‘नाइँ नभन्नु ल ६’को सुटिङ टिकटकमा

२६ कार्तिक २०७९, शनिबार मा प्रकाशित

अहिले झापाको विर्तामोडमा ‘नाइँ नभन्नु ल ६’को छायांकन भइरहेको छ । तर, छायांकन सेटबाट फिल्मको एक महत्वपूर्ण दृश्य टिकटकमा लिक भएको छ । सुटिङ हेरेका दर्शकले भिडियो क्लिपलाई टिकटकमा पोस्ट गरिदिएपछि निर्माता र निर्देशक तनावमा छन् । दृश्यलाई पुनः छायांकन गर्ने र कथावस्तुको गोपनीयता कसरी कायम राख्ने भन्ने पिरलो उब्जिएको छ ।

उक्त भिडियोमा डेब्यु अभिनेता आशिर्वाद बराल र अभिनेत्री आँचल शर्मा देखिएका छन् । गितार बोकेका आशिर्वाद र आँचल गफिंदै जेब्राक्रसिङबाट सडक पार गरेको देख्न सकिन्छ । आशिर्वादले सेतो छडी टेक्दै बाटो काटिरहेका छन् । लाग्छ उनी दृष्टिविहीनको चरित्रमा प्रस्तुत हुँदैछन् । भिडियोले फिल्मको चरित्रलाई लिएर दुई महत्वपूर्ण तथ्य बाहिर ल्याएको छ ।

आशिर्वादको पात्रलाई संगीतप्रति रुची छ । अर्कोतर्फ आँचल र आशिर्वाद सम्बन्धमा छन् । कम्तीमा फिल्मका यी दुई तथ्यलाई टिकटक भिडियोले पुष्टि गरेको छ । तर, आशिर्वादको चरित्र वास्तवमै दृष्टिविहीन हो या नायिकालाई फकाउन उनले त्यसो गरेका हुन्, यो अनुमानको कुरा हो ।

फिल्मका लेखक सामीप्यराज तिमल्सिनाले टिकटकका कारण आउटडोर छायांकनमा समस्या भएको बताए । यसअघि छक्कापञ्जा ४, छड्के २ जस्ता फिल्मले पनि टिकटककै कारण छायांकनमा समस्या खेप्नुपरेको थियो ।

फिल्मको छायांकनका लागि यतिबेला विर्तामोडमा भइरहेको छ । निर्देशक विकासराज आचार्यले भने– ‘मंसीरभित्र फिल्मको छायांकन सकिनेछ । त्यसपछि पोष्ट प्रोडक्सनको काम शुरु हुन्छ । पोष्ट प्रोडक्सन र प्रचारलाई चाहिने समय हेरेर नै बैशाख १ गतेबाट फिल्म प्रदर्शन गर्न लागेका हौं ।’ चाँडै प्रदर्शन मितिसहित पोष्टर सार्वजनिक गर्ने उनको तयारी छ । अबको १५ दिन पूर्वका विभिन्न ठाउँमा फिल्म छायांकन हुनेछ ।

बाल प्रेमकथामा निर्माण हुँदै आएको ‘नाईं नभन्नू ल’का अघिल्ला पाँचवटै श्रृंखला बक्सअफिसमा सफल छन् । छैठौं श्रृंखलाले पनि व्यवसायिक सफलता हासिल गर्नेमा दुईमत छैन । यो अवस्थामा ‘भगवत् गीता’लाई ‘नाईं नभन्नू ल ६’सँगको भिडन्त सहज हुने देखिन्न ।

आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपाने निर्माता रहेको ‘नाईं नभन्नू ल ६’मा आँचल शर्मा, आर्शिवाद क्षेत्री, योगिशा खत्री, अर्थव उप्रेतीलगायतको अभिनय छ । अर्थव, निखिल उप्रेती र सञ्चिता लुइँटेलका छोरा हुन् । उनले यही फिल्मबाट कलाकारको रुपमा डेब्यू गरेका हुन् । उनका कारण पनि यो फिल्म प्रतिक्षीत छ । फिल्ममा अनुभव रेग्मी केमियो भूमिकामा छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here