दायित्व बिर्सनु हुँदैन

0
317

 

पूर्वी नेपालको झापास्थित मेचीनगर नगरपालिकामा बसोबास गर्ने लोपोन्मुख जाति किसानले आसन्न निर्वाचनले कुनै उत्साह नदिएको बताएका छन् । निर्वाचनमा उम्मेदवार बन्नु, मतदान गर्नु नागरिकको कर्तव्य हो, तर राजनीतकि दल तथा नेताहरुको व्यवहारका कारण कतिपय नागरिकमा मतदानप्रति उत्साह, आशा र उम्मेदवारप्रति विश्वास नै नभएको उनीहरुको भनाइको आशय मान्नुपर्ने हुन्छ । अहिलेको समय भनेको खेतीकिसानी गर्नेका लागि वर्षभरिका लागि अन्नको जोहो गर्ने समय हो । त्यसकारण पनि बहुसंख्यक किसानमा निर्वाचनप्रति अपेक्षित उत्साह छैन । त्यसमाथि राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन आयोगले सामाजिक सञ्जाललाई नै शिक्षा प्रवाह गर्ने माध्यम बनाएको र निम्नवर्गीय जनताको अनभिज्ञता र पहुँचको कमीका कारण मतदाता शिक्षा पुगेको छैन ।

निर्वाचन आउन अब हप्ता दिन मात्र बाँकी छ । यो समय उम्मेदवारहरुका लागि ‘गर वा मर’को अवस्था हो । जसरी पनि चुनाव जित्ने दौडमा लागेका खासगरी ठूला दल र तिनका उम्मेदवारहरु घोषणापत्रभन्दा पनि स्थानीय आवश्यकता पूरा गर्ने आश्वासन बाँड्न व्यस्त छन् । विधेयक र कानून निर्माण गर्ने मूल दायित्व हुनुपर्ने विधायकहरुका उम्मेदवारहरु कसरी मतदाता आकर्षित हुन्छन् त्यही उपाय लगाएर जित्ने ध्याउन्नमा छन् । त्यसैले उम्मेदवारहरु किसानको ‘खेत खलिहान’मा भेटिनु अनौठो होइन, मतदातालाई ढोग्दै गरेको देखिनु पनि स्वाभाविक नै होला, तर कसरी मतदान गर्नुपर्छ भन्ने शिक्षा बहुसंख्यक मतदाताका अति आवश्यक छ भन्ने बिर्सनु हुँदैन । त्यही आवश्यकताको अनुभूत गरेन निर्वाचन आयोगले र सँगै दल तथा तिनका उम्मेवारहरुले ।

टेलिभिजन, सामाजिक सञ्जालहरुमा दिइने मतदाता शिक्षा आवश्यक वर्गसम्म पुग्छ–पुग्दैन कसैले हेक्का राखेको पाइँदैन । उम्मेदवारहरुलाई प्रतिष्पर्धीहरुको विरोध गर्दै ठिक्क छ । मेचीनगर–९ मागुरमाडीका किसान समुदायको अनुभव जस्तै धेरै किसानहरुको अनुभव हुनसक्छ । मेचीनगरका किसान समुदाय प्रतिनिधि पात्र मात्रै हुन्, उनीहरुका भावना साझा अनुभूति हुनसक्छ । अशिक्षा र गरिबीले जरा गाडेको नेपाली समाजलाई नेताहरुले उनीहरुलाई अभीष्ट पूरा गर्ने माध्यम मात्र नबनाउन् । हामीकहाँ लोपोन्मुख, सीमान्तकृत र पछि पारिएका वर्गहरुको समेत उल्लेख्य उपस्थिति रहेको छ, तिनको जीवनस्तर उठाउन राज्यले नै विशेष योजना र कार्यक्रम ल्याउनु पर्दछ । दल र नेताहरुले आश्वासन र आकर्षण बाँड्नुभन्दा पनि निम्न वर्गीय समुदायको संरक्षण तथा हकहित रक्षाको निम्ति लाग्नु पर्दछ । त्यसतर्फ समेत जिम्मेवार दल, नेता र राज्य सचेत होउन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here