आत्महत्या कसरी न्यूनीकरण गर्ने ?

0
320

उमानाथ भण्डारी,
कमल ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कानूनी रुपले मात्र आत्महत्या न्यूनीकरण नहुने भएकोले आत्महत्या न्यूनीकरणका लागि समाज लाग्नुपर्नेे बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दमकका आयोजना गरेको आत्महत्या रोकथाम सचेतना कार्यक्रम–२०७९को उद्घाटनपछि शुभकामना मन्तव्य व्यक्त गर्दै प्रजिअ रिजाललले यस्तो बताएका हुन् । हरेक वर्ष आत्महत्याका घटना बढी रहेका छन् यसलाई न्यूनीकरण गर्नका लागि यस्ता कार्यक्रमको आयोजना गरिएको हो ।

यसलाई न्यूनीकरण गर्न सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने हुन्छ । झापा जिल्ला पनि आत्महत्या गर्ने जिल्लाहरुमध्ये उच्च स्थानमा पर्दछ । यहाँ हरेक वर्ष आत्महत्याका घटना बढिरहेका छन् । जब मानिसमा निराशापन आउँछ, उसले अरु कुनै विकल्प देख्दैन र आत्महत्या गर्न पुग्छ– प्रजिअ रिजालले भने ।

कार्यक्रममा बोल्दै दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले सबैले आफ्नो जिम्मेवारी सम्झिएर काम गर्ने बेला आएको बताए । यदि आत्महत्यालाई वेवास्ता गर्ने हो भने भोलिको दिन समाजमा मात्र होइन देशमै भयावह स्थिति आउन सक्छ । आत्महत्या जस्तो कार्यलाई न्यूनीकरण गर्नका लागि हामी सबैको दायित्व समान रहेको उनले बताए ।

अर्का वक्ता दमक नगरपालिका उपमेयर रेगिना प्रसाईले मानिस असफलता, बेरोजगार, गरिबी, नकारात्मक सोच जस्ता कारणले डिप्रेसनमा पुग्छ र अन्तिममा आत्महत्या जस्तो कार्य गर्न पुग्ने बताए । यसका लागि तनाव व्यवस्थापन सम्बन्धी अनुशिक्षण तालिम सञ्चालन गर्न आवश्यक छ, स्थानीय तह, टोल विकास समिति, प्रहरी, संघ–संस्थाबीच समन्वय गरी आत्महत्याको सम्बन्धमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सके आत्महत्या न्यूनीकरण गर्न सकिने उनले बताइन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले शुभकामना मन्तव्यका साथै नेपालमा आत्महत्याको अवस्थाका बारेमा प्रकाश पारेका थिए । विश्वमा वार्षिक ८ लाखभन्दा बढीले आत्महत्या गर्दछन् भने नेपालमा वार्षिक ६ हजार भन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्यांक छ । लिङ्गको आधारमा आत्महत्या गर्ने पुरुष ३९ प्रतिशत र महिला ६१ प्रतिशत रहेको डीएसपी गिरीले जानकारी दिए । त्यसैगरी झुण्डिएर ८९ प्रतिशत र विष सेवन गरेर ११ प्रतिशत मानिसले आत्महत्या गर्ने गरेको उनले बताए ।

त्यसैगरी उमेरका आधारमा १६ वर्ष मुनिका ६ प्रतिशत, १६देखि ६० वर्ष सम्मका ७८ प्रतिशत र ६० वर्षभन्दा माथिका १६ प्रतिशतले आत्महत्या गर्ने गरेको गिरीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विश्वमणि पोख्रेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओली दकम उद्योग वाणिज्य संघ, लायन्स क्लव, रोटरी क्लव, शिक्षक तथा विद्यार्थी विभिन्न संघ–संस्थाको उपस्थितिमा दमक नगरपालिकाबाट शुरु भएको प्रभातफेरी कश्मिक पाटी प्यालेसको हलमा औपचारिक कार्यक्रम गरी सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी चोकी केर्खाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक सुभास मिश्रले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here