निजी विद्यालयलाई राज्यले नहेरेको गुनासो

0
212

झापा ।

कोरोना संक्रमणका कारण लामो समय बिद्यालय बन्द रहँदा झापाका निजी विद्यालयहरुको आर्थिक पक्ष तहसनहस भएको प्याब्सन झापाले जनाएको छ ।

शिक्षा क्षेत्रमा १२ अर्ब ९६ करोडभन्दा बढी रुपैयाँ निजी विद्यालयले झापामा मात्रै लगानी गरेको प्याब्सन झापाको भनाइ छ । तर, राज्यकतर्फबाट यतिका रकम लगानी गर्दा पनि कुनै सहयोग नभएका कारण निजी विद्यालयहरुको आर्थिक पक्ष तहसनहस भएको र हालसम्म आर्थिक पक्ष सुध्रन नसकेको निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले जनाएको हो ।

बिर्तामोडस्थित संस्थाको कार्यालयमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले शिक्षाका नाममा विदेशिने ठूलो धनराशि स्वदेशमा नै रोक्ने प्रयास गरी शिक्षा सेवामार्फत राष्ट्रलाई योगदान पु¥याए तापनि निजी विद्यालय सञ्चालनका लागि राज्यको स्पष्ट नीति नहुँदा विद्यालय सञ्चालकहरु मारमा परेको बताए ।

सामुदायिक र संस्थागत बिद्यालयहरु एउटै ऐनबाट सञ्चालन हुनु, विद्यालयलाई कम्पनी भनेर राज्यबाट व्यवस्था हुनु, तर कम्पनी ऐन, श्रम ऐन, र शिक्षा ऐनको तेहोरो चपेटामा पर्नुले पनि निजी विद्यालयहरुको आर्थिक पक्ष कोभिड महामारीका कारण तहसनहस बनेको अध्यक्ष फागोको भनाइ छ ।

प्रचलित शिक्षा ऐन पटक–पटक संशोधन हुँदा समेत निजी विद्यालयका माग र समस्याहरूलाई पूर्ण रुपमा नसमेटिनु, कोभिड १९बाट प्रभावित अन्य क्षेत्रजस्तो निजी विद्यालयलाई राहत तथा व्याज सहुलियत आदि राज्यबाट प्राप्त हुने सेवासुविधा प्राप्त नहुनु, निजी विद्यालयमा अध्ययन गरे सर्टिफिकेट काम नलाग्ने वा छात्रवृत्ति नपाउने जस्ता अफवाह तथा भ्रम केही पक्षले फैलाउनु जस्ता व्यवहारहरूले निजी विद्यालय सञ्चालनमा थुप्रै चुनौति र समस्याहरू सिर्जना भएको उनको भनाइ छ । झापामा दुई सय दुई माध्यमिक र १ सय ४० आधारभूत तह गरीमा ३ सय ४२ निजी विद्यालय सञ्चालनमा रहेका छन् ।

झापाका निजी विद्यालयले आठ हजार पाँच सय शिक्षक तथा कर्मचारीलाई प्रत्यक्ष रोजगारी दिएको र कोभिडको समयमा सरकारी क्षेत्रबाट कुनै पनि राहत तथा सहयोगका कार्यक्रम निजी विद्यालयलाई प्राप्त नभएका कारण धेरै शिक्षक कर्मचारी बैकल्पिक रोजगारी खोज्न बाध्य हुनुपरेको उनको भनाइ छ । कोभिडका कारण लामो समय विद्यालय बन्द हुँदा झापाका निजी विद्यालयमा अध्ययनरत् एक लाख ४० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको र त्यसको असर अझै परिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा प्याब्सन झापाले विभिन्न समयमा गर्ने कार्यक्रमका लागि गठन गरेको समितिको नाम समेत सार्वजनिक गरिएको थियो । जसमा हरिकृष्ण पाठकको संयोजकत्वमा अतिरिक्त क्रियाकलाप उपसमिति र सञ्चार उपसमिति बनाइएको छ ।

त्यस्तै छत्रबहादुर कार्कीको संयोजकत्वमा सांस्कृतिक उपसमिति, टीआर गौतमको संयोजकत्वमा खेलकुद उपसमिति, लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा तालिम उपसमिति, हरिकृष्ण पाठकको संयोजकत्वमा सूचना तथा सञ्चार उपसमिति गठन भएको जानकारी दिइयो ।

प्याव्सन झापाका सचिव पाठकले सञ्चालन गरेको कार्यक्रममा सुमन शर्मा जमरकट्टेलले समेत प्याब्सन झापाले गर्दै आएका कार्यक्रमका विषयमा जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here