झापा, दमक नगरपालिकाले नगर भित्र रहेका सरकारी कार्यालयका प्रमुखहरुसंग नगरबासीको काम सहज बनाउने बिषयमा छलफल गरेको छ ।
ईलाका प्रशासन कार्यालय, बिद्युत प्राधिकरण, सडक डिभिजन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुसंग ति कार्यालयहरुले प्रबाह गर्ने सेवालाई प्रभाबकारी बनाउने बिषयमा नगर प्रमुख र उप प्रमुखले छलफल गरेका हुन् ।
नगर प्रमुख राम थापाको अध्यक्षतामा भएको छलफलमा नगर उप प्रमुख रेगिना भट्टराईले नगरबासीका गुनासाहरु र कार्यालयहरुले सुधार गर्नु पर्ने कुराहरुका बारेमा चर्चा गरेकी थिइन् । छलफलमा नागरिकता, पासपोर्ट लिँदा हुने कानुनी प्रक्रियालाई अझ चुस्त बनाउनु पर्ने, बैदेसिक रोजगारीमा जानेहरुलाई सुरक्षित आप्रबासनका बारेमा सचेतना प्रदान गर्नु पर्ने, मालपोत र नापीमा हुने प्रक्रियालाई चुस्त बनाउनु पर्ने, बिद्युतका पोलहरु कतिपय ठाउँमा बाँस गाडेर समेत घर सम्म लैजानु पर्ने कुरालाई हटाउनु पर्ने, सडका खाल्डा खुल्डीहरु पुर्नु पर्ने जस्ता कुराहरुमा बिभागीय कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई जानकारी गराइएको थियो ।
छलफलमा सहभागी कार्यलय प्रमुखहरुले पहिलो पटक स्थानीय तह प्रमुख, उप प्रमुखसंग बसेर सेवा प्रबाहका बिषयमा छलफल भएको भन्दै आगामी दिनमा कार्यालयबाट हुने सेवालाई चुस्त र सहज बनाउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख उमेश पाण्डेले सुरक्षित आप्रबासनका लागि काम गर्ने र मतदाता नामावली सार्न चाहनेहरुका लागी पनि यहीँँ बाट सेवा दिनको लागी पहल गर्ने बताएका छन् ।
ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दीलिप गिरीले शान्ति सुरक्षालाई अझ प्रभाबकारी बनाउने बताएका छन् । त्यसैगरी सडक बिभागका प्रतिनिधिले सडकमा देखिएका खाल्डा खुल्डीलाई तत्काल मर्मत गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यस्तै बिद्युल प्राधिकरण दमक वितरण केन्द्रका प्रमुखले मेनलाईनबाट घर सम्म लैजान बाँसका पोल बनाएका ठाउँमा तत्कालै पोल उपलब्ध गराउने बताए ।
कार्यक्रममा सहभागीलाई धन्यबाद दिँदै नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष राम थापाले नागरिकलाई सेवा प्रबाहमा सबै जिम्मेवार भएर लाग्नु पर्ने बताएका थिए । त्यसैगरी नगरपालीकाका प्रमुख कार्यकारी अधिक्रित शशि राईले काम गर्ने क्रममा देखिएका समस्या समाधानका लागी समय समयमा यसै गरी सामुहिक छलफल गरी सहज बतावरण बनाउने भन्दै नगरबासीलाई सहज सेवा प्रबाह गर्नुनै आफुहरुको पहिलो दायित्व भएको बताएका थिए ।































