भद्रपुर–८ मा अधिकृतदेखि प्रहरीसम्म महिला

0
433

झापा ।

जिल्लामा रहेको मतदान केन्द्रमध्ये भद्रपुर– ८मा रहेको रंगशाला मतदानस्थलमा दुई केन्द्र सबै महिला कर्मचारी राखेर निर्वाचनको तयारी गरिएको छ । जहाँ मतदान अधिकृतदेखि स्वयमसेवक समेत महिला नै रहेका छन् ।

रंगशालाको ‘क’ मतदान केन्द्रमा विनिता अर्याल मतदान अधिकृत रहेकी छिन् भने ‘ख’ मतदान केन्द्रमा लक्ष्मीदेवी न्यौपाने मतदान अधिकृत रहेकी छिन् । दुवै केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ५÷५ जना कर्मचारी रहेका छन् । मतदानस्थल सुरक्षार्थ ११ जना महिला प्रहरी खटिएका छन् भने २÷२ जना स्वयम्सेवक परिचालन गरिएको अर्यालले बताइन् ।

आफ्नो नेतृत्वमा सबै महिला कर्मचारी राखेर पहिलो निर्वाचन गराउन लागेको हुँदा निक्कै उत्साहित छु– अर्यालले भनिन्– मतदानका लागि सवै प्रक्रिया पूरा गरेका छौं, वुधवार परिचय–पत्र वितरणसँगै सर्वदलीय वैठक समेत राख्यौं । यहाँ खटिने सबै जना कर्मचारीहरु उत्साहित छन्, आफू समेत एकदमै उत्साहित भएर काम गरिरहेकी छु– अर्यालले भनिन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता रहेका छन् । उनीहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापाका २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र केन्द्रबाट आफूले चाहेका उम्मेदवारलाई मतदान गर्नेछन् ।

निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन मुख्य निर्वाचन कार्यालय झापाले विभिन्न विधि र प्रक्रिया अपनाउँदै अघि बढेको छ । निर्वाचनको अन्तिम तयारी पूरा गर्दै निर्वाचन कार्यालयले २८ र २९ गते मतदाता परिचय–पत्र वितरणको काम गरिरहेको र ३० गते हुने निर्वाचनलाई निष्पक्ष बनाउन लागीपरेको मुख्य निर्वाचन कार्यालय झापाका सहायक निर्वाचन अधिकृत गणेश पाण्डेले बताए ।

निर्वाचनका लागि झापामा ७ सय ५५ जना मतदान अधिकृत, ७ सय ५५ जना नै सहायक मतदान अधिकृत, १५ सय ६ जना सहायक कर्मचारी ७ सय ५६ जना कार्यालय सहयोगी र दुई हजार चार सय जना स्वयम्सेवक परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए ।

यता निर्वाचनको सुरक्षार्थ नेपाल प्रहरीका एक हजार ९ सय, सशस्त्र प्रहरीका ७ सय ५५, म्यादी प्रहरी दुई हजार ९ सय १६ र राष्ट्रसेवक कर्मचारी तीन हजार ८ सय खटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here