अति विपन्न तथा रोगी दशनामी बन्धुलाई आर्थिक सहयोग

0
231

बिर्तामोड ।

नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले अति विपन्न तथा रोगी दशनामी बन्धुलाई आर्थिक सहयोग गरेको छ ।

नगर समितिले बिर्तामोड–६ स्थित बुट्टाबारीका एकबर्ष अघिदेखि जिब्रोको समस्याका कारण थलिएका ७२ बर्षिय गंगाबहादुर गिरीलाई उनको घरमै पुगेर आर्थिक सहयोग गरेको हो ।

नगर समितिले देउसी भैलो अभियानकै क्रममा नगद ५ हजार एकसय रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । नेपाल दशनामी समाज प्रदेश नं. १ का अध्यक्ष तथा नगर सल्लाहकार चन्द्रप्रसाद गिरी, समाजका प्रदेश नं. १ सह–सचिव तथा नगर सल्लाहकार पदमबहादुर पुरी (प्रकाश), समाजका प्रदेश सदस्य, झापा कोषाध्यक्ष तथा सल्लाहकार बालकृष्ण गिरी, नगर अध्यक्ष अर्जुन गिरीले संयुक्त रुपमा नगद हस्तान्तरण गरेका हुन् ।

पुर्खौली थलो संखुवासभाको खाँदबारी रहेका गिरी बिर्तामोड–६ मा ससुरालीको जग्गामा घर बनाएर अधियाँ खेती गर्दै जिविकोपार्जन गर्दै आएका थिए । तर, एक बर्षअघि उनको जिब्रोमा समस्या आएर उपचार गरेपछि अहिले घर भित्र बस्न बाध्य बनेका छन् । उपचारका क्रममा उनको जिब्रो काटिएको र बोलेको बुझ्न नसकिने उनकी श्रीमती मनमाया गिरीले जानकारी दिइन् ।

‘एउटा छोरो थियो, छोराको बिबाह गरिदिएका थियौं’ उनकी श्रीमती मनमायाले भनिन् ‘तर, बुहारी अर्कैसँग हिडेपछि छोरो पनि गैर जिम्मेवार भएर हिड्यो, कहिलेकाकी आउँछ, तर, हामीलाई हेर्दैन ।’ मनमायाले एउटा नाती भएर बुहारी हिडेपछि सानैदेखि आफैले हुर्काएको बताइन् ।

कतै एकचप्परी माटोसम्म नभएका गिरी दम्पत्ती अहिले बेसहारा बनेका छन् । श्रीमान गंगा बिरामी भएपछि नातीको सहयोगमा दुःख गरेर १५ कठ्ठा जग्गा अधियाँ खेती गरेको मनमायाले सुनाइन् । नाती अबोध गिरी बिर्तामोडको देवी माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत रहेका छन् । आर्थिक सहयोगकै क्रममा नगर समितिले नाती अबोधको अध्ययन सहजताका लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिएको छ ।

आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा नगर बरिष्ठ उपाध्यक्ष नारायण गिरी, कोषाध्यक्ष खड्गराज गिरी, सदस्य रणबहादुर गिरी, खेमराज गिरी, धनबहादुर पुरी, घनश्याम गिरीलगायतको उपस्थिति रहेको नगर सचिव उद्धव पुरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here