९० औं जन्मोत्सवमा नेम्वाङको परोपकारी कार्य

0
297

युद्धबहादुर बोहोरा,
पाँचथर ।

जन्मदिन मनाउने तरिकामा विभिन्नता आएको छ । अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ता र युवा पिढीहरुको त फेशनै जन्मदिन मनाउने भइसकेको छ । फोटोमा लाइक, कमेन्ट र शेयरको हाउभाउ देखाउन मात्रै भए पनि तामझामका साथ सामाजिक सञ्जालमा तस्वीर हालेर आलोपालो शुभकामना दिनेहरु बढेका छन् ।

तर, फाल्गुनन्द गाउँपालिका वडा नम्बर ४ चिलिङदिन निवासी आशबहादुर नेम्बाङ (आसपाल) ले भने फरक किसिमको सन्देश दिने गरी आफ्नो ९०औं जन्मदिन मनाएका छन् । सामाजिक सेवा र देश विदेशको अनुभव हासिल गरेका नेम्बाङले २०७९ साल कात्तिक १३ गते ८९ वर्ष पूरा गरी ९० वर्षमा प्रवेश गरेको आफ्नो जन्मोत्सवको अवसरमा स्व. बुबाआमा, सासु र जेठी छोरीको नाममा आफ्नै जमिनमा बाटो छेउ करिब ५ लाख खर्च गरेर निर्माण गरेको धर्मशालाको उद्घाटन गरे ।

यस अवसरमा आफ्ना समकालीन ६५ जना बुढापाकाहरुलाई दोसल्ला, मफलर र नगद रुपैयाँ प्रदान गर्दै मिष्ठान भोजन गराए । उक्त कार्यक्रममा पालिका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङ, वडाध्यक्ष दलबहादुर नेम्बाङ, जनप्रतिनिधिहरु, समाजसेवी, बद्धिजीवी र बुढापाकाहरुको उल्लेख्य उपस्थिति थियो । उनी ९० वर्षको उमेरसम्म पनि युवा अवस्थाको जोस जाँगर देखिने स्वस्थ जीवनले धेरैलाई आत्मबल बढाएको छ । उनले आफ्नो जीवनमा गरेका सामाजिक कामको प्रशंसा र कदर गर्दै नैयोत मण्डली पुरानो पञ्चमी इलाम÷पाँचथर र नामसामी केसममि केलाङले उनलाई सम्मान गरेको छ ।

१५ वर्ष प्रधानपञ्च र १८ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेका आशबहादुर (आसपाल) को हुन् ?

१९९० साल कात्तिक १३ गते पाँचथरको साविक चिलिङ्दिन गाविस वडा नम्बर १ निवासी बुबा छत्रश्वर नेम्बाङ र माता पद्मी फियाक नेम्बाङका जेठा छोरा हुन् । उनका तीन छोरा राजेन्द्र कुमार, चन्द्रकुमार र पृथ्वी नारायण साथै छ जना छोरी स्व. खेम कुमारी नेम्बाङ, यामकुमारी नेम्बाङ लावती, मीनाकुमारी नेम्बाङ बेघा, इन्द्रकुमारी नेम्बाङ खेवा, पार्वता नेम्बाङ चेम्जोङ र शकुन्तला नेम्बाङ आङ्देम्बे छन् ।

२०११ सालमा ब्रिटिश आर्मी भर्ती भई १८ वर्ष सेवा पूरा गरेर २०२९ साल श्रावण २ गते रिटायर पछि स्वदेशमा समाजसेवामा जुटेका नेम्बाङ तत्कालीन चिलिङदिन गाउँपञ्चायतको प्रधानपञ्चमा निर्वाचित भए । उनले चिलिङदिन गाउँविकास समितिको अध्यक्ष बनेर १५ वर्ष निरन्तर नेतृत्व गर्दै चिलिङदिन बासी जनताको अभिभावकत्व निर्वाह गरे ।

उनले २०२९ सालदेखि २०४४ सालसम्म स्थानीय सिद्धेश्वरी विद्यालयको व्यवस्थापन समिति अध्यक्ष पद सम्हाले । नेम्बाङ पाँचथर जिल्ला भूतपूर्व सैनिक संगठनको उपाध्यक्ष, इलाम र पाँचथरको सीमानामा रहेको पुरानो पञ्चमी बजार स्थापनामा प्रमुख भूमिका निर्वाह गर्ने व्यक्तिको रुपमा समेत परिचित छन् । साथै राँके–रवि सडक निर्माणमा पनि उनको योगदान उत्तिकै रहेको स्थानीय बुढापाका बताउँछन् ।

ब्रिटिश गोरखा सेनाको गल्लावाल (आसपाल बाजे) भनेर प्रायः धेरैले चिन्ने गरेका छन् । हजारौ पीडित तथा गाउँघरका दुःखी परिवारका युवाहरुलाई सेनामा भर्ती गराएर उनीहरुको भविष्य उज्ज्वल बनाएकोमा सवैले उनलाई सम्मान गर्ने गरेका छन् । उनले शैक्षिक क्षेत्र र धार्मिक स्थलका लागि विभिन्न ठाउँमा भूमिदान गरेका छन् । उनले फाल्गुनन्दको चिलिङ्दिनमा र झापाको शिवसताक्षीस्थित धरमपुरमा विद्यालयको लागि जग्गा, माङ्सेबुङको लारुम्बाको धार्मिकस्थललाई जग्गा प्रदान गरेका छन् । साथै त्यस क्षेत्रमा बसाइँ सरी किराँत धर्मको आजीवन सदस्य भई विभिन्न काममा सक्रिय ढंगले जिम्मेवार र सेवा गर्दै पाटीपौवा, फलैंचा, धर्मशाला, चौतारा निर्माणमा विशेष योगदान गरेका छन् ।

धार्मिक सहिष्णुता कायम गर्दै उनले पुरानो पञ्चमी र घुर्बिसे पञ्चमीबीचको सिद्धदेवी पुधामलुङमा फलैचाको निर्माण र देवस्थलमा त्रिशूल तथा घण्टी राखे । धार्मिकस्थलको आवश्यक पूर्वाधार निर्माणमा सहयोग पु¥याएका समाजसेवी नेम्बाङ किराँत धर्म तथा साहित्य उत्थान संघको आजीवन सदस्य हुन् । उनी २०७४ सालदेखि फाल्गुनन्द ४स्थित चिलिङ्दिनमा स्थापित तेगेङजना नाम्साम्बे केसाम्बे माङ्हिमको संस्थापक अध्यक्षको जिम्मेवारी बहन गरिसकेका छन् । हाल उनका केही परिवारका सदस्यहरु बेलायतमा छन् । उनका साथमा पल्टन गएका धेरै साथीहरु उतै पलायन भएका छन् । उनी भने आफ्नो लामो समय विदेशमा बिताएर पनि जन्म भूमिप्रतिको मायालाई बृद्ध अवस्थासम्म मुटुमा राख्ने एक उदाहरणीय व्यक्ति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here