संसदीय यात्रामा तीन नयाँ पार्टीको उदय

0
210

बिर्तामोड ।

‘ब्यालेट’ बिद्रोहमार्फत नेतृत्व परिवर्तन चाहेका मतादाताको रोजाइले संसदीय यात्रामा तीन नयाँ पार्टीको उदय भएको छ ।

नयाँ पार्टीका नेताहरु जो संसद प्रवेश गर्दैछन्, उनीहरुको भूमिका रोचक र रचनात्मक हुने आंकलन छ । प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उदाएका छन् । समुदाय विशेषमा बिद्रोहको लीड गरेर र सञ्चारसँगै सामाजिक अभियानमार्फत स्थापित ती पार्टीले अब संसदमा निर्वाह गर्ने भूमिकाबाट नागरिकले उनीहरुको मूल्यांकन गर्नेछन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी

सञ्चारकर्मीको रूपमा उदाएका रवि लामिछानेले गत असारमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर त्यसको सभापति भएका हुन् ।

टेलिभिजन कार्यक्रममार्फत समस्यामा परेका मानिसहरूका लागि सहयोग जुटाउने र अन्यायमा परेकाहरूको पक्षमा राज्य संयन्त्र तथा जिम्मेवार निकायमाथि प्रश्न गर्ने उनको शैलीले लामिछाने चर्चित भए ।
केही समय अमेरिका बसेर फर्किएका लामिछानेले सबैभन्दा लामो समय टेलिभिजनमा अन्तरवार्ता गरेर विश्व रेकर्ड समेत राखेका छन् ।

चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका लामिछानेले त्यहीँबाट दुईपटक सांसद बनिसकेका एमालेका कृष्णभक्त पोखरेल र राज्यमन्त्री उमेश श्रेष्ठलाई पछि पारिरहेका छन् ।

जनमत पार्टी

सप्तरी क्षेत्र नं. २मा जनमत पार्टीका चन्द्रकान्त (सीके) राउत विजयी भएका छन् । राजनीतिमा उनको नाम नौलो होइन तर राउतले प्रतिस्पर्धा गरेको यो पहिलो संसदीय निर्वाचन हो । निर्वाचन आयोग नेपालले अद्यावधिक गरेको विवरण अनुसार हालसम्म उनले प्रतिद्वन्द्वी जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन् ।

मधेश अभियन्ता राउत अध्ययनको हिसाबले इञ्जिनियर हुन् । स्वतन्त्र मधेश राज्यको मागसहित आन्दोलन गर्दै आएकाले उनी लामो समय विवादमा रहे । उनलाई सन् २०१८को अन्त्यतिर राज्यविरुद्ध सङ्गठित अपराध गरेको अभियोगमा मुद्दा चलाइएको थियो ।

त्यसअघि पनि उनी बारम्बार पक्राउ हुँदै र छुट्दै आएका थिए । आफ्नो आत्मकथा समेत सार्वजनिक गरिसकेका उनी प्रतिनिधिसभाको लागि नयाँ व्यक्तित्व हुनेछन् ।

नागरिक उन्मुक्ति पार्टी

सञ्चारकर्मीको परिचय बनाएकी रञ्जिता श्रेष्ठका लागि राजनीतिक परिचय नयाँ हो । कैलाली क्षेत्र नम्बर १ बाट अघिल्लो प्रतिनिधिसभामा निर्वाचित भएका रेशम चौधरी टीकापुर घटनामा दोषी ठहर भएपछि जेल चलान भए ।

अहिले जेलबाटै चौधरीले गठन गरेको नागरिक उन्मुक्ति पार्टीबाट यो क्षेत्रमा रेशमकी श्रीमती रञ्जिता उम्मेदवार मात्र बनिनन्, आफ्ना सबै प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भइन् ।

एमालेका उपेन्द्रबहादुर रावल र पूर्व संविधानसभा सदस्य समेत रहिसकेका कांग्रेसका उम्मेदवार राम जनम चौधरीलाई उनले पराजित गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here