झापा, मेचीनगर–६ निवासी मैयादेवी कार्कीको अहिले बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।
अर्धचेत अवस्थामा ४१ दिनअघि उनलाई बिर्तासिटी अस्पताल भर्ना गरिएको थियो । चिकित्सकहरुले उनको परीक्षण पश्चात टाउकोमा रगत जमेका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने बताए । तर, उमेरका कारण शल्यक्रिया गर्न त्यति सहज थिएन । उमेरले ७३ वर्ष पुगेकी मैयाको शल्यक्रिया गर्न कठिन थियो । तर, छोरा राजकुमारको आग्रह बमोजिम न्यूरो सर्जन डा. चन्द्रप्रकाश लिम्बू र डा. दिग्गज श्रेष्ठसहितको टिमले उनको शल्यक्रिया गर्न तयार भयो ।
उमेरका हिसावले पनि जोखिम समूहमा रहेकी मैयाको ब्रेनट्युमरको शल्यक्रिया भए पछि अहिले स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको डा. लिम्बूले बताए । ‘एक त बुढ्यौली, त्यसमाथि टाउकोमा रगत जमेका कारण तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था थियो’– छोरा राजकुमारले भने– हामीले जोखिम मोलेरै आमाको उपचारका लागि डाक्टरलाई अनुरोध ग¥यौं, हाम्रो अनुरोध अनुसार आमाको टाउकाको अप्रेशन भयो । अहिले आमाको स्वास्थ्यमा धेरै सुधार भएको छ । अहिले आमा हामीसँग पहिला झैं बोल्नसक्नुहुन्छ । माया मारिसकेकी आमा आज हामीसंग बोल्न सक्ने हुनुभएको छ’– राजकुमारले थपे– ‘हाम्रालागि यहाँ कार्यरत डाक्टर र नर्सहरु भगवान सरह नै भएका छन् ।’
शुरुमा अप्रेशनपछि आमाको धेरै दिनसम्म होस् नआउँदा हामी आत्तिएका पनि थियौं– कार्कीले भने – ‘यहाँका डाक्टरको विश्वास नलागेर आमाको रिपोर्ट लिएर म भारतको शिलगढीस्थित डा. शिद्धिराज शर्मासँग पनि परामर्श लिए गएँ । तर, डा. शर्माले आमाको रोग निको पार्न असम्भव भन्दै आमालाई घर फर्काउने सल्लाह दिएपछि बिर्तासिटीले गर्ने उपचार बाहेकको विकल्प मसँग थिएन ।’
बिर्तासिटी अस्पतालमा आमाको शल्यक्रियामा संलग्न डाक्टरको परामर्श अनुसार नै हामीले आमालाई राख्यौं र उपचारलाई निरन्तरता दियौं– राजकुमारले भने– २८ दिनका दिन आमा बोल्न सक्ने हुनुभयो, त्यो दिन हामी यति खुशी भयौं शव्दमा म व्यक्त गर्न सक्दिनँ । कोमामा पुग्नु भएकी मेरी आमालाई जीवन दिने डाक्टर सीपीको टिम अनि यो अस्पतालप्रति म सँधै ऋणी हुनेछु– राजकुमारले थपे ।
ब्रेनको नशा नै ब्लक् भएको रहेछ, योभन्दा क्रिटिकल अवस्था कस्तो हुन्छ ? उनले प्रतिप्रश्न गर्दै भने– त्यस्तो अवस्थामा पनि आमाको उपचार सफल भएको छ, हाम्रा लागि त्यो भन्दा खुशीको क्षण अरु के नै हुन सक्छ र ! मेचीनगरका कार्की उपचारपछि आमा निको हुँदा जति खुशी देखिएका थिए, त्यो भन्दा धेरै खुशी देखिए– सरल र शुलभ रुपमै आमाको उपचार नेपालमै गर्न पाएकोमा । उनी भन्दै थिए– यदि आमाको उपचार शिलगढीमा गरेको भए सम्पत्ति त सकिन्थ्यो नै आमालाई सकुशल घर फर्काउन सक्ने थिएँ कि थिइँन्– भावुक बन्दै उनले भने– नेपाल भनेको नेपाल नै हो । यहाँ सरसापट गरेर एकछिनपछि रकम डिपोजिट गर्छु है भन्न त पाइन्छ । तर, शिलगढीमा हाम्रो कुरा कसले सुन्ने ।
नेपालमा सञ्चालित अस्पतालले दिने सेवा प्रति खासै विश्वास थिएन मलाई – राजकुमारले भने – तर, मेरो सोचाइ गलत रहेछ, त्यो आज आफैंलाई पर्दा थाहा भयो । यहाँ पनि यतिका राम्रा डाक्टर र अस्पताल रहेछन् । डाक्टर शिद्धिराजले सक्दिनँ भनेको बिरामी आमालाई निको पार्न सफल बिर्तासिटी अस्पताल अस्पताल हैन मेरा लागि मन्दिर हो ।





























