भारतकी नयाँ राष्ट्रपति द्रौपदी मुर्मूको जीवन र राजनीतिक सफलता

0
538

भारतको १५औं राष्ट्रपतिको रुपमा द्रौपदी मुर्मू बिजयी भएकी छन् । भारतको राष्ट्रपति पदमा निर्वाचित द्रौपदी मुर्मू भारतमा राष्ट्रपति हुने पहिलो आदिवासी र दोस्रो महिला हुन् । नयाँ राष्ट्रपति मुर्मूले जुलाई २५ मा राष्ट्रपति पद र गोपनियताको सपथ लिने छिन् ।

भारतमा १५औं राष्ट्रपति निर्वाचनका लागि, द्रौपदी मुर्मू भाजपा नेतृत्वको एनडीए र विपक्षी तर्फबाट यशवंत सिन्हा उम्मेदवार रहेका थिए । द्रौपदी मुर्मूलाई २७ भन्दा बढी दलको समर्थन रह्यो । यसमा एनडीए बाहेक धेरै विपक्षी दलहरू पनि संलग्न छन् । त्यहीँ विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई १४ दलको समर्थन रह्यो ।

भारतको राष्ट्रपति निर्वाचनमा विजयी भएकी मुर्मूलाई उनका प्रतिद्वन्द्वी यशवंत सिन्हाले बधाई दिएका छन् । ट्वीटरमा उनले लेखेका छन्– २०२२ को राष्ट्रपतीय निर्वाचनमा विजयी श्रीमती द्रौपदी मुर्मूलाई बधाई दिन्छु । उनले थप लेखेका छन्– भारतलाई आशा छ कि १५औँ राष्ट्रपतिको रूपमा उनले संविधानको संरक्षकको रूपमा भयरहीत रुपमा काम गर्ने छिन् ।

द्रौपदी मुर्मूको जिन्दगीको दुःखद् कथा :

समय बिहानको ७ बजेको थियो । ओडिशाको राजधानी भुवनेश्वरको पत्रपाडा क्षेत्रमा हलचल मच्चियो । त्यहाँ एक घरमा २५ वर्षीय युवक बेडमा बेहोस अवस्थामा फेला परे । परिवारका सदस्यले उनलाई अन्तिम आशाका साथ अस्पताल लगे तर चिकित्सकले उनलाई मृत घोषणा गरिदिए । यो शव लक्ष्मण मुर्मूको थियो । लक्ष्मण मुर्मू अरु कोही नभई त्यहाँको पूर्वमन्त्री द्रौपदी मुर्मूका छोरा थिए । उही द्रौपदी मुर्मू जो आज भारतको राष्ट्रपति हुन सफल भएकी छन् ।

छोराको रहस्यमय मृत्यु :

सन् २००९ मा लक्ष्मण मुर्मूको मृत्यु रहस्यमै रह्यो । लक्ष्मण काका र काकीसँग बस्थे । यो घटनाको समयमा द्रौपदी रैरङपुरमा थिइन् । लक्ष्मण आफ्ना साथीहरूसँग राति अबेर अटोमा घरबाट निस्किएका थिए । लक्ष्मण घर फर्केपछि काका–काकीको आदेशमा साथीहरूले लक्ष्मणलाई कोठामा राखे । किनकि त्यसबेला लक्ष्मणको स्वास्थ्य ठीक थिएन । परिवारका सदस्यले थकानका कारण यस्तो भएको महशुस गरे पनि बिहान लक्ष्मण ओछ्यानमा अचेत अवस्थामा फेला परेका थिए । परिवारले उनलाई डाक्टर कहाँ लगे, त्यतिञ्जेल उनको मृत्यु भइसकेको थियो । यो रहस्यमय मृत्युको रहस्य अहिलेसम्म पनि खुल्न सकेको छैन ।

चार वर्षपछि अर्को दुःखद् घटना :

छोराको मृत्युको शोकबाट द्रौपदी अझै बाहिर निस्किन सकेकी थिइनन् । तर, पनि उनलाई अर्को स्तब्ध पार्ने खबर आयो । यो घटना सन् २०१३ को हो । जब द्रौपदीको दोस्रो छोराको सडक दुर्घटनामा मृत्यु भयो । द्रौपदीका दुई साना छोराहरू चार वर्षको अन्तरालभित्रै मरे । उनी पुरै टुटेकी थिइन् । यसबाट बच्न उनले अध्यात्मको समेत सहारा लिइन् । द्रौपदी राजस्थानको माउन्ट आबुमा रहेको ब्रह्माकुमारी संस्थान जान थालेकी थिइन् । उनी धेरै दिन यहाँ तपस्या गर्थिन् । तनाव कम गर्न राजयोग सिकिन् । संस्थानका धेरै कार्यक्रममा सहभागी भइन् ।

अर्को वर्ष श्रीमानको पनि मृत्यु :

दुई छोराको मृत्युको पीडा अझै कम भएको थिएन कि २०१४ मा द्रौपदीका श्रीमान् श्यामाचरण मुर्मूको पनि मृत्यु भयो । श्यामाचरण मुर्मूलाई हृदयघात भएको बताइएको छ । परिवारका सदस्यले उनलाई अस्पताल पु¥याए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे । श्यामाचरण बैंकमा काम गर्थे । अहिले द्रौपदीको परिवारमा छोरी इतिश्री मुर्मू छिन् । इतिश्री बैंकमा काम गर्छिन् ।

द्रौपदी मुर्मू :

द्रौपदी मुर्मुको जन्म २० जुन १९५८ मा ओडिशाको मयुरगञ्ज जिल्लाको बैदपोसी गाउँमा भएको थियो । द्रौपदी सन्थाल आदिबासी जनजाति समूहकी हुन् । उनको बुबाको नाम बिरांची नारायण टुडू किसान थियो । द्रौपदीका दुई दाजुभाइ छन् । भगत टुडू र सरैनी टुडू । द्रौपदीको विवाह श्यामाचरण मुर्मूसँग भएको थियो । उनीहरुका दुई छोरा र एक छोरी जन्मिए । द्रौपदीको बाल्यकाल चरम अभाव र गरिबीमा बित्यो । तर, उनले आफ्नो परिश्रममा बाधा आउन दिइनन् । उनले भुवनेश्वरको रमादेवी महिला कलेजबाट स्नातक पूरा गरेकी हुन् । द्रौपदी मुर्मू छोरीलाई पढाउन शिक्षिका बनिन् ।

राजनीतिक यात्रा :

राजनीतिमा आउनुअघि द्रौपदी मुर्मूले शिक्षिकाको रुपमा आफ्नो करियर शुरु गरिन् । उनले सन् १९७९ देखि १९८३ सम्म सिँचाइ तथा विद्युत् विभागमा कनिष्ठ सहायकको रूपमा पनि काम गरिन् । त्यसपछि सन् १९९४ देखि १९९७ सम्म मानार्थ सहायक शिक्षकको रुपमा काम गरिन् । उनले पहिलो पटक सन् १९९७ मा चुनाव लडिन् । ओडिशाको रैरंगपुर जिल्लामा काउन्सिलर पदमा निर्वाचित भइन् । यसपछि उनी जिल्ला परिषद्को उपाध्यक्षमा पनि निर्वाचित भइन् । २००० सालमा विधानसभा चुनाव लडिन् । रायरंगपुर विधानसभाबाट विधायक निर्वाचित भएपछि, उनी बीजेडी र भाजपा गठबन्धन सरकारमा स्वतन्त्र प्रभारका साथ राज्यमन्त्री बनिन् ।

२००२ मा उनलाई ओडिशा सरकारमा मत्स्य पालन र पशुपालन विभागको राज्यमन्त्री बनाइएको थियो । २००६ मा उनी भाजपा अनुसूचित जनजाति मोर्चाको प्रदेश अध्यक्ष बनाइयो । २००९ मा उनले बीजेपीको टिकटमा दोस्रो पटक रायरंगपुर विधानसभाबाट चुनाव जितिन् । यसपछि उनले २००९ मा लोकसभा चुनाव पनि लडिन्, तर, जित्न भने सकिनन् । सन् २०१५ मा द्रौपदीलाई झारखण्डको गभर्नर बनाइयो । उनले २०२१ सम्म गभर्नरको रूपमा काम गरिन् ।

सर्वोत्कृष्ट विधायकको उपाधि :

द्रौपदी मुर्मूलाई पहिले पढाइ र त्यसपछि परिवारको दर्दनाक दुर्घटनाहरुले सताएको थियो । तर, उनले समाजको लागि सधैँ राम्रो काम गरिन् । मुर्मुलाई २००७ मा ओडिशा विधान सभाद्वारा वर्षको सर्वश्रेष्ठ विधायकको लागि नीलकण्ठ पुरस्कार प्रदान गरिएको थियो । उनीसँग ओडिशा सरकारमा यातायात, वाणिज्य, मत्स्य पालन र पशुपालन जस्ता मन्त्रालयहरू सम्हालेको अनुभव छ ।

द्रौपदी मुर्मूको जीतले भारतीय राष्ट्रपति पदको सम्बन्धमा पाँच रेकर्ड कायम भएको छ । भारतको पहिलो आदिबासी राष्ट्रपति, सबभन्दा कम उमेरकी राष्ट्रपति, स्वतन्त्र भारतमा जन्म भएकी राष्ट्रपति (यसअघिका सबै राष्ट्रपतिहरु भारत स्वतन्त्र हुनु अघि जन्मेका थिए), ओडिसाबाट पहिलो राष्ट्रपति र राष्ट्रपति बन्ने पहिलो पार्षद ।

भारतमा एउटा अत्यन्तै राम्र्रो चलन छ । त्यहाँको राष्ट्रपति पदमा सामाजिक जीवनका व्यक्तित्वदेखि अल्पसंख्य र पिछडिएका जातजातिबाट पनि सबै मिलेर चयन गर्ने गरिन्छ । नेपालले धेरै कुरा भारतको नक्कल गर्ने गर्दछ । भारतको राष्ट्रपतिको चुनावको अनुकरण गरे नेपालका अल्पसंख्यक तथा पछाडि पारिएका समुदायको लागि सम्मान हुने थियो । यस्तो शुभ घटना नेपालमा कहिले देख्न पाइएला ? अहम् प्रश्न यही छ । (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here