनगरमा मीना उप्रेतीले उपाध्यक्ष पदमा दोहोर्याएर टिकट पाएकी छिन् । बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंले प्रमुख पदमा उम्मेदवारी दिएकी छिन् ।

अर्जुनधारा नगरपालिकाका १० नं. वडाध्यक्ष बलदेव गोम्देनलाई प्रमुख पदका लागि एमालेले टिकट दिएको छ भने बिर्तामोड नगरपालिकामा २ नं. वडाध्यक्ष नगेन्द्रप्रसाद संग्रौलालाई उपप्रमुखको टिकट दिइएको छ ।

यस्ता छन् गठबन्धनका एजेन्डा

पूर्वाधार, सुशासन, शिक्षा तथा स्वास्थ्य, युवा तथा खेलकुद, पर्यटन, नगर तपाईंको साथी, बालबालिका, महिला तथा ज्येष्ठ नागरिक, वन तथा कृषि, बजार व्यवस्थापन, संघ–संस्था र विविध पक्षलाई समेटेर गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसले घोषणा पत्र सार्वजनिक गरेको छ ।

घोषणापत्रमा पूर्वाधार विकासमा नगरपालिकाभित्रका अव्यवस्थित मूल सडक, कृषि सडक, बजार क्षेत्रका सडक, ग्रामीण क्षेत्रका सडकहरुमा सौर्यबत्ती, आवश्यकता अनुसार पुल, कल्भर्ट ढलसहित निर्माण गरिने उल्लेख छ ।

सबै ग्राभेल सडकलाई पाँच वर्षभित्रमा कालोपत्रे बनाइ कनकाई नगरपालिकालाई धुलोमुक्त बनाइने घोषणा–पत्रमा उल्लेख छ । कनकाई नदी पूर्वी भाग र बिरीङ नदीको दुबै किनारमा पाँच वर्षभित्रमा तटबन्ध गरिने, चम्पापुर, घैलाडुब्बा जोड्ने बिरीङ खोलामा आधुनिक झोलुङे पुल निर्माण गरिने उल्लेख छ ।

कक्षा १२ सम्म सामुदायिक विद्यालयलाई पूर्णतः अंग्रेजी माध्यमको गुणस्तरमा निःशुल्क शिक्षा प्रदान गर्ने घोषणा–पत्र सार्वजनिक गरिएको छ । नगरभित्रका गुरुकूल र मदरसालाई आवश्यक संरक्षण र सहयोग प्रदान गर्ने घोषणा पत्रमा उल्लेख छ । युवा तथा खेलकुदतर्फ वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई श्रम र सिपको विकास गरी रोजगारी सृजना गर्ने, नगरभित्रका महिलाहरुलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने, मृत्यु भएका परिवारमा १० हजार रुपैयाँ नगदसहित समवेदना दिने जस्ता प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

अभिभावक तथा संरक्षकको अभावमा रहेका बालबालिकालाई निःशुल्क बालगृहको व्यवस्था गरी प्रत्येक वडामा बालबालिका तथा ज्येष्ठ नागरिकका लागि सुविधासम्पन्न इन्टरनेटसहितको पार्क निर्माण गरिने घोषणा पत्रमा उल्लेख छ । त्यस्तै कृषिलाई व्यवसायमुखी बनाउन आवश्यक पूर्वाधार निर्माण गरी किसानहरुले सञ्चालन गरेको सहकारीहरुको विकास गर्दै सहकारीमाफर्त नै कम्पोस्ट मल, उन्नत बीऊ, जैविक औषधि तथा कृषि औजारहरु अनुदान, कृषि बिमा तथा अन्य केही सामग्रीहरुमा सहुलियत ऋण उपलब्ध गराइ ५० प्रतिशत छुट दिने व्यवस्था मिलाइने उल्लेख छ ।

व्यावसायिक कृषकलाई तीन लाखसम्मको व्याज अनुदानमा ऋण उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख छ । घोषणापत्रमा जनताको करबाट उठेको राजश्वलाई भ्यू–टावर, स्वागतद्वार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोतसाधनको दोहन नगर्ने समेत प्रतिबद्धता जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here