‘नेपाललाई हिन्दू राष्ट्र बनाउन विश्वभरका ओमकार एक हुन्छन्’

0
302

बिर्तामोड।

भारतीय शिव सेनाका नेपाल व्यूरो प्रमुख राज ठाकुरले नेपाललाई हिन्दू राज्य बनाउन भारतीय शिव सेना एकमत रहेको बताएका छन् । नेपाललाई हिन्दू राज्य बनाउन शिव सेना मात्र नभई विश्वभरिका ओमकार परिवार एक रहेको उनको भनाइ छ ।

तीन दिने नेपाल भ्रमणमा आएका ठाकुरले चार जना मिलेर नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरेको आरोप लगाए । उनले चार जना मिलेर नेपाललाई हिन्दू निरपेक्ष राष्ट्र घोषणा गर्दैमा नेपाल धर्मनिरपेक्ष राष्ट्र नहुने बताएका छन् । हिन्दू राष्ट्र नेपाल विश्वभरिका नेपालीको आस्थाको धरोहर रहेकाले नेपाललाई हिन्दू राष्ट्र कायम गराउनुपर्ने ठाकुरको भनाइ छ ।

नेपालमा अहिले धर्म परिर्वतन ठूलो समस्या रहेको बताउँदै उनले भने– ‘गाउँ–गाउँ पुगेर सोझा नागरिकलाई गराइँदै आएको धर्म परिर्वतन रोकिनु पर्छ । यसले समाजलाई विखण्डित गराउँछ, नेपालमा भइरहेको धर्म परिर्वतन गराउनेलाई कारवाही गर्न जरुरी छ ।’

नेपाल कामगार सेना भारतका अध्यक्ष समेत रहेका ठाकुरले नेपालमा संवैधानिक राजसंस्था कायम रहनु पर्ने र हिन्दूराष्ट्र कायम गरिनुपर्ने धारणा राखेका हुन् । भारतको मुम्बईका स्थायी बासिन्दा ठाकुर मास्टर थापा नामले विश्वभर परिचित छन् ।

एक देश, एक राजा आफूहरुको अभियान रहेको र नेपालमा राजा अहिलेको अपरिहार्य आवश्यकता रहेको बताएका ठाकुरले राजा देशको संरक्षक हुने भएकाले नेपाललाई राजसंस्थासहितको हिन्दू राज्य कायम गरिनुपर्ने बताए । नेपालमा संघीयताको कुनै अर्थ नरहेको बताएका उनले संघीयता धान्ने खर्च कहाँबाट आउँछ भन्दै प्रतिप्रश्न गरे ।

पछिल्लो समय मुलुकमा वढेको राजनीतिक अस्थिरताले मुलुकको विकास नभएको बताउँदै उनले मुलुकको विकासका लागि स्थायी सरकार अपरिहार्य रहेको उल्लेख गरे । जसका लागि राजसंस्था अनिवार्य रहेको उनको भनाइ थियो ।
एक फरक प्रसंगमा नेपालको जलश्रोतलाई मात्रै सदुपयोग गर्न सकेको खण्डमा नेपाल समृद्ध हुने भन्दै ठाकुरले नेताले त्यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

तीन दिने धार्मिक भ्रमणका लागि नेपाल आएका उनलाई नेपाली कांग्रेसका १ नम्वर प्रदेश सभापति उद्धव थापा, सहमहामन्त्री खड्ग फागो, झापा सभापति देउकुमार थेवे, सचिव कृष्ण हुमागाँई लगायतले स्वागत गरेका थिए । उनले झापा आएसँगै पाउ पाथीभरा माताको दर्शन, कचनकवल–१स्थित सती श्राप मुक्ति धामको जमिन निरीक्षण, कोटीहोम लगायतका धार्मिक क्षेत्रको भ्रमण गरेका छन् ।

त्यस्तै उनले इलामका समेत केही धार्मिक मठ मन्दिरको अवलोकनसंगै दर्शन गरेको बताइएको छ । ठाकुरसंगै भारतीय उद्योगी पंकज ठाकरे समेत झापा आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here