किसान समुदायमा न उत्साह, न त मतदाता शिक्षा

0
144

दिपेश राजवंशी,
झापा।


प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनाव नजिकिँदै गर्दा देशैभरी चुनावी माहोल तातिएको छ । ठूला साना सबै राजनीतिक दलका नेता र तिनका कार्यकर्ताहरुलाई मतदाता रिझाउन भ्याइनभ्याइ छ ।

त्यसैगरी प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरु देश विकासको लागि अब आफ्नो विकल्प नरहेको भन्दै टोल–टोलमा पुगिरहेका छन् । स्थानीय समस्यालाई आफ्नो मूल मुद्दा बनाएका नेताहरु हात जोड्दै जनताको घरदैलोमा पुगिरहेका छन् । यस्तैमा भए गरेका केही विकास निर्माणका काममा पनि नेताहरुले कामको श्रेय लिने होडबाजीमा सर्वसाधारण जनता भने अलमल्ल परेका छन् ।

झापा जिल्लाभित्र पनि चुनावको माहोल तातिएको बेला कहीँ घरका सबै सदस्य चुनावी दौडमा छन् भने कहीँ ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मत’ झैं भएको छ । उम्मेदवारहरुमा केही नयाँ अनुहार फेरिएको यसपटक चुनावले भने भुइँ मान्छेको निराशा फेर्न सकेको छैन । नेता कार्यकर्तालाई चुनावी चटारो भए पनि मजदुर र कृषकहरुलाई भने कामकै चटारो छ । खेतमा धान पाकिसकेको हुनाले धान काट्न र भित्र्याउन धमाधम छ कृषक परिवारहरुलाई ।

देशमा चुनाव आउन अब ८ दिन मात्रै बाँकी रहेको बेला पूर्वी नेपालको झापामा बसोबास गर्ने लोपोन्मुख किसान समुदायका मानिसलाई भने चुनावले खासै उत्साहित बनाएको छैन । अशिक्षा र गरिबी व्याप्त रहेको लोपोन्मुख किसान समुदायका मानिसमा मतदान कसरी गर्ने भन्ने ज्ञानको पनि कमी रहेको छ । दलका नेताहरु आफू खेतमा काम गर्दैगर्दा भोट माग्न त्यहीँ पुग्ने गरेको भए पनि मतदान कसरी गर्ने भन्ने अन्यौल अझै रहेको बताउँछन्– मेचीनगर–९ मागुरमाडी निवासी ४३ वर्षीय सुन्दरलाल किसान ।

अहिलेसम्म कतिपटक मतदान गरियो भनेर यकिनको साथ सम्झना नरहेको किसान समुदायका ७१ वर्षीय राजकुमार किसान पनि यसपटकको चुनावमा कसरी मत दिने भनेर अलमलमा छन् । उनी भन्छन्– पहिले एउटा मात्र मतपत्र हुने भएकाले सजिलै भोट दिन्थ्यौं तर यसपाली ३÷४ किसिमको मतपत्र हुनाले के कसरी मत हाल्ने भनेर थाह नै छैन । हामी पुरुषहरु त जसो तसो मत दिन्छौं तर महिलाहरुमा अहिलेको मत प्रणालीले निक्कै द्विविधा ल्याएको छ । चुनावको बेला बुबा, हजुरबुबा भन्दै भोट माग्न आए पनि चुनावपछि कोही नेताको नाक मुख नदेखेको उनको अनुभवले यसपाली पनि खासै परिवर्तनको आशा रहेको छैन ।

सरकारले मत बदरको संख्या न्यून गर्न मतदाता शिक्षा कार्यक्रम लागू गरे पनि आफूहरुलाई अहिले सम्म कसैले मतदान कसरी गर्ने भनेर सिकाउन नआएको बताउँछन्– मेचीनगर–९ मागुरमाडी निवासी वृद्धा चिलो किसान । आफ्नो समुदायको विकासको लागि कुनै नेताले केही खास गरिदेला भन्ने आशा नभए पनि अहिलेसम्म उनले कुनै पनि चुनावमा मत हाल्न भने छुटाएका छैनन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा पहिलोपटक मतदान गर्न लागेकी २० वर्षीया कमली किसान पनि आफ्नो मतको सदुपयोग गर्ने बारे अनभिज्ञ छिन् । मतदान मंसीर ४ गते हो भन्ने सुनेकी कमलीले मतदान कसरी गर्ने थाह नभएको बताएकी छिन् ।

कक्षा १२मा अध्ययनरत् २१ वर्षीया मीना किसान पहिलोपटक प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा सहभागी हुँदैछिन् । तर, उहाँको विचारमा मिश्रित निर्वाचन प्रणालीले सर्वसाधारणमा द्विविधा सिर्जना गरेको छ । मीनाका अनुसार, किसान समुदायमा मतदाता शिक्षाको ठूलो आवश्यकता रहेको छ तर अहिलेसम्म मतदाता शिक्षा दिनको लागि आफ्नो घरमा कोही नआएको उनले बताइन् । सोही ठाउँ निवासी ६८ वर्षीया वृद्धा भिन्सी किसानलाई पनि दलका नेताकार्यकर्ता भोट माग्न आए तर उनलाई कसरी भोट दिने कसैले सिकाएनन् । भिन्सी जस्तै उनकी छोरी बिमला किसानले पनि धेरैपटक मतदान गरेकी छन् । तर, किसान समुदायको उत्थानको लागि केही पहलकदमी नभएको गुनासो छ । अनौपचारिक शिक्षा मात्रै हासिल गरेको बिमला किसान भन्छिन्– मतदाता शिक्षा नपाउँदा कहाँ कसरी छाप लगाउने र कसरी मतपत्र पट्याउने भन्ने कुराको द्विविधा भइरहेको छ ।

वास्तवमै अशिक्षा, गरिवी जस्ता समस्याले ग्रसित लोपोन्मुख किसान समुदायमा चेतानाको कमी छ । तसर्थ चुनाव नेताहरुको अभीष्ट पूरा गर्नको लागि मात्र नभएर सम्पूर्ण लोपोन्मुख किसान समुदायको हक हितको संरक्षणको निम्ति लाग्नुपर्छ भन्ने बुझाइ छ– मेचीनगर–९ निवासी किसान समुदायका अगुवा युवा भीम किसानको । उनका अनुसार अब लोपोन्मुख किसान समुदायलाई भोट बैंकको रुपमा मात्र प्रयोग नगरी किसान समुदायको समस्या समाधानको निमित्त स्वयम् किसानहरुको पनि उम्मेदवारी जरुरी छ, जसको सुनिश्चितता राजनीतिक दलहरुले गर्नुपर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here