झापामा २१% सम्म मत बदर बदरमध्ये अधिकांश मत गठबन्धनको

0
346

झापा।

मतदाता शिक्षाको कमीका कारण स्थानीय निर्वाचनमा मत वदरको संख्या उच्च देखिएको छ । मेयरको तुलनामा उपमेयरको मत बदरको संख्या अधिक देखिएको हो । उदाहरणको रुपमा झापाको शिवसताक्षी नगरपालिकाको मतबदरको अवस्था हेर्न सकिन्छ । त्यहाँ नौ सय चार मत गन्दा मेयर पदका लागि खसेका मतमध्ये एक सय ३३ मत बदर भएका छन् ।

त्यस्तै उपमेयर पदका लागि खसेका मतमध्ये एक सय ८९ मत बदर भएको छ । मेयर पदका लागि नेकपा एमालेलाई तीन सय ७४, नेपाली कांग्रेसलाई दुई सय ८९, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ३८ र जसपालाई २० मत प्राप्त भएको छ भने बदर मत संख्या मात्रै एक सय ३३ छ । यो १५ दशमलव ५७ प्रतिशत वदर मत हो ।

यता उपमेयर पदका लागि कूल खसेको मत मध्ये २१ प्रतिशत मत बदर भएको छ । उपमेयर पदका लागि नेकपा एमालेलाई तीन सय ५०, माओवादी केन्द्रलाई दुई सय ८९, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ३८ र समाजवादीलाई ३० मत प्राप्त भएको छ भने उपमेयर पदका लागि खसेको मतमध्ये एक सय ८९ मत बदर भएको छ ।

वडाध्यक्ष पदका लागि खसेको मतमध्ये ९०४ मत गन्दा ७९ मत बदर छन् । महिला सदस्यका लागि एक सय, दलित महिला सदस्यका लागि एक सय २२, खुल्ला एक चिह्नका लागि दुई सय एक र खुल्ला दुई चिह्नका लागि एक सय ५६ मत बदर भएको छ ।

शिवसताक्षीको जस्तै अवस्था अन्य पालिकामा पनि छ । देशैभर बदर मतको संख्या उच्च हुने अनुमान गरिएको छ । बदर मत अधिकांशतः गठबन्धनतर्फको देखिएको छ । बदर मतको संख्या उच्च रहनुमा मतदाता शिक्षाको कमी भएको बताइएको छ । अझ गठबन्धनका कारण धेरै मत बदर भएको विश्लेषण हुन थालेको छ ।

मत बदरको हुनुको कारण गठबन्धनले गर्दा मेयरपदमा रुखमा पनि गोलाकारभित्रको हँसिया हथौडामा पनि स्वस्तिक छाप लगाउनु र उपमेयरमा गोलाकार भित्रको हँसियाहथौडा र उम्मेदवार नभएको रूखमा पनि छाप लगाउनुले धेरै मत बदर भएको पाइएको छ ।

मत गणनाको प्रारम्भिक नतिजा अनुसार २०७४ मा भएको निर्वाचनको तुलनामा यो वर्ष झापामा मत बदरको संख्या उच्च देखिएको हो ।

यता निर्वाचन पर्यवेक्षण गर्दै आएको आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)ले उम्मेदवार नै नरहेका निर्वाचन चिन्ह समेत समावेश भएको मतपत्र रहेकाले पहिलेभन्दा बदर मतपत्रको प्रतिशत यसपाली धेरै हुनसक्ने सम्भावना रहेको जनाएको छ ।

जसका कारण उक्त मतपत्रको औचित्य र वैधतामाथि प्रश्नसमेत उपस्थित रहेको पाइएको जियोकले उल्लेख गरेको छ । जियोकले एक विज्ञप्ति जारी गरी भनेको छ– ‘उम्मेदवारभन्दा मतपत्रमा चिह्न बढ्ता हुँदा मतपत्र अनावश्यक रूपमा ठूलो, भ्रामक र जटिल भएको, सबै उम्मेदवारहरुको सम्बन्धमा आधारभूत सूचनामा पहुँच पाउन सकिने अवस्था नभएको, उम्मेदवार, निज सम्बद्ध दल र मतपत्रमा तिनको चिह्नका बारेमा थाहा पाउन सक्ने अवस्थाको अभावले गर्दा मतदाताले सुसूचित र विवेकपूर्ण मत सङ्केत गर्न व्यवधान रहेको पाइयो ।’

उम्मेदवारहरु, ती सम्बद्ध दल र मतपत्रमा उनीहरुले पाएको चिह्नका बारेमा निश्चित ढङ्गले सूचना प्रसार गर्ने प्रक्रिया र संयन्त्रसहितको पहुँचयोग्य व्यवस्थाको अभाव रहेको पृष्ठभूमिमा मतदाता शिक्षा र सूचना सम्प्रेषण पद्धति व्यापक र प्रभावकारी हुनुपर्नेमा त्यसको अभाव अति नै खड्किएको जियोकको निष्कर्ष छ ।

स्थानीय तहको निर्वाचन छिट्पुट घटनाबाहेक आमरूपमा शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न भएको, मतदानमा अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धालगायत सबै वर्ग, समुदाय, लिङ्ग र अवस्थाका मतदाताको उत्साहवद्र्धक सहभागिता देखिएको र विगतको तुलनामा दल, उम्मेदवार र मतदाताको व्यवहार संयमित र शान्त भएको बिज्ञप्तिमा जनाइएको छ । जियोकले एकाध ठाउँमा बाहेक मतदान प्रक्रियालाई बिथोल्ने घटना नभएको जनाएको छ ।

‘मतदान केन्द्रमा दलहरुबीच विवाद पनि देखिएन । यसरी निर्वाचन व्यवस्थापन र मतदान प्रक्रियामा सुधार हुँदै जानु लोकतन्त्रका निम्ति शुभ सङ्केत भएको मान्न सकिन्छ’– जियोकको विज्ञप्तिमा उल्लेख छ । जियोकका अनुसार ३५ जिल्लाको २०० पालिकामा राष्ट्रियस्तरका ४०, जिल्लास्तरका ३० र स्थानीय तहका ३३० सहित पूर्व प्रधानन्यायाधीश, पूर्वप्रमुख निर्वाचन आयुक्त र पूर्वमुख्य सचिवहरुसहितको नौ विशेष पर्यवेक्षक गरी जम्मा ४०९ जनाको टोलीले दिएको प्रारम्भिक प्रतिवेदन अनुसार अधिकांश मतदान केन्द्रहरु बिहान ७ बजे नै सञ्चालनमा आएका थिए भने केहीमा ७ः१५ देखि ७ः४५ भित्र मतदान शुरु भएको थियो ।

कर्मचारी र राजनीतिक दलका प्रतिनिधिहरु तोकिएको समयमा नपुगेको केही स्थानमा सामान्य विवादसमेत भएको विज्ञप्तिमा जनाइएको छ । केही स्थानमा टाढाबाट आउनुपर्ने अवस्थाका मतदाता सवारी साधनको अनुपलब्धताले गर्दा मतदानबाट वञ्चित भएको, कतिपय मतदान केन्द्र आवतजावत गर्ने बाटो समेतका पूर्वाधार अभाव रहेको, केन्द्रसम्म मतदान गर्न आएकाहरु पनि विविध कारणले गर्दा (जस्तो परिचयपत्र वा अन्य परिचय खुल्ने कागजात नभएको, परिचयपत्र भएको तर अर्को मतदान केन्द्रमा नाम भएको हुँदा हिँडेरै जान सम्भव नभएको, मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा नाम नभएको) मतै नखसाली फर्कनु परेको अवस्था पाइएको बिज्ञप्तिमा उल्लेख छ ।

जियोकले परिचयपत्र सम्बन्धी व्यवस्थालाई व्यवस्थित, त्रुटीरहीत, विश्वसनीय र उपयोगी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ । निर्वाचन आचारसंहिताको पालना सन्तोषजनक देखिएको जियोकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here