संरक्षणको पर्खाइमा किसान

0
106

नेपालको विशेषतामध्ये एक हो कृषि प्रधानता । राष्ट्रिय आम्दानीको ठूलो हिस्सा कृषि वस्तुको उत्पादनमा निर्भर रहेका कारण धारण गरेको यो विशेषता क्रमशः विलय हुने क्रममा छ । अर्थात् बहुसंख्यक नेपालीले अपनाएको कृषि पेशा अहिले विकर्षणको वस्तु भएको छ । जसका कारण नेपालको उत्पादनशील तथा खेतीयोग्य जमिन बाँझिने क्रममा छ । धेरै श्रम गरेर थोरै उत्पादन हुने, सरकारबाट आवश्यक भौतिक, प्राविधिक एवम् आर्थिक साथ र सहयोग नपाइएका कारण कृषि पेशा अधिकांशको रोजाइमा पर्न छाडेको हो । एक त सिँचाइको प्रबन्ध छैन, त्यसमाथि समयमा उन्नत जातको बीऊ–बिजन, मल–खाद तथा किटनाशक औषधिदेखि आधुनिक यन्त्र–उपकरणको जहिल्यै अभाव छ । जसोतसो किसानले बजारसम्म पु¥याएको उत्पादनले लागत मूल्य नै पाउँदैनन् । यस्तो अवस्थाले बढेको विकर्षणले वैदेशिक रोजगारीलाई मलजल गरिरहेको छ भने लाखौं युवा जनशक्ति देशबाटै पलायन भइरहेका छन् ।

सरकारले प्रत्येक वर्ष किसान लक्षित योजना तथा कार्यक्रम बनाउँछ । तर, त्यसको प्रभाव ग्रामीण क्षेत्रका किसानसम्म पुग्दैन । सरकारद्वारा वितरीत सहयोग, अनुदान वा राहत वास्तविक किसानसम्म पुग्नै भ्याउँदैन । अझ संघीय ढाँचामा रुपान्तरित शासन प्रणाली अनुसार स्थानीय तहबाटै कृषि लगायत पूर्वाधारहरुको निर्माण, विकास तथा स्तरोन्नतिका काम हुने भएपछि वास्तविक तथा लक्षित वर्ग झनै सुविधा र सेवा पाउनबाट वञ्चित छन् । केन्द्रको अधिकार स्थानीय तहलाई दिने नीति अनुसार अख्तियारी हस्तान्तरण भएपछि शिक्षाको गुणस्तर ओरालो लागेको उच्चस्तरीय आयोगले प्रतिवेदनमै उल्लेख गरेको छ । यस्ता धेरै अव्यवस्थाका बीच बहुसंख्यक नेपालीको आम्दानीको एकमात्र स्रोतका रुपमा रहेको कृषि कर्मलाई आधुनिकता, अनुदान तथा बजारीकरणमा विशेष योजना, निष्पक्ष कार्यक्रम र सरल तथा पारदर्शी नीतिका साथ अघि बढाइएन भने रहेको यही विशिष्टता पनि कुनै दिन ‘एका देशको कथा’ हुनसक्छ ।

किसान संघर्षशील प्राणी हो । प्रत्येक असफलता र प्रतिकूलताका बीचमा सफलता र अनुकूलताको खोजी गर्ने पेशाकर्मी हुन् किसान । त्यहीकारण ढुंगाको कापमा, मरुभूमिको बालुवामा सृजना खोज्दैछन् झापाली किसानहरु । यहाँ भएर बग्ने कन्काई नदीको किनारमा खरबुजा खेती गर्ने किसानले कठिन संघर्षको बलमा जीवन चलाइरहेका छन् । गर्मीको फल भनिने खरबुजा किसानको एउटै गुनासो छ– सरकारले सहयोग गरेन । बर्षात्को समय सकिएपछि बगरमै मलखादसहित रोपिने खरबुजा खेती बेमौसमी वर्षा र बाढीले शून्यमा पु¥याउँछ, तैपनि ‘होला कि ले बुलाकी–बुलाकीले नाक खायो’को अवस्थामा भए पनि कतिपय किसान यसतर्फ आकर्षित भएका छन् । असिनाबाट समेत जोगाउनु पर्ने तर नगदेबाली सरहको यसको खेतीलाई सरकारका तर्फबाट राहत, सहुलियत र सुविधा दिने हो भने खेर गइरहेको जमिनको पनि सदुपयोग हुन सक्ने थियो । कन्काई बाहेकका रतुवा, मावा, विरीङ र मेचीले बगर बनाएका हजारौं विगाह जमिनलाई पनि हरियाली भूमिमा परिणत गर्न सकिने थियो । यसले किसानको जीवनस्तर पनि उठाउने र राष्ट्रिय आम्दानीमा समेत टेवा पुग्ने थियो । यसतर्फ तीनै तहका सरकारको ध्यान जान जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here