नेपालको वानस्पतिक सम्पदाको केन्द्र जलथल

0
443

नेपालको दक्षिण पूर्वी सिमावर्ती झापा जिल्लाको दक्षिणी भागमा लगभग ६१०० हेक्टर क्षेत्रफलमा फैलिएको वन कुनै बेला घना र अविछिन्न चारकोशे वनको बचेखुचेको एउटा खण्ड हो । अंग्रेजीमा रेम्नन्ट फरेष्ट भनिने मुख्य वन क्षेत्रबाट छुट्टिएको र वरिपरी बस्तीले घेरेको यस्तो आकारको वन नेपालको तराईमा दोस्रो कुनै छैन । कुनै बेलाको घना वनको फँडानी हुनबाट जोगिएको टुक्रा मात्रै यसको विशेषता होइन बरु यहाँको विद्यमान जैविक विविधता नै मुख्य विशेषता हो ।
हालै सम्पन्न अध्ययनको नतिजाले जलथलको वन वानस्पतिक सम्पदाको हिसावले धनी भएको प्रष्ट पार्छ । नेपालको कुनै एउटा निश्चित क्षेत्रभित्रको अध्ययनले जलथलको जति वनस्पतिको प्रजातीय विविधता अभिलेख गरेको छैन । मध्य र पश्चिम नेपालको तुलनामा जलथलको जैविक विविधता उच्च छ । जलथलमा मात्रै पाँच सय ३० प्रजातिका वनस्पतिहरु भेटिएका छन् । अध्ययन जारी रहेकोले यो संख्या केही बढ्न सक्छ ।

रुखहरुको राजधानी

जलथलले नेपालको वन क्षेत्रको जम्मा ०.१ प्रतिशत भू–भाग ओगटेको छ भने यहाँ नेपालमा पाइने ७०० रुखहरु मध्ये १५० प्रजाति पाइन्छन् जुन नेपालमा पाइने रुखहरुको २० प्रतिशतभन्दा बढी हुन आउँछ । तुलतात्मक अध्ययन गर्ने हो भने रुखहरुको प्रजातीय विविधताको दृष्टिकोणले जलथल नेपालकै सबैभन्दा धनी क्षेत्र हुन सक्छ । रुखहरुको प्रजाति संख्या मात्र होइन जलथलका कतिपय रुखहरु नेपाल कै लागि विल्कुलै नौला समेत छन् । जलथलमा भेटिएका नेपालका लागि नयाँ छ वटामध्ये दुईवटा (ड्राइपेटेसआसमिका, हार्पुलियाएर्वोरीया)हालै मात्र अभिलेखित भएका छन् । जलथल जंगलमा नयाँ–नयाँ रुखहरु अभिलेख हुनेक्रममा छन् यहाँको विस्तृत सर्वेक्षणसँगै । रुखहरुको प्रजातीय विविधता र विशिष्टताको कारणले जलथललाई नेपालको रुखहरुको राजधनीभन्दा अत्युक्ति नहोला ।

पृथकवन र प्रजाती समिश्रण

नेपालको पूर्वबाट पश्चिमतर्फ लाग्दा वर्षा र चिस्यान घट्दै जान्छ भने सुख्खापन बढी हँुदै जान्छ । यही कारणले पूर्वी भागको वनस्पतिको विविधता र समिश्रण पश्चिम र मध्य नेपालको भन्दा फरक पर्दछ । हामीले पहाडी भागमा अक्सर देखिने पात्ले कटुस, मुसुरे कटुस, चिलाउने, पाँचपाते जस्ता एक दर्जन प्रजातिहरु जलथलमा समेत पाइन्छन् भने नेपालको मध्य र पश्चिमी तराईमा यी प्रजातिहरु त्यति भेटिँदैनन् ।

जलथलमा लटहर भनिने कटहर जस्तै देखिने रुखको प्राकृतिक जंगल छ । यस्तो जंगल जलथल बाहेक अन्यत्र छैन । यद्यपि यसका रुखहरु कोशी नदीसम्म फाट्टफुट्ट भने भेटिन्छन् । त्यसैगरी स्थानीय भाषामा थाकल भनिने सदावहार र आकर्षक रुख साइकस पेक्टोनाटाले पनि जलथलको वनलाई नेपालको अन्यत्रको भन्दा फरक देखाउँछ ।

लटहर, थाकल, लाली, पाँचफल, हार्पुलिया आदि जस्ता दक्षिण पूर्वी एशियामा प्रचुर मात्रामा पाइने रुखका प्रजातिहरु जलथलबाट पश्चिमतर्फ लाग्दा घट्दै जान्छन् । दक्षिण पूर्वी एशियाका यस्ता प्रजातीको वासस्थान हुनाले जलथलको प्रजाति समिश्रण उच्च र नेपालको अन्य भागको भन्दा फरक छ ।

स्थानीय जीविकोपार्जनको स्रोत

जैविक विविधता महत्वपूर्ण खाद्य कन्दुमूल वन पैदावर र पर्यावरणीय सेवाहरुको आधार हो । जति धेरै प्रजाति त्यति धेरै वन पैदावर र पर्यावरणीय सेवाहरु उपलब्ध हुन्छन् भन्ने कुराको उदाहरण हो जलथल वन । जलथल वरिपरि बस्ने स्थानीयहरुले काठ, घाँस र दाउरा बाहेक धेरै प्रजातिका जंगली फलफूल र खाद्य कन्दुमूलहरु उपयोग गर्दै आएका छन् ।

जलथलमा जामुन, फडीर, कुशुम, वन सुन्तला, वन सुपारी, वन अम्बक, पिडार, खन्यू, रामफल जस्ता ३५ फलफूलका प्रजातिहरु पाइन्छन् । पश्चिम नेपालतिर पाइने कुशुम र जलथलमा पाइने कुशुमका प्रजातिहरु विल्कुल फरक छन् । च्याउ र निउरो पनि जलथलका स्थानीयको लागि महत्वपूर्ण प्राकृतिक स्रोत हुन् । यहाँबाट निउरो, मोरङ्गे जस्ता १७ थरिका सागपात स्थानीयले संकलन गर्दछन् ।

जंगली फलफूल वाहेक कुरिलो, सर्पगन्धा, मधु, हर्रो, वर्रो, जलथलका महत्वपूर्ण जडीबुटीका प्रजातिहरु हुन् । मधु भनेर चिनिने अदुवा परिवारको एक सुगन्धित वनस्पति त जलथल बाहेक नेपालको तराईको अन्यत्र भेटिएको अभिलेख छैन ।

संकटापन्न वन्यजन्तुको वासस्थान

जलथल वनस्पतिका प्रजातिको कारणले मात्र महत्वपूर्ण भएको होइन यो वन चराचुरुङ्गी रवन्यजन्तुका सयौं प्रजातिको वासस्थान समेत हो । जलथलमा दुई सय ३० प्रजातिका चराहरु पाइन्छन् । त्यसैगरी २८ प्रजातिका स्तनधारी, ३२ प्रजातिका सरिसृप र १४ प्रजातिका उभयचर समेत पाइन्छन् । त्यसैगरी जलथल क्षेत्रका सिमसारहरुमा गरिएको सर्वेक्षणमा ४३ प्रजातिका माछाहरु समेत भेटिएका छन् । विश्व संरक्षण संघ (क्ष्ग्ऋल्)को रातो सूचीमा परेको हात्ती (संकटापन्न) रलाम्चे कछुवा र सालक (अति संकटापन्न) जस्ता वन्यजन्तु जलथलमा पाइनुले जलथल कति महत्वपूर्ण छ भन्ने कुरा दर्शाउछ । त्यसैगरी नेपालको कालो गरुड र सुनगोहोरो जस्ता संरक्षित वन्यजन्तु पनि जलथलमा पाइन्छन् । जलथलको जंगल अजिंगरको पनि वासस्थान हो ।

स्थानीय संस्कृतिर जलथल

जलथल जैविक र पर्यावरणीय दृष्टिकोणले जति महत्वपूर्ण छ त्यतिकै महत्वपूर्ण छ यो जंगल वरिपरी बस्ने सुदायको संस्कृति र जिविकोपार्जनका लागि यस वन क्षेत्र वरिपरि तराईका र पहाड दुबैतिरका आदिवासी समेत विभिन्न जात समूहको बसोबास रहेको छ । नेपाल कै अल्पसंख्यक मेचे समुदायको बसोबास जलथल वरिपरी पनि छ । स्थानीय बासिन्दाले दैनिक उपयोगदेखि आफ्ना रितिरिवाज र सांस्कृतिक कार्यहरुमा वनभित्रका स्रोतहरु उपयोग गर्ने गर्दछन् । जलथल वनभित्र स्थानीय देवीदेवताका थानहरु पनि छन् । जलथलमा भेटिएका वनस्पतिका १२ वटा प्रजातिहरु स्थानीयको धर्म, संस्कृतिसँग जोडिएका छन् ।

पारिस्थितिक प्रणालीमा विविधता

जलथल वन नेपाल कै होचो स्थान केचनासँगै जोडिएको छ । वन क्षेत्र ६०–१२० मिटर उचाईसम्म रहेको छ । सामान्य तथा तराईको भू–भाग भन्ने बित्तिकै एकनासको भू–बनौट भन्ने अनुमान गर्ने गरिन्छ । तर, जलथल समथर र नेपाल कै होचो भू–भाग भएता पनि त्यहाँको पारिस्थितिकीय प्रणाली अनुमान गरेभन्दा विविधतायुक्त छ । होचो स्थानमा हुनुको कारणले यहाँ प्रशस्त सिमसारहरु रहेका छन् । केही उच्च भू–भाग, खोल्सा–खोल्सी र खोलाहरुले यहाँको भू–बनौटमा विविधता थपेका छन् । विभिन्न उमेर समूह र प्रजाति समिश्रणका वनले जलथलको पारिस्थितिकीय प्रणालीलाई विशेष बनाएका छन् ।

जति महत्वपूर्ण, त्यति संकटमा

जलथल वन जैविक विविधता, संरक्षणको दृष्टिकोण, स्थानीय उपयोगिताको हिसाबले महत्वपूर्ण छ भन्ने कुरामा सायदै विमति नहोला । यसको महत्वको कुरा गर्दैगर्दा यसको अहिलेको अवस्था र संरक्षण चुनौतिको पनि कुरा गर्नुपर्ने हुन्छ । जलथल जंगल जति विशेष र महत्वपूर्ण छ त्यतिकै संकटमा पनि छ । वन व्यवस्थापन, सामुदायिक वन समूह अन्तर्गत व्यवस्थित छ । तर, वनले अहिले सामना गर्दै गरेको चुनौतिहरु समूहको कावुभन्दा बाहिर देखिन्छन् । माथि उल्लेख गरिएका प्रजातिहरु मध्ये कतिपय जलथलमा लोप हुने अवस्थामा छन् । धेरै प्रजातिका रुखहरुको पुनरुत्पादन सन्तोषजनक छैन् । वनमा घाँस दाउराको चाप अधिक छ । वनमा अहिले विद्यमान चुनौतिहरु मध्ये मिचाहा प्रजातिको व्यवस्थापन प्रमुख हो । दक्षिण अमेरिकामा उत्पत्ति भई नेपालमा तीव्रगतिमा फैलिएको प्याँग्रीलहरा भनिने माइकेनिया व्यवस्थापनमा टाउको दुखाईको विषय बनेको छ । त्यसैगरी सेतो वनमारा पनि चुनौतिपूर्ण छ । झापा र मोरङमा मात्र देखिएको घोप्टे काँडा वा उल्टा काँडा भनिने अर्को एउटा मिचाहा प्रजाति पनि जलथलमा देखिन थालेको छ ।

जलथल वन एउटा बहुपयोगी वन हो, तर वन व्यवस्थापनले यो कुरालाई सम्बोधन गर्न सकेको छैन, यो जलथलको मात्र होइन समग्र देशकै समस्या हो वन व्यवस्थापन साँघुरो छ । काठको मुख्य प्रजाति साल (सखुवा)लक्षित छ । घाँस–दाउराको चाप, चोरी शिकारी र मिचाहा प्रजातिको अतिक्रमणले सृजना गरेका चुनौतिहरु व्यवस्थापन गर्नुपर्छ र यिनलाई कम आँक्न हुदैन । उपयुक्त व्यवस्थापन, आर्थिक स्रोतको उपलब्धता र दीर्घकालीन योजनाले यिनको समाधान गर्न असम्भव भने छैन । तर, यी बाहेक अहिले जलथल वन र जैविक विविधताको अस्तित्व मै संकट निम्त्याउन सक्ने गरी वन अतिक्रमण हुँदैछ । तर यो अतिक्रमण गरीब र सुकुम्बासीबाट होइन विकासको नामको अतिक्रमण ।

वन क्षेत्रभित्र विकास, पर्यापर्यटन र विभिन्न वहानामा भौतिक संरचना बनाउने एउटा प्रतिस्पर्धा नै छ । वन क्षेत्रलाई दुई चिरामा बाड्ने विद्यमान बाटोको अलावा अर्को बाटो समेत बनाउने प्रयास हुँदैछ । वन क्षेत्र संकुचित र खण्डीकरण गराउने सडक र भौतिक संरचनाको दीर्घकालीन असर हुन्छ र वनको जैविक विविधता संकटमा पर्छ । यसतर्फ सबै सरोकारवालाहरू गम्भीर हुनै पर्दछ । जलथलवनको महत्व र यसको चुनौतिको बारेमा राजनीतिक नेतृत्वले उचित ध्यान दिन सकेको देखिँदैन । विकास र वातावरण संरक्षणको द्वन्द्वमा मूल राजनीतिक नेतृत्वले यथोचित अडान लिन सकेको छैन । वातावरण संरक्षण बिना बृहत र दीर्घकालीनहीत सम्भव हुँदैन भन्ने कुरा राजनीतिक नेतृत्वले मनन गर्नुपर्दछ ।

अन्त्यमा

जलथलको विशिष्टता, जैविक विविधताको सम्पन्नता, विद्यमान चुनौति र स्थानीय जिविकोपार्जनमा यसको महत्वलाई एकैसाथ विचार गरेर व्यवस्थापन गर्न सक्यौ भने संरक्षण र वनको दिगो उपयोगको नमूना बन्न सक्छ जलथल वन व्यवस्थापन ।

यसका लागि उपलब्ध तथ्यांकमा टेकेर वस्तुगत र दीर्घकालीन सोचको व्यवस्थापन जरुरी छ । सामुदायिक वन समूहको क्षमता वृद्धि, दीर्घकालीन सोचसहितको व्यवस्थापन र यसको संरक्षण गर्ने राजनीतिक गाम्भीर्यता र प्रतिबद्धतासँगै सरोकारवालाको सहकार्यबाट मात्र जलथल जैविक विविधतालाई न्याय गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here