बिर्तामोड ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल आफू मन्त्री नबन्ने बताएका छन् । झापाको बिर्तामोडमा बुधवार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले मन्त्री बन्ने आफ्नो चाहना नभएको बताएका हुन् ।
अविर र माला सुक्न नपाउँदै खुट्टा उचालेर मन्त्री बन्न नजाने महामन्त्री शर्माले बताए । महामन्त्री शर्माले आफू निर्वाचित भएसँगै आम मतदातालाई धन्यवाद ज्ञापन गरेका छन् । उनले मतादाताको विवेकले सांसद छानेको, सांसदको विवेकले संसदीय नेता छान्ने र प्रधानमन्त्री चयन गरिने बताए ।
मन्त्री छान्ने प्रक्रिया सबै विधि र पद्धतिबाट हुन्छ –उनले भने । प्रत्येक तीन–तीन महिनामा आफू निर्वाचित भएको क्षेत्रमा आउने र विकास निर्माणको कामलाई अघि बढाउनेसमेत उनले बताए । संसद टिकाउनभन्दा पनि संसदलाई पाँच वर्षसम्म जीवन्त राख्न कांग्रेस लागीपर्ने र कांग्रेसको घोषणापत्रमै उल्लेख भए अनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दू पूर्वेलीको अध्यक्षतामा भएको कार्यक्रममा झापा क्षेत्र नं. १ को १ बाट निर्वाचित प्रदेश सांसद गोपाल तामाङ र ३ को १ बाट निर्वाचित प्रदेश सांसद भूमि राजवंशीलाई सम्मान गरिएको थियो । प्रेस युनियनकी स्वस्तिका आचार्यले स्वागत गरेको कार्यक्रमको सञ्चालन राजेन्द्र गौतमले गरेका थिए ।