नेराशिसंद्वारा ८ शिक्षक–कर्मचारी सम्मानित

0
237

संगीता उप्रेती,
सुरुङ्गा ।

नेपाल राष्ट्रिय शिक्षक संगठन कनकाई नगर समितिले नगरभित्रका विद्यालयमा कार्यरत ८ शिक्षक–कर्मचारीलाई सम्मान गरेको छ ।

संगठनको तेस्रो नगर परिषद्को अवसरमा उनीहरूलाई सम्मान गरिएको हो । लामो समयदेखि निरन्तर संगठनलाई र आफ्नो कर्मक्षेत्रमा उत्कृष्ट योगदान गरेको मूल्याङ्कन गर्दै उनीहरूलाई सम्मान गरिएको हो । त्यसरी सम्मानित हुनेमा कनकाई मावि सुरुङ्गाका बल्लभकुमार गौतम, गंगाप्रसाद खतिवडा र चेतन रिजाल, सिंहदेवी आधारभूत विद्यालय टेक्राका पुरणकुमार फुयाँल र भृकुटी मावि दुर्गापुरका बिना थपलिया रहेका छन् ।

त्यसरी नै आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका दुर्गाप्रसाद उप्रेती र जनचेतना आधारभूत विद्यालय कनकाई–३ का सुमित्रा उप्रेतीलाई सेवानिवृत्त शिक्षकको सम्मान प्रदान गरिएको छ । त्यसै क्रममा आदर्श विद्यामन्दिर मावि घैलाडुब्बाका कर्मचारी स्व. धनसिंह राजवंशीलाई मरणोपरान्त उत्कृष्ट कर्मचारीको सम्मान प्रदान गरिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश नं. १ का ईञ्चार्ज धर्मानन्द खरेलको प्रमुख आतिथ्य, केन्द्रीय सदस्य बुद्धिमान कार्कीको विशिष्ट आतिथ्य र केन्द्रीय प्रतिनिधि कृष्णप्रसाद अधिकारीको विशेष आतिथ्यमा सम्पन्न परिषद् भेलामा कार्यक्रमका अध्यक्षता समेत गरिरहेका कनकाई नगर अध्यक्ष गोपीकृष्ण भट्टराईले सांगठानिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष भट्टराईले कनकाई नगरभित्रका सामुदायिक विद्यालयका प्रअ र संगठनका वीचमा सुमधुर सम्बन्ध रहेको र यसलाई अझ प्रभावकारी बनाउने, संगठनभित्रको अनुशासन र समय परिपालनालाई जोड दिने, बनेका उपसमिति, वडा समिति र विद्यालय एकाइ समितिलाई सक्रिय बनाउने, नेपाल शिक्षक महासंघको निर्वाचनमा संगठनको नेतृत्व रहने गरी कार्ययोजना अघि बढाउने प्रतिवेदनमा उल्लेख गरेका थिए ।

त्यसैगरी, स्थानीय नगरपालिका शिक्षा शाखा जनशक्तिमा सबल भए पनि कनकाईको शैक्षिक विकासमा प्राविधिक तथा प्रशासनिक कार्य अघि बढाउने नाममा नगरभित्रका विद्यालयमा दरबन्दी कायम भएका शिक्षकलाई कर्मचारीको रूपमा नियुक्ति गरिएकाले नगरपालिकाको सो कार्यबाट सम्बन्धित विद्यालयका विद्यार्थीको भाग्य र भविष्यमा असर परेकाले उक्त शैक्षिक क्षति हुन नदिन सम्बन्धित निकाय जिम्मेवार हुनुपर्ने माग गरिएको छ । स्थानीय सरकारसँग समग्र नगरको शिक्षा क्षेत्रको हितमा सहकार्य गरेर जान वातावरण निर्माण हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सो कार्यक्रममा कनकाई मावि सुरुङ्गाका प्रअ तथा आन्तरिक लेखा परीक्षण समितिका संयोजक कर्णबहादुर डाँगीले लेखा परीक्षण प्रतिवेदन र संगठनका कोषाध्यक्ष कृष्णप्रसाद गौतमले आ.व.२०७८/०७९ को आयव्यय समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसै गरी कार्यक्रममा औचित्यमाथि प्रकाश पारेका उपाध्यक्ष ज्ञानबहादुर रायमाझीले कनकाई विशेष कोष सञ्चालनको अवधारणपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत सबै प्रतिवेदन तथा अवधारणापत्र सभाले पारित गरेको संगठनका नगर सहसचिव निर्मलादेवी भट्टराईले जानकारी दिइन् ।

संगठनका उपाध्यक्ष मेनुकादेवी तिम्सिनाको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव चन्द्रप्रसाद पोखरेलले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here