भक्तपुर संग्रहालय अवलोकनमा चिनियाँ उपमन्त्री ली

0
198

चीन,

निर्वाचनको पूर्वसन्ध्यामा नेपाल भ्रमणमा रहेका चीनका संस्कृति तथा पर्यटन मन्त्रालयका उपमन्त्री ली चुनले सोमबार भक्तपुर पुगेर भक्तपुर संग्रहालय अवलोकन गरेका छन् । आइतबार बसन्तपुरस्थित नौतले दरबारको अवलोकन गरेका उपमन्त्री ली सोमबार बिहान संग्रहालय अवलोकन गर्न पुगेका हुन् ।

भक्तपुर संग्राहलयका प्रमुख मोहनसिंह लामाका अनुसार उपमन्त्री ली करिब १० बजे भक्तपुर दरबार क्षेत्रमा पुगेका थिए । ‘उहाँले करिब एक घण्टामा संग्रहालय, भक्तपुर दरबार स्क्वायर र त्यहाँको पाँचतले मन्दिर पनि अवलोकन गर्नु प¥यो,’ लामाले भने । २०७२ सालको भूकम्पमा भत्किएको सम्पदाहरुमा पुनर्निर्माणमा चीनले आर्थिक र प्राविधिक सहयोग गरेको थियो । त्यहि संरचना हेर्नका लागि उपमन्त्री ली आएका हुन् ।

चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका निर्देशकसमेत रहेका उपमन्त्री लीले आइतबार बसन्तपुर पुगेर दरबारको सबै तलाको अवलोकन गरेका थिए । साथै, उनले आइतबार बिहान छाउनीस्थित राष्ट्रिय संग्रहालयको पनि अवलोकन गरेका थिए । बसन्तपुरमै उपमन्त्री लीले पर्यटन सचिव सुरेशराज अधिकारीसँग भेटवार्ता गरेका थिए । त्यस अवसरमा उपमन्त्री लीले आफू नेपालमा सांस्कृतिक सम्पदा हेर्न आएको बताएका थिए । उक्त भेटवार्तामा सहभागी एक प्रतिनिधिका अनुसार सचिव अधिकारीले निर्वाचनका बेलामा भएको कारण अन्य बेलाको जस्तो स्वागत गर्न नपाएको बताएका थिए । साथै, सचिव अधिकारीले नेपाल र चीनबीचको सम्बन्ध बलियो रहेको उल्लेख गर्दै त्यसलाई अघि बढाउनु पर्ने बताएका थिए ।

उपमन्त्री ली भ्रमण दलका प्रतिनिधि र काठमाडौंस्थित चिनियाँ राजदूतावासका पदाधिकारीहरुसहित सोल्टी होटलबाट भक्तपुर पुगेका थिए । अनौपचारिक भ्रमणमा नेपालमा रहेका चिनियाँ उपमन्त्री लीलाई भक्तपुरमा संग्रहालयका प्रतिनिधिहरुले स्वागत गरे । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अक्टोबरमा २० औं महाधिवेशन पूरा भएर राष्ट्रपति सी चिनफिङलाई थप ५ वर्षको लागि नेतृत्व प्रदान गरेपछि बेइजिङबाट काठमाडौंमा पहिलो पटक भ्रमण भएको हो ।

नेपालमा निर्वाचन आइरेको र त्यसपछि मात्र बेइजिङबाट काठमाडौं आउनको लागि नेपालको परराष्ट्र मन्त्रालय र संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले चिनियाँ दूतावासलाई जानकारी दिएको थियो । तर चिनियाँ पक्षले उपमन्त्री लीको भ्रमण निजी मात्र हुने र सांस्कृतिक सम्पदाको निरीक्षणमा केन्द्रित हुने दाबी गरे । बसन्तपुरमै अमेरिकाले पनि भूकम्पपछिको पुननिर्माणमा सहयोग गरेको थियो । अमेरिकाले गद्दी बैंठकको अनुदान सहयोगमा बनिसकेको छ ।

काठमाडौंमा रहेका चिनियाँ उपमन्त्री लीले अन्य केही भेटवार्ता गरेको वा नगरेको भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन । उनको भ्रमणलाई लिएर परराष्ट्र मन्त्रालय, पर्यटन मन्त्रालय, चिनियाँ दूतावासलगायत कुनै पनि निकायले बाहिर जानकारी ल्याएका छैनन् । आफ्नो ५ दिने भ्रमण सकेर आज उपमन्त्री ली फर्कने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here