नेपाली ‘ब्ल्यु हेल्मेट्स’ को प्रशंसा

0
254

काठमाडौँ,

संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति स्थापना उद्देश्यमा नेपाली सुरक्षा फौजबाट भएको योगदान अविस्मरणीय रहेको देखिएको छ । राष्ट्र सङ्घका आह्वानमा नेपाली सेनाले सन् १९५८ देखि निरन्तर खटिइ द्वन्द्वरत मुलुकमा शान्तिका साथै शिक्षा र स्वास्थ्य एवं अन्य मानवीय सहायता तथा जनहितका कार्य गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय शान्ति स्थापनाका सिलसिलामा हालसम्म ७० नेपाली सुरक्षाकर्मीले वीरगति प्राप्त गरेको तथा ६६ जना गम्भीर घाइते भएको जनाइएको छ । नेपाली सुरक्षा फौजको व्यावसायिकताकै कारण नेपालसँग विश्वका कैयौँ मुलुक र त्यहाँका नागरिकबीचको सम्बन्ध प्रगाढ भएको छ । राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनाका लागि धेरै सैनिक÷सुरक्षाकर्मी खटाउने मुलुकका सूचीमा हाल नेपाल तेस्रो वरियतामा छ । अन्तर्राष्ट्रिय शान्ति कार्यमा ६४ वर्षका यात्रामा एक लाख ४० हजार तीन सय ६६ ‘ब्ल्यु हेल्मेट्स’ ले ४३ मिसनमा रही योगदान पु¥याइसकेको नेपाली सेनाले जनाएको छ ।

राष्ट्र सङ्घ स्थापना दिवस (युएनडे) का अवसरमा नेपाली सेनाद्वारा आज यहाँ आयोजित ‘राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा सक्षमताको आवश्यकता र भावी मार्ग’ विषयक कार्यक्रमका सहभागी वक्ताले राष्ट्रसङ्घको शान्ति कार्यको झण्डामुनि रही सेनाले गरेको कार्य सम्मान योग्य रहेको बताउनुभयो ।

नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागीले राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय शान्ति अभियानमा नेपालको साथ, सहयोग र योगदान अद्वितीय रहिआएको विचार प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “विश्वका द्वन्द्व मुलुकमा खडा भएका संवेदनशील र चुनौतीपूर्ण क्षणमा सेनाले व्यावसायिक र अनुशासित भई दिइएको निर्देशन प्रतिबद्ध भई पालना गर्दै आएको छ । सोही योगदानअनुसारको जिम्मेवारी पनि आगामी दिनमा पाउनुपर्छ ।”

मुख्यसचिव वैरागीले राष्ट्र सङ्घका तर्फबाट नेपालको विकास र समृद्धिलगायत विविध क्षेत्रमा सहयोग प्राप्त भइरहेको पनि उल्लेख गर्नुभयो ।

प्रधानसेनापति प्रभुराम शर्माले राष्ट्र सङ्घको शान्ति स्थापनामा नेपाली सेनाले निकै संवेदनशील क्षेत्रमा सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्ला समयमा देखिएको बहुआयामिक द्वन्द्व व्यवस्थापनमा अनुशासित, व्यावसायिक र साहसिक जनशक्ति परिचालन गरी सेनाले काम गर्दै आएको छ ।”

कार्यक्रममा राष्ट्र सङ्घका महासचिवका सैनिक सल्लाहकार जनरल बिरामी डिओपले नेपाली शान्ति सेनाको गतिविधि समेटिएको तस्बिरसहितको कफी टेबल बुक ‘नेपाली सेनाः विश्वव्यापी शान्ति र सुरक्षालाई सुदृढ गर्दै’ विमोचन गर्नुभएको थियो । राष्ट्र सङ्घले आजको कार्यक्रमको सफलताको कामना गर्दै राष्ट्र सङ्घको शान्ति प्रयासमा नेपालको सहयोगको प्रशंसा गरिएको सन्देश पठाएको थियो ।

हाल विश्वका ११ मुलुकका १२ स्थानमा स्थापित मिसनमा पाँच हजार पाँच सय ६८ सैनिक शान्ति स्थापनाका लागि परिचालित छन् । त्यस्तै नेपाल प्रहरीका ४२ र सशस्त्र प्रहरी बल नेपालका एक सय ९४ जनशक्ति हाल राष्ट्र सङ्घका आह्वानमा विभिन्न मुुलुकमा खटिरहेका छन् । ती राष्ट्रमा नेपाली सुरक्षा फौजको कार्यक्षमता, अनुभव र उच्चस्तरको सेवा भावले सैनिक–नागरिक सम्बन्ध विस्तारमा ठूलो योगदान पुगेको छ ।

नेपाली सुरक्षा फौजको कार्य जिम्मेवारीअनुसार राष्ट्र सङ्घले हालसम्म नौ उच्च तहका अधिकृतलाई फोर्स कमान्डरको जिम्मेवारी प्रदान गरिसकेको छ । पछिल्लो समय सेनाले राष्ट्र सङ्घको अनुरोधमा नेपाली शान्ति सैनिक महिला सैनिक पनि वृद्धि गर्दै लगेको छ । विश्वशान्ति ध्येयमा हाल दुई सय ९५ नेपाली महिला सुरक्षाकर्मी खटिरहेको सेनाले जनाएको छ ।

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले राष्ट्र सङ्घको आह्वानमा ‘ब्ल्यु हेलमेट्स’ लाई निरन्तर तालिम दिँदै आएको छ । नेपालले आवश्यक परेका खण्डमा करिब १० हजार शान्ति सैनिक खटाउन सक्ने यसअघि नै राष्ट्र सङ्घसमक्ष प्रतिबद्धता जनाइसकेको छ । विश्वशान्ति कार्यमा महत्वपूर्ण योगदान पु¥याएबापत संयुक्त राष्ट्रसघले विश्व प्रख्यात नोबल पुरस्कारसमेत प्राप्त गरिसकेको छ । राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोबर २४ मा भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here