कृषि कर्मलाई मर्यादित बनाऊ

0
160

खाद्यान्न मानिसको अनिवार्य आवश्यकता हो । मानिस मात्र होइन सम्पूर्ण प्राणी तथा वनस्पति खाद्यान्नको अभावमा बाँच्नै सक्दैनन् । त्यसमा पनि चेतनाका दृष्टिले सर्वोच्च मानिएको मानव जीवनलाई नभई नहुने खाद्यान्न लगायतका खाद्यवस्तुको सर्वाधिक महत्व छ । जीवनरक्षाको प्रथम आवश्यकताका रुपमा रहेको खाद्यान्नको यही महत्वलाई ध्यानमा राखेर खाद्य तथा कृषि संगठनले अक्टोबर १६ लाई विश्व खाद्य दिवसका रुपमा मनाउन थालेको छ । दिवस मनाउन थालेको पनि चार दशकभन्दा बढी भइसकेको छ र आज त्यही विशेष दिन हो जसले खाद्य संकट र भोकमरीका बिरुद्ध एकताबद्ध भई लड्न विश्व समाजलाई आह्वान गरेको छ । प्रत्येक वर्ष फरक–फरक नारासहित मनाइने गरेको नारा अनुरुप यो वर्ष ‘कोही पछि नपरुन्’ कायम गर्दै खाद्यान्न सार्वभौमिकता र सहकार्यमा विशेष जोड दिइएको छ ।

आज विश्व जलवायु परिवर्तनका कारण चिन्तित छ । किनकि यही परिवर्तनले खाद्यान्न संकट निम्त्याउने जोखिम छ । हाम्रा स्थानीय तथा रैथाने अन्नबालीहरु फल्नै छाडेका छन् । आधुनिकताका नाममा नवीन प्रविधिसँगै नयाँ जातका अन्नबालीको प्रयोग हुन थालेको छ । अधिक उत्पादन गर्ने लोभमा रासायनिक मलखाद तथा विषादिहरुको अधिक प्रयोग गरिँदैछ । यसका कारण माटोको अम्लियपन बढ्दै गएको छ माटोको क्षमता ह्रास हुँदैछ । एकातिर रैथाने प्रजातिका बालीनालीहरु विस्थापन हुँदैछन् भने अर्कातिर आधुनिकताले माटोको उर्वराशक्तिलाई घटाउँदै लगेको छ । त्यसमा पनि खेतीयोग्य तथा उर्वरजमिनहरु ढुंगा, बालुवा, सिमेन्ट र फलामका जंगलमा रुपान्तरण हुँदै जाँदा खाद्य संकट आउने दिनका लागि झन ठूलो चुनौतिका रुपमा खडा भएको छ ।

विश्वको मानव समाज यतिबेला भौतिक सुखको खोजीमा भौंतारिएको छ । जलवायु परिवर्तनको असर, हाम्रो खानपिनको शैली र सुखशयल भोग्ने प्रवृत्तिले खाद्यान्न उत्पादनका लागि लगानी गर्ने उत्साह घट्दै गएको छ । त्यही प्रवृत्तिका कारण नेपाल जस्तो आर्थिक अवस्थामा पछौटे देशका लाखौं युवा भएको उत्पादनशील जमिन बाँझो राखेर विदेशी माटोमा पसिना, रगत बगाउन होड गर्दैछन् । खाद्यान्नसँगै अन्य कृषिजन्य उत्पादनशील क्षेत्रहरु यी सबै परिस्थितिका कारण बन्द हुन थालेका छन् । तर, जनसंख्या वृद्धि दर भने त्यही अनुपातमा रहेको छ । जतिसुकै ऐश्वर्य प्राप्त गरे पनि बाँच्न र आर्जित ऐश्वर्यको उपभोग गर्नका लागि खाद्यान्नमै निर्भर हुनुपर्छ । त्यसैले परिवर्तित अवस्थालाई अनुकूल बनाउँदै कृषि कार्यलाई सम्मानपूर्ण बनाउनु आजको आवश्यकता हो । अहिले पनि लाखौं मानिस भोकमरीको चपेटामा छन् भने उत्पादित अन्नको एकतिहाई फालिने गरेको छ । यस्तोमा अन्नको महत्व बुझ्न र संसारमा कसैले भोककै कारण मर्नु नपरोस् भन्ने बुझाउन जरुरी छ । त्यसैगरी कृषि पेशालाई आकर्षक र मर्यादित बनाउन कृषकलाई सेवासुविधा उपलब्ध गराउँदै बजार व्यवस्थापनमा जोड दिन सरकारको ध्यान जानुपर्छ । अनि मात्र विश्वबाट भोकमरीको समस्याको पनि समाधान गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here