मेलमिलापको अभ्यास

0
219

दिउँसोको १ः०० बजेको हुँदो हो । मेचीनगर नगरपालिका वडा नं. ६ कार्यालयका तत्कालीन वडा सचिव इन्दिरा खरेलले मेरो मोबाइलमा फोन गर्नुभयो– ‘दाजु ! तपाईं यस ठाउँमा चिनिनुभएको, सबैले माने गुनेको र वडाले पत्याएको ज्येष्ठ नागरिक हुनुभएकोले वडा नं. ६ मा मेलमिलाप समिति गठन गर्नुपर्ने भयो । त्यो समितिको संयोजक तपाईं हुनुप¥यो । त्यही हाम्रो सल्लाह भयो ।’ मैले पनि व्यवहारबाट रिटायर्ड जीवनको सदुपयोग समाजसेवाका लागि गरौं भन्ने ठानेर हुन्छ भन्दिएँ । यो मिति २०७५ साल श्रावण २७ गतेको सम्बाद हो । त्यसपछि वडा नं. ६ मा मेरो संयोजकत्वमा सदस्यहरु हरिप्रसाद पौडेल, बिटु गुरुङ्ग रहेको मेलमिलाप समिति गठन भयो र त्यसैबेलादेखि वडामा मेलमिलापको कार्यमा निरन्तररुपमा सक्रिय भएर लागीरहेको छु ।

त्यसपछि कहिले काँकरभिट्टा खानेपानी संस्थाको सभाहलमा त कहिले महेन्द्रद्वार सहकारी संस्थाको सभाहलमा, कहिले मेचीनगर नगरपालिकाको कार्यालयको सभाहलमा अपूरा विभिन्न किसिमका मेलमिलापका तालिमहरु भने नलिएको होइन । यसबीचमा आइलागेका विभिन्न प्रकारका विवादहरु पुरानै तरिकाबाट समाधान गरिरहेको भएता पनि पूर्ण तालिमको अभावमा प्रक्रियागतरुपमा आधुनिक तरिकाबाट मेलमिलाप गराउने कार्य गर्न सकेका थिएनौं । आफ्नो हाम्रो क्षमता अनुसार परम्परागत तरिका, परम्परागत लिखतबाट ९५% विवादमा दुबै पक्षबीच सहमति गराइ खुशीसाथ मेलमिलाप गराएकै थियौं ।

मेलमिलाप समिति सदस्य हरिप्रसाद पौडेल र म नरेन्द्रप्रकाश सिटौला मेलमिलाप गराएका विवादहरु स्थायीरुपमा समाधान भए÷नभएका विषयमा छलफल गर्दै अब कसको विवाद पहिला हेर्ने भनेर वडा कार्यालय वडाध्यक्ष कै कोठामा रजिष्टर र खाता पल्टाएर हेरिरहेको अवस्थामा दुई जना अधवैंशे महिलाहरु प्रवेश गर्नुभयो र वडाध्यक्षलाई सोधखोज गर्नुभयो । हामीले ‘अध्यक्षज्यू खाना खान जानुभएको छ । हजुरहरुलाई त चिन्न सकिएन, हामीले सहयोग गर्नसक्ने काम भए भन्नुहोस्’ –भनेपछि उहाँले भन्नुभयो– ‘हामी वडाध्यक्षज्यूलाई भेट्न आएका हौं । मेरो नाम संगीता थापा हो । म प्राकृतिक श्रोत, द्वन्द्व रुपान्तरण केन्द्र नेपालमा काम गर्छु । हामी मेलमिलाप समितिलाई तालिम दिन्छौं ।’

मैले हाम्रो मेलमिलाप समिति वडा नं. ६ को फायल र रजिष्टर संगीता मेडमलाई देखाएँ र उहाँले हाम्रो फायल रजिष्टर र खातापाता हेरिसकेपछि गम्भीरताका भन्नुभयो– ‘तपाईंहरुले राम्रोसँग काम गर्नुभएको रहेछ । मेहनत गर्नुहुँदोरहेछ । तपाईंहरुले परम्परागत रुपमा कार्य गर्नुभएको रहेछ । म मेलमिलाप प्रक्रिया सहयोगी पुस्तक पठाउँछु । त्यस पुस्तकमा सबै कुराहरु उल्लेख भएको छ । त्यस अनुसार मेलमिलापको कार्य गर्दा राम्रो हुन्छ ।’ केही दिनपछि उहाँले हामीलाई पुस्तक उपलब्ध गराउनुभयो र मेलमिलापको लिखत नयाँ ढाँचाबाट गर्न थालियो । हाम्रो कामबाट उहाँ प्रभावित बन्नुभयो र मलाई कतै न कतै लगेर तालिममा सहभागी गराउने उहाँले बताउनुभयो ।

सोही उद्देश्य अनुसार मिति २०७९ साल भदौ ३ गतेबाट भदौ १० गतेसम्म ‘दीगो शान्तिका लागि उन्नत सम्बन्ध’ मेलमिलाप सम्बन्धी आठ दिवसीय आधारभूत तालिम झापाको बिर्तामोडमा ‘प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपाल’द्वारा सञ्चालन गरी म लगायत मेचीनगरबाट चार जना, कन्काई नगरपालिकाबाट ११ जना, अर्जुनधारा नगरपालिकाबाट ११ जना, कमल गाउँपालिकाबाट एक जना र गौरादह नगरपालिकाबाट एक जना सो तालिम कार्यक्रममा सहभागी भइयो । उद्घाटन समयमा नै झापाका मुख्य न्यायाधीश चन्द्रमणि ज्ञवालीसहित पाँचै जना न्यायाधीशहरुको उपस्थितिले हामीलाई रोचक, रमाइलो र कार्यक्रमप्रति आकर्षित बनायो । हामी सहभागीलाई नै प्रतिवेदन लेखन, मूल्याङ्कन, मनोरञ्जन व्यवस्थापक र सचेतकको जिम्मेवारी दिएर थप हौसला र प्रेरणा प्रदान गर्नुभयो ।

हाम्रो तालिमको सारा व्यवस्था गर्ने ‘प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र’ को झापा ग्रामीण श्रोतव्यक्ति संगीता थापा हुनुहुन्थ्यो र उहाँको हँसिलो मुहार, जतिसुकै तनाव भए पनि त्यसलाई सजिलै व्यवस्थापन गर्न सक्ने, सजिलै समाधान गर्ने, अन्त्यन्तै क्षमतावान् र कुशल नेतृ हुनुहन्छ । हामीले आफ्नो ठाउँमा, आफ्नो वडामा मेलमिलाप गराउँदा आफ्नै तरिका, पुरानै ढाँचामा गर्दै आएकोमा नेतृ संगीता थापा, सामुदायिक मेलमिलाप कार्यक्रमको संयोजक चेतराज बिष्ट, प्रशिक्षक रामकुमारी तामाङ्ग, सहजकर्ता नारायणकुमार पौडेलहरुले मिलमिलापकर्ताले समाजमा खेल्नुपर्ने भूमिका, गर्नुपर्ने काम–कर्तव्य, अधिकार सम्बन्धी तालिम प्रदान गर्नुभयो भने झापा जिल्ला न्यायाधीश डा.रमेश रिजालले अदालत सम्बन्धी प्रशिक्षण र अन्तरक्रियात्मक कार्यक्रम गर्नुभएको थियो ।

कार्यक्रमको अन्तिम दिनमा प्रमुख न्यायाधीश चन्द्रमणि ज्ञवालीले प्रशिक्षण तथा प्रश्नोत्तर कार्यक्रम रोचक ढंगबाट गर्नुभयो । हामी तालिमकर्ताहरुलाई एउटै जालोमा बाँधी सदैव एक–आपसमा सहकार्य गर्नुपर्ने, सहयोग आदान प्रदान गर्नुपर्ने र मित्रभाव बढाउँदै लैजानुपर्ने कुराहरु सिक्दासिक्दै आठ दिनको कार्यक्रम बितेको हामीलाई पत्तै भएन । मेलमिलाप सम्बन्धी यस्तो महत्वपूर्ण कार्यक्रममा हामीलाई सहभागी गराइ तालिम प्रदान गर्नुभएकोमा नेतृ संगीता थापा लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here