झापामा निर्वाचनको तयारी अन्तिम चरणमा

0
368

झापा, जिल्ला निर्वाचन कार्यालय झापाले मंसीर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय झापाले आज भद्रपुरमा निर्वाचनमा सञ्चार माध्यममको भूमिका विषयक कार्यक्रमको आयोजना गर्दै निर्वाचनका तयारीका विषयमा जानकारी गराएको हो । मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीको अध्यक्षतामा आयोजित कार्यक्रमकामा जिल्ला निर्वाचन कार्यालय झापाका अधिकृत तुलसीकुमार नेपालले निर्वाचकको तयारीका विषयमा जानकारी गराउनु भएको थियो ।
गत वैशाकमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएको र झापामा कूल मतदाताको संख्या ६ लाख ६३ हजार ३ सय ११ जना रहेको निर्वाचन अधिकृत नेपालले बताउनुभयो ।
झापामा ३ लाख ३१ हजार ४४ जना पुरुष मतदाताको संख्या रहेको र महिला मतदाताको संख्या ३ लाख ३२ हजार २ सय ५९ रहेको बताइएको छ । त्यस्तै जिल्लामा ८ जना अन्य समूहका मतदाताको संख्या रहेको उहाँको भनाई छ । झपामा पुरुष मतदाताको तुलनामा महिला मतदाताको संख्या एक हजार २ सय १५ जना बढी रहेको बताइएको छ ।
पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा सबै भन्दा धेरै मतदाता रहेको क्षेत्र झापा ५ मा रहेको र कम मतदाता भएको क्षेत्र झापा १ रहेको जिल्ला निर्वाचन अधिकृत नेपालले बताउनुभयो । उहाँका अनुसार झापा क्षेत्र नम्वर १ मा मतदाताको संख्या एक लाख २० हजार ३ सय ७५ रहेको र झापा ५ मा मतदाताको संख्या १ लाख ५४ हजार २ सय ८९ रहेको बताउनुभयो ।
झापामा ७ सय ६६ मतदान केन्द्र र २ सय ८५ वटा मतदान स्थल कायम गरिएको निर्वाचन अधिकृत नेपालले बताउनुभयो । उहाँले जिल्लामा दुई वटा मतदान स्थल अस्थायी रुपमा तयारी गरिएको बताइएको छ ।
जिल्ला कारागार झापामा रहेका कैदीबन्दीका लागि एउटा अस्थायी केन्द्र र प्रहरी, कर्मचारी लगायतका नागरिकका लागि जिल्लामा अर्काे एउटा मतदान केन्द्र तयारी गरिएको निर्वाचन अधिकृत नेपालले बताउनुभयो ।
झापामा ६ हजार २ सय ४२ जनाको अस्थायी मतदाता नामावाली तयारी गरिएको र उनीहरुले समेत मतदानमा सहभागीता जनाउने नेपालको भनाई छ ।
जिल्ला आचारसंहिता निर्वाचन अधिकारी मधु पोखरेलले आचार संहिता सवैले पालना गर्नु पर्ने बताउनु भएको छ । उहाँले झापामा छिटफूट रुपमा निर्वाचन आचारसंहित उल्लङ्घ भएपनि कुनै गम्भीर रुपमा आचारसंहिता उल्लाङ्घनका घटना नभएको बताउनुभयो । आचारसंहिता उल्लङ्घनका घटना के भयो भन्ने कुराको जानकारी गराईदिन उहाँले संचारकर्मीलाई आग्रह गर्नुभयो ।
मौन अवधि सुरु भएसंगै आचारसंहिता उल्लङ्घनका घटना बढ्ने भएकाले सो अवधिमा समेत जानकारी गराइदिन संचारकर्मी समक्ष उहाँको आग्रह छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी छविलार रिजालले निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण जनशक्तिको तयारी पूरा गरिसकेको र उनीहरुलाई आवश्यक निर्वाचन क्षेत्रमा खटाउने तयारी भइरहेको बताउनुभयो ।
झापामा रहेका कूल मतदान स्थलमध्ये ३ सय ७१ वटा मतदान केन्द्र संवेदनशील रहेको उहाँको भनाई छ । प्रमुख जिल्ला अधिकारी रिजालले त्यस्त मतदान केन्द्र र स्थलको निरन्तर प्रहरीले निगरानी गरिरहेको बताउनुभयो । निर्बाचनको सम्मुखमा निर्वाचन बिथोल्न सक्ने समूहको पहिचान गर्ने र त्यस्ता गतिविधि हुन नदिन सुरक्षा सर्तकता समेत बढाइएको प्रमुख जिल्ला अधिकरी रिजालको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले निर्वाचन शिक्षा आम मतदाता समक्ष पु¥याउन सञ्चारकर्मीको भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा सञ्चारकर्मी प्रेम आचार्य, माधव विद्रही, सुरेन्द्र भण्डारी,गोपाल काफ्ले, ज्ञानेन्द्र निरौला, चिन्तामणि दहाल, विनोद राजवंशी, सुव्रत न्यौपाने , नारायण अर्याल , रेजिना रोदन, दिपक अधिकारी लगायतले जिज्ञासा राखेका थिए ।
कार्यक्रममा झापामा मतदाता शिक्षालाई प्रभावकारी ढंगले अघि बढाउन जिल्लामा १३१ वटै वडामा रहेका महिला स्वयमसेविकाहरलाई परिचालन गरिसकिएको र उनीहरले मतदान प्रक्रियाका विषयमा घर घरमै गएर जानकारी गराउने बताइएको छ ।
यसैबीच जिल्ला निर्वाचन कार्यालय झापाले चन्द्रगढीस्थित बीरेन्द्र माध्यमिक विद्यालयमा नमूना मतदान समेत गराएको छ । नमूना मतदान कार्यक्रममा कक्षा १० का विद्यार्थी सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here