राजु अधिकारी/मोरङ,
विश्वविद्यालयको शिक्षाले मूलतः विद्यार्थीलाई बोल्नसक्ने, लेख्न सक्ने र सोच्न सक्ने बनाउनुपर्छ भन्ने मान्यता राखिन्छ । यद्यपि पछिल्लो समय अब यतिले मात्रै नपुग्ने भयो भन्ने आवाज तीव्र छ । खासगरी प्रमाणपत्र पाउने तर जीवनयापनमा नजोडिने प्रमाणपत्र अर्थहीन बन्ने अवस्था सीपमुलक शिक्षा अभावको परिणाम हो ।
विज्ञहरुका अनुसार सीपयुक्त शिक्षा अर्थात् प्राविधिक शिक्षा जिविकोपार्जनसंग जोडिने शिक्षा हो ।सीपमुलक नभएकै कारण हाम्रो शिक्षा प्रणालीमाथि निरन्तर प्रश्न उठिरहेको छ । मुलुक संघीय अभ्यासमा प्रवेश गरिसकेपछि प्रदेश १ सरकारले प्राविधिक शिक्षालाई उच्च महत्व दिएर प्रदेशमा मुलुककै पहिलो प्राविधिक विश्वविद्यालय स्थापना गरेको छ । प्रदेश १ सरकारले स्थापना गरेको मनमोहन प्राविधिक विश्वविद्यालय (एमटियु) यतिबेला प्रदेशमा मात्रै नभई मुलुकमै प्राविधिक शिक्षाको बलियो जग बनाउँदैछ ।
प्रविधियुक्त उच्च शिक्षामा सबैको पहुँच निश्चित गर्ने मुख्य ध्येयसहित स्थापित यो विश्वविद्यालय निरन्तर विद्यार्थी आकर्षणको केन्द्र पनि बनिरहेको छ । मोरङको बुढीगंगा गाउँपालिका– ४ हातीमुढामा अवस्थित मनमोहन प्राविधिक विश्वविद्यालय विद्यार्थीलाई प्राविधिक शिक्षाको सैद्धान्तिक र व्यवहारिक ज्ञानले निखार्न लागिपरेको छ ।
कहलिएका र अनुभवी प्राध्यापकहरुको टिम, अत्याधुनिक सुविधासम्पन्न प्रयोगशाला अनि सिमित विद्यार्थी संख्यासहितको फराकिलो र हरियालीयुक्त विश्वविद्यालय परिसर । ‘हामी नमूना विश्वविद्यालय सञ्चालन गरिरहेका छौं’, विश्वविद्यालयका रजिष्ट्रार दिलनाथ फुयाँल भन्छन् ‘अहिले हामी प्रारम्भिक अवस्थामै छौं । यहीबेला पनि विद्यार्थी आकर्षण उच्च छ । अब विस्तारै विश्वविद्यालय मुलुकभरका विद्यार्थीको भरपर्दो गन्तव्य बन्दै गइरहेको छ ।’
देशकै पहिलो प्राविधिक विश्वविद्यालयको रुपमा स्थापना भएको मनमोहनले स्कुल अफ इन्जिनियरिङ अन्तरगत स्नातक तहको बीई इन सिभिल इन्जिनियरिङ र बीई इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्सको पठनपाठन अघि बढाएको छ । गतवर्षबाटै सुरु भएको दुवै विषयको अध्ययनमा न्यून शुल्क निर्धारण गरिएका कारण मनमोहन प्राविधिक विश्वविद्यालयमा विद्यार्थीहरुको आकर्षण बढेको छ । गएको. आर्थिक वर्ष विश्वविद्यालयले सिभिल र इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ तर्फ २४/२४ जना विद्यार्थी भर्ना गरेर उच्च शिक्षा अध्यापनलाई अगाडि बढाएको हो । विश्वविद्यालयले सुलभ दरमा गुणस्तरीय शिक्षा दिने नीतिमा जोड दिएको छ ।
विश्वविद्यालयका डीन प्रचण्डमान श्रेष्ठले भने ‘हामीले गुणस्तरीय शिक्षामा जोड दिएका छौं र न्यून शुल्कमा उच्च शिक्षा दिने गरी शैक्षिक योजना बनाएर विद्यार्थीहरु भर्ना लिएर पठनपाठन गरिरहेका छौं ।’ मनमोहन विश्वविद्यालयको मुख्य रणनीति नै सुलभ दरमा गुणस्तरीय शिक्षा प्रदान गर्नु भएको भन्दै डीन प्रचण्डमान श्रेष्ठले विश्वविद्यालय आफ्नो रणनीति सफल बनाउन अघि बढेको बताए । विद्यार्थीले एमटियूबाट चार वर्षे डिप्लोमा इन्जिनियरिङ कोर्ष ५ लाख ५० हजार रुपैयाँ खर्च गरेर पढ्न पाउने छन् ।
मनमोहन प्राविधिक विश्वविद्यालयले सैद्धान्तिकसँगै अभ्यासगत सिकाइमा विशेष जोड दिने नीति लिएको छ । ‘हामी अभ्यासमा बढी जोड दिन्छौं, सैधान्तिक सिकाइ ४० प्रतिशत र अभ्यासगत सिकाइ ६० प्रतिशत हुने गरी हामीले कोर्ष तयार गरेका छौं,’ डीन श्रेष्ठले भने । सैद्धान्तिक सिकाइमा निर्भर हुँदा कार्यस्थलमा असफल हुनुपर्ने समस्यालाई ध्यानमा राखेर विश्वविद्यालयले व्यवहारिक र अभ्यासमा आधारित सिकाइलाई जोड दिएको हो । अन्य विश्वविद्यालयहरुले सञ्चालन गरेको इन्जिनियरिङ कोर्षमा सैद्धान्तिक शिक्षा ६० प्रतिशत र व्यवहारिक सिकाइ ४० प्रतिशतभन्दा कम रहने गरेको उनले जानकारी दिए ।
सिकाइलाई प्रभावकारी बनाउन कक्षाकोठालाई आधुनिक तथा वातावरणमैत्री बनाउनुका साथै करोडौंको लगानीमा अत्याधुनिक ल्याब स्थापना गरेको छ । झण्डै १० करोडको लागतमा विश्वविद्यालयले इलेक्ट्रिकलतर्फ मेसिन ल्याब, बेसिक इलेक्ट्रिक ल्याब, कन्ट्रोल ल्याब र इलेक्ट्रोनिक्स ल्याब र सिभिलतर्फ पनि फ्रुट मेकानिक्स, हाइड्रोपावर, हाइवे, मेटेरियल, स्वायल, लगायत एक दर्जन बढी ल्याब स्थापना भैसकेको कार्यक्रम संयोजक इन्जिनियर नरेन्द्रकुमार डाँगीले जानकारी दिए । विश्वविद्यालयले कम्प्युटर ल्याब र विद्यार्थीहरुका लागि आधुनिक लाइब्रेरी पनि स्थापना गरिसकेको छ ।
‘दक्ष प्राध्यापक र नयाँ पाठयक्रम भएर मात्र सफल इन्जिनियर उत्पादन हुने होइन विद्यार्थीलाई अभ्यासबाटै दक्ष बनाउनु पर्छ,’ रजिष्ट्रार डा. फुयलले भने ‘एमटियुमा चार वर्ष पढेर उत्पादन भएका इन्जिनियरहरुले कार्यस्थलमा जाँदा फेरि तालिम लिन नपरोस् र तुरुन्तै रोजगार बन्न सकुन् भन्नेमा हामीले विशेष ध्यान दिएका छौं ।’
विश्वविद्यालयले विद्यार्थीहरुलाई यातायात तथा होस्टलको सुविधा दिएको छ । विश्वविद्यालयले कमाउँदै पढ्ने ‘अर्न टु लर्न’ कार्यक्रम पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ । नयाँ कार्यक्रमसँगै विद्यार्थीहरुले विश्वविद्यालयकै ल्याबमा काम गरेर कमाउन सक्ने छन् ।
विश्वविद्यालयले १० वर्षे रणनीति तर्जुमा गरेर स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाइड साइन्स एण्ड टेक्नोलोजी र स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको छ । तीन वटा स्कूल अन्तर्गत दश वर्षमा स्नातक, स्नातकोत्तर र विद्यावारिधी (पिएचडी) समेत गरी विभिन्न २८ वटा विषयहरु पढाउने लक्ष्य लिएको छ । त्यसबाट प्रत्येक वर्ष २८ सय ३१ जना विद्यार्थी लाभान्वित हुने विश्वविद्यालयले जनाएको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङ तर्फ दोस्रो ब्याचको भर्ना खोल्ने तयारी भइरहेको जनाएको छ । डिन प्रचण्डमान प्रधानकाअनुसार दोश्रो ब्याजमा ४८/४८ जना विद्यार्थी भर्ना गर्ने तयारी छ । पहिलो वर्ष विद्यार्थीहरुको बढी आकर्षण भएपनि २४ जनाभन्दा बढी भर्ना गर्न नसकेको भन्दै आवश्यक पूर्वाधार तयार गरेर विश्वविद्यालयले विद्यार्थी संख्या दोब्बर बनाउन लागेको हो ।
यो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु पनि यहाँको शैक्षिक अवस्थासँग सन्तुष्ट भेटिए । सिभिल इन्जिनियरिङ अध्ययन गर्दै आएका सुनसरीको दुहबीका अनिश कटुवाल मनमोहन विश्वविद्यालयमा सिकेको सैद्धान्तिक ज्ञान ल्याबमा आएर व्यवहारमा निर्धक्क उतार्न पाएको बताउँछन् । ‘किताबी ज्ञान त लिएका छौं । आफ्नो सिजनात्मक क्षमता विकास गर्न प्रयोगात्मक कक्षाको पनि उत्तिकै सहज उपलब्धता छ ,’ उने भने, ‘परियोजना तयार पार्न पनि सजिलो भएको छ । पढेको कुरा परियोजनामा उतार्दा प्राविधिक विषय गहन रुपमा बुझ्न सहज भएको छ ।’
यहाँका प्राध्यापकहरुका अनुसार हरेक कक्षा प्रयोगात्मक रुपमा बढी बित्ने गरेका छन् । ‘अन्य युनिभर्सिटीमा चाहिँ प्राक्टिकल थोरै हुन्छ र सैद्धान्तिक बढी हुन्छ । उनीहरुले ७५ प्रतिशत सैद्धान्तिक र २५ प्रतिशत प्राक्टिकल गराउँछन् । हाम्रोमा चाहिँ ५०÷५० प्रतिशत हुन्छ,’ डीन प्रधानले भने ।
इन्जिनियरिङ जस्तो विषय पास गरेर जाने बित्तिकै काम गर्न सक्नुपर्ने भएकोले सैद्धान्तिक र प्राक्टिल बराबरी हुने गरेको उनले बताए । ‘उद्योगीहरुले अन्य युनिभर्सिटीबाट पढाइ सकेर काममा गएपछि तपाईहरुको छात्र÷छात्रालाई फेरि ट्रेनिङ दिनुपर्ने रहेछ भन्ने खालको गुनासो गर्ने गरेका छन् । युनिभर्सिटीबाट पढेर गएपछि सबै जान्ने भन्ने त हुँदैन ।
तर, बेसिक कुरा जान्नुपर्ने हुन्छ,’ उनले भने, ‘टेक्निकल युनिभर्सिटीले फरक के गर्छ भने त्यो प्राक्टिकल गर्ने कुरामा जुनसुकै काम गरेर देखाउन सक्ने क्षमता विकास गरेको हुन्छ । हामीले त्यही गरेका छौं । त्यो गर्दा युनिभर्सिटीमा मसिनरिजहरु, ल्याबहरु स्ट्रोङ्ग चाहिन्छ ।’