निर्वाचन केन्द्रित अभियानलाई तिव्रता दिँदै राजनीतिक दल

0
350

काठमाडौँ, 

प्रमुख राजनीतिक दलले काठमाडौँ उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् ।

काठमाडौँ उपत्यकामा प्रतिनिधिसभातर्फ १५ निर्वाचन क्षेत्र छन् । यस्तै प्रदेशसभातर्फ ३० निर्वाचन क्षेत्र छन् । सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धनले आआफ्नै शैलीमा चुनावी अभियानलाई तीव्र पारेका हुन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई केन्द्रमा राखेर दलले मतदातासँग मत माग्नेदेखि, उम्मेदवार परिचय तथा कार्यकर्ता परिचालन सुरु गरेका छन् । प्रतिनिधिसभातर्फ काठमाडौँ क्षेत्र नं २ मा आज वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार परिचयको कार्यक्रम आयोजना गरियो ।

सत्तारुढ गठबन्धनका उम्मेदवारको परिचय तथा निर्वाचन क्षेत्र केन्द्रित योजनाका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी) सँग आबद्ध नेता तथा कार्यकर्ताले संविधानको रक्षाका खातिर भएको गठबन्धनले नै देश र जनताको हित गर्ने धारणा राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद दिपक कुइँकेलले लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि पनि गठबन्धन नै सही भएको र नेपाली जनताले विजयी गराउने बताउनुभयो ।

सो क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट पूर्वसभामुख ओनसरी घर्ती उम्मेदवार हुनुहुन्छ । कार्यक्रममा उम्मेदवार घर्तीले संविधानसभाबाट संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेकपा(एमाले)का महासचिव माधवकुमार नेपालको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै सोही जगमा वर्तमान गठबन्धन तयार भएको बताउनुभयो ।

वाम लोकतान्त्रिक गठबन्धन रामेछापले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई संविधानसम्मत बाटोमा हिँडाउने काम वर्तमान सत्तारुढ गठबन्धनले गरेको बताउनुभयो । उहाँले संविधान विरोधी तत्वलाई पराजित गर्नका लागि पनि वाम लोकतान्त्रिक गठबन्धनको विजय जरुरी रहेको धारणा राख्नुभयो ।

रामेछापमा वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट कांग्रेसका पूर्णबहादुर तामाङ प्रतिनिधिसभातर्फ उम्मेदवार हुनुहुन्छ भने प्रदेशसभातर्फ माओवादीका तारानारायण श्रेष्ठ र युवराज चौलागाईं उम्मेदवार हुनुहुन्छ । नेकपा(एमाले)का तर्फबाट प्रतिनिधिसभामा कैलाश ढुङ्गेल र प्रदेशमा शान्ति पौडेल र मिलन घिसिङ उम्मेदवार हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here