झापा ४ः सम्भावना कसको ?

0
843

सुरेन्द्र भण्डारी,
झापा।

झापा क्षेत्र नम्वर ४मा मतदाताको संख्या १ लाख २३ हजा ९ सय २४ रहेको छ । क्षेत्र नं. ४ को ‘१’ निर्वाचन क्षेत्रमा मात्रै २६ हजार सात सय ५५ पुरुष र २६ हजार सात सय ४९ महिला तथा एक अन्य गरी ५३ हजार दुई सय पाँच कूल मतदाता रहेका छन् । यो निर्वाचन क्षेत्रमा मतदानस्थल ३० र मतदान केन्द्र ६६ वटा रहेका छन् ।

त्यस्तै निर्वाचन क्षेत्र नम्वर ४को ‘२’ मा पुरुष मतदाताको संख्या ३५ हजार दुई सय ७६ र महिला मतदाताको संख्या ३४ हजार ६ सय ५२ गरी ६९ हजार ९ सय १९ मतदाता छन् । मतदानस्थल ३३ र मतदान केन्द्र ८३ रहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

मंसीर ४ गते हुने यो प्रतिनिधिसभाको निर्वाचनमा यो निर्वाचन क्षेत्रमा विशेष गरी सत्तारुढ गठबन्धन दलको तर्फबाट नेपाली कांग्रेसका उम्मेद्वार देउकुमार थेवे, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट लालप्रसाद सावा (एलपी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट खुस्बू ओली प्रतिष्पर्धामा रहने देखिएको छ । तर, गठबन्धनको सिट बाँडफाँडमा झापा ४ र ५मा सहमति जुट्न सकेको छैन । उक्त क्षेत्रमध्ये एउटा माओवादीले पाउने छ । ४ माओवादीले नपाए मात्रै कांग्रेसको उम्मेदवार कायम हुने बताइन्छ ।

प्रतिनिधिसभाका लागि थेवे र ओली ‘फ्रेस’ अनुहार हुन् भने साँवा २०७४को निर्वाचनमा निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् । उनी दोस्रो कार्याकालका लागि नेकपा एमालेबाट चुनावी मैदानमा छन् ।

नेपाली कांग्रेसबाट चुनावी दौडमा रहेका थेवे झापाका पार्टी सभापति समेत हुन् । उनी २०७४को निर्वाचनमा एमालेका उम्मेदवार साँवासँग पराजीत भएका थिए । तर यसपटकको निर्वाचनमा पनि उनी पार्टीबाट सिफारिस भएसँगै चुनावी मैदानमा उत्रिएका हुन् ।

त्यस्तै राप्रपाबाट एकाएक उदाएकी ओली पनि सो निर्वाचन क्षेत्रका लागि ‘फ्रेस’ अनुहार हो । उनी यस अघि नेकपा एमालेको राजनीतिमा सक्रिय रहेकी थिइन् । तर, पछिल्लो समय राप्रपामा प्रवेश गरेसँगै उनी प्रतिनिधि सभाका लागि चुनावी मैदानमा उत्रिएकी हुन् ।

निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट थेवे र राप्रपाको तर्फबाट ओलीको मात्रै एकल नाम सिफारिस भएको छ भने नेकपा एमालेले साँवासहित प्रदेश नं. १ का सांसद हिरा थापा, होम गौतम, चन्द्र शेर्मा र भोजकुमारी नेपालको नाम सिफारिस गरेको छ । एमालेका पाँच जनाको नाम सिफारिस भए पनि सावाको मात्रै चुनावी प्रतिष्पर्धा रहने एमाले वृत्तमा चर्चा छ ।

सावा २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचमा समेत सहभागी बनेका थिए । तर, उनी नेपाली कांग्रेसकातर्फबाट उम्मेदवार बनेका केशबकुमार बुढाथोकीसँग पराजित भएका थिए । २४० मतको झिनो मतान्तरले पराजित भएका उनले सोही निर्वाचन क्षेत्रमा चहलपहल बढाएसँगै २०७४ सालमा भएको निर्वाचनमा निर्वाचित बन्दै प्रतिनिधिसभा सदस्य बनेका थिए । २०७४ सालमा भएको निर्वाचनमा साँवाले थेवेलाई फराकिलो अन्तरले पराजित गरेका थिए । साँवाले ४३ हजार ५ सय १५ मत ल्याउँदा तत्कालीन पार्टी उपसभापति रहेका थेवेले २६ हजार ८ सय २२ मत मात्र ल्याउन सफल भएका थिए ।

यो निर्वाचन क्षेत्रमा झापा गाउँपालिका, गौरादह–९, गौरिगञ्ज १ र २, कन्काई–१ देखि ७ र शिवसताक्षी नगरपालिकाको भूगोल समेटिएको छ ।

गत स्थानीय तहको निर्वाचनलाई आधार मान्दा यो निर्वाचन क्षेत्रमा नेकपा एमालेको बर्चश्व देखिन्छ । २८ वटा वडामध्ये एमाले एक्लैले १५ वटा वडामा बिजय हासिल गरेको छ । यता नेपाली कांग्रेस ११, माओवादी केन्द्र १ र एउटा वडा स्वतन्त्र उम्मेदवारले जितेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ । एमालेले कनकाई नगरपालिकाको १, २, ३, ४, ५ र ६ नम्बर वडाको नतिजा हात पार्दा सो नगरपालिकामा कांग्रेसले ७ नम्बर वडा मात्र जितेको छ ।

शिवसताक्षी नगरपालिकाको १,४,५,१० र ११ वटा वडाको नतिजा एमालेको पोल्टामा परेको छ । सो नगरपालिकामा कांग्रेसले ३, ६, ७, ८, ९ र माओवादी केन्द्रले २ नम्बर वडामा जित हासिल गरेका छन् ।

यसैगरी झापा गाउँपालिकामा एमालेले वडा नम्बर ३ मा जित हात पारेको छ । कांग्रेसले वडा नम्बर १,२,४,६ र ७ तथा ५ नम्बरमा स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेको पाइएको छ । गौरीगञ्ज गाउँपालिका १ र २ कांग्रेस र गौरादह नगरपालिका–९ एमालेले जित हात पार्न सफल भएका छन् ।

झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष नै कांग्रेसले जितेको छ । कनकाई नगरपालिकामा मेयर एमालेले जित्दा कांग्रेसले उपमेयर जितेको छ । शिवसताक्षी नगरपालिकामा मेयर र उपमेयर नै एमालेबाट निर्वाचित भएका छन् ।
यस्तै गौरिगञ्ज गाउँपालिकामा अध्यक्ष कांग्रेसले जितेको छ भने उपाध्यक्षमा एमालेका उम्मेदवार बिजयी भएका छन् । गौरादह नगरपालिकामा मेयर र उपमेयर नै एमालेबाट निर्वाचित भएका छन् ।

दलहरुले एक्लाएक्लै प्रतिष्पर्धा गर्ने अवस्था आँउदा झापा–४ मा अरु पार्टीलाई एमाले भारी हुने अवस्था छ । एमाले एक्लैको त्यस क्षेत्रमा ३१ हजार २७३ मत रहेको छ भने दोस्रोमा कांग्रेसको २८ हजार १६६ मत छ । ५ वटा वडामा उम्मेदवारी दिएको माओवादीको ४ हजार ७२६ मत र राप्रपाको ४ हजार ५५६ मत रहेको छ । जिल्लाका अन्य क्षेत्रभन्दा यस क्षेत्रमा राप्रपाको कमजोर मतभार रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here