पूर्वाधार बिना विद्यालय स्थान्तरणले पठनपाठनमा समस्या

0
310

खोटाङ,

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित भण्डारीडाँडामा सञ्चालित जनता माध्यमिक विद्यालय ६२ वर्षपछि मुसुरीडाँडामा स्थान्तरण गरिएको छ । भण्डारीडाँडामा २०१७ सालमा बाल विकास केन्द्रका रूपमा स्थापना भएर अहिले कक्षा–१२ सम्म पढाइ हुँदै आएको उक्त विद्यालय गत वैशाख ४ गते मुसुरीडाँडामा स्थान्तरण गरिएको हो ।

भण्डारीडाँडामा निर्माण गरिएको भौतिक पूर्वाधार छाडेर बिना पूर्वाधार मुसुरीडाँडामा स्थान्तरण गरिएको उक्त विद्यालयमा अहिले बाँसको भाटाले बारिएको कक्षाकोठामा पठनपाठन सञ्चालन भइरहेको छ । जस्तापाताको छाना तथा बाँसको भाटाको बार भएको कक्षाकोठामा पाठनपाठन सञ्चालन गर्दा समस्या देखिएको छ ।

घाम लागेको समयमा गर्मी र पानी परेको समयमा जस्तापातामा बजारिएको पानीको आवाजले पठनपाठनमा समस्या हुने गरेको प्रधानाध्यापक पवन राईले बताउनुभयो । “जस्तापाताको छाना रहेको टहराभित्र बाँसको घाटाले बारेर कक्षाकोटा छुट्याइएको छ । एउटा कक्षामा पढाउँदा निस्किएको आवाजले अर्को कक्षामा वाधा पुग्छ”, उहाँले भन्नुभयो, “पूर्वाधार निर्माण नगरी विद्यालय सार्दा पठनपाठन समस्या भएको हो । पठनपाठनमा देखिएको समस्याप्रति सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”

भण्डारीडाँडास्थित एउटा गाउँको विद्यार्थीलाई मात्र पायक पर्ने ठाउँमा सञ्चालित विद्यालयलाई सबैको पायक पर्ने ठाउँमा स्थान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर राईले बताउनुभयो । “तत्कालका लागि गाउँपालिकाले उपलब्ध गराएको रु छ लाख बजेटबाट बाँसको टहरो निर्माण गरेर पठनपाठन सुरु गरिएको छ”, उहाँले भन्नुभयो, “विद्यालयका लागि १८ रोपनी जग्गा खरिद गरिएको छ । आगामी तीन वर्षभित्र विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गर्ने गरी योजनाबद्धरूपमा काम अगाडि बढाइएको छ ।”

शिशु (पूर्व प्राथमिक तह) देखि कक्षा १० सम्म बाँसको भाटाले बारिएको कक्षाकोठामा पठनपाठन सञ्चालन भइरहेको विद्यालयमा अहिले चार सय ८३ विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ भने तत्कालीन गाउँ विकास समिति (गाविस)को रु पाँच लाख लगानीमा ढुङ्गामाटोले बनेको पुरानो भवनमा सञ्चालनमा छ ।

मुसुरीडाँडामा विद्यालय स्थान्तरण गरेपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट आएको रु ७० लाख ४० हजार बजेटमा निर्माण गरिएको चारकोठे भवनमा प्रशासन तथा कम्प्युटर ल्याब सञ्चालन गरिएको छ । एउटा कोठामा कम्प्युटर ल्याबसहितको डिजिटल लाइब्रेरी, एउटामा विज्ञान प्रयोगशाला, एउटामा पुस्तकालय र एउटामा कार्यालय सञ्चालन गरिएको प्रअ राईले बताउनुभयो ।

विद्यालयका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त रु ३६ लाखले निर्माण सुरु गरिएको चारकोठे विद्यालय भवन निर्माणाधीन अवस्थामै रहेको र आवश्यक पूर्वाधार निर्माण गर्न सम्बन्धित निकायसमक्ष माग गरिएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर राईले जानकारी दिनुभयो । “गाउँपालिकाको सहयोगमा खेलमैदान निर्माण सम्पन्न गरिएको छ”, उहाँले भन्नुभयो, “विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग रहनेछ ।”

तत्कालीन विद्यालय व्यवस्थापन समितिले २०६६ माघ १० गते भण्डारीडाँडामा सञ्चालित विद्यालय मुसुरीडाँडामा सार्ने निर्णय गरेको थियो । समितको निर्णयलाई आधार मानेर वडाले सदर गर्दै सिफारिस गरेको आधारमा २०७८ माघ २६ गते गाउँपालिकाले उक्त विद्यालय स्थान्तरणका लागि अनुमति दिएको हो ।

तत्कालीन गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईको अध्यक्षतामा बसेको गाउँसभाले विद्यालय स्थान्तरण गर्ने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध सोही गाउँका एक समूहले जिल्ला अदालत र सर्वोच्च अदालतमा उजुरी दिएका थिए । गाउँपालिकाको निर्णयलाई जिल्ला र सर्वोच्च अदालतले सदर गरेपछि प्रहरीको रोहबरमा भण्डारीडाँडाबाट मुसरीडाँडामा विद्यालय स्थान्तरण गरिएको हो ।

गाउँपालिकाले पठाएको पत्र २०७८ चैत ४ गते विद्यालयमा प्राप्त भएपछि वैशाख २६ गतेदेखि पठनपाठन सञ्चालन गरिएको छ । छिमेकी वडाका विद्यार्थीका लागिसमेत पायक पर्ने ठाउँ मुसुरीडाँडामा विद्यालय स्थान्तरण भएपछि विद्यार्थीको सङ्ख्या वृद्धि हुँदै गएको प्रअ राईले जानकारी दिनुभयो ।

भण्डारीडाँडाबाट विद्यालय स्थान्तरण गरिएपछि मुसुरीडाँडामा रहेको पूर्वाधार प्रयोगविहीन छ । विद्यालयको नाममा रहेको सात रोपनी जग्गामा निर्माण गरिएका चार भवन प्रयोगमा नआउँदा जीर्ण बन्दै गएका स्थानीय बासिन्दाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here