अरुणोदयमा भवन उद्घाटन, शिक्षक विदाई, दाता सम्मान र सामूहिक दर वितरण

0
534

अर्जुनधारा ।

गत आर्थिक वर्ष ०७८/०७९को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत झापाको अर्जुनधारा–७ स्थित अरुणोदय आधारभूत विद्यालयमा नवनिर्मित दुई कोठे पक्की भवनको आइतबार एक कार्यक्रमकोबिच उद्घाटन गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार बराइलीको अध्यक्षतामा आयोजित भवन उद्घाटन, शिक्षक विदाई एवम् तीज पर्व कार्यक्रममा प्रमुख अतिथि नगर शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख तोयानाथ रेग्मीले उक्त नवनिर्मित भवनको उद्घाटन गरेका थिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १८ लाख रुपैयाँ र भवन निर्माण उपभोक्ता समितिको दुई लाख २० हजार एक सय २० रुपैयाँ ७४ पैसासहित जम्मा २० लाख २० हजार एक सय २० रुपैयाँ ७४ पैसाको लागतमा निर्माण सम्पन्न भएको भवन भूकम्प प्रतिरोधात्मक रहेको समितिका अध्यक्ष बराइलीले जानकारी दिए । गत जेठ ९ गते सम्झौता भई सुरु भएको भवन निर्माणको कार्य असार अन्तिम साता सम्पन्न भएको हो ।

त्यसैगरी सोही कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक श्यामकुमार थापा मगर, पूर्व शिक्षकद्वय सन्तनु ढकाल र भीमकला पौडेललाई सम्मान पत्र र मायाको चिनोसहित विदाई गरिएको थियो । त्यस्तै विद्यालयका पूर्वाधारलगायत अन्य विषयमा सहयोग गर्ने दातृ संस्था मारवाडी महिला मञ्च बिर्तामोड र पल्मोनरी हाइपरटेन्सन एसोसिएसन नेपाललाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।

मारवाडी महिला मञ्चको सम्मान पत्र मञ्चकी सचिव निर्मला अग्रवाल र पल्मोनरी हाइपरटेन्सन एसोसिएसन नेपालको सम्मान पत्र मञ्चकी अध्यक्ष एवम् एसोसिएसनकी उपाध्यक्ष नीलम अग्रवालले ग्रहण गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि रेग्मीसँगै अर्जुनधारा–७ वडा समितिका अध्यक्ष गोविन्द खतिवडा, पूर्व प्रधानाध्यापक मगर, सम्मानित व्यक्तित्व निर्मला अग्रवाललगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका सहभागीहरुलाई सामूहिक दर वितरण गरिएको थियो ।

समितिका अध्यक्ष बराइलीले कार्यक्रमको औचित्य, विद्यालयकी प्रधानाध्यापक उमादेवी खनालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक इन्दुश्री निरौलाले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here