माओत्सेतुङको देवत्वकरण र नेपालका कम्युनिष्टहरू

0
195


आज सन् २०२२ को २६ डिसेम्बर, माओको १३०औं जन्मजयन्ती । विश्वभरका माओका अनुयायीहरू आजको दिनलाई धुमधामका साथ मनाइरहेका छन् । यस दिन सिंगो मानव जगत् परिवर्तनका लागि माओका योगदानको चर्चाका साथै माओलाई एक विलक्षण क्रान्तिकारी प्रतिभाको रूपमा स्मरण गरिन्छ । माक्र्सवादका सच्चा अनुयायीका रूपमा माओलाई लिने र उनले अघि सारेका विचारलाई सिद्धान्तको रूपमा मानेर माओ विचारधारा वा माओवादको रूपमा बुझ्नेको पनि संसारभरमा ठूलो संख्या छ । मानिसले मानिसमाथि गर्ने सबैखाले अन्याय र उत्पीडनको अन्त्यका लागि माओले पु¥याएका योगदानलाई विश्वभरका श्रमजीवी तथा मजदुरहरूले यस दिनमा स्मरण, मनन् र प्रयोगमा लैजाने प्रण पनि गर्दछन् । माओलाई एक सच्चा माक्र्सवादी विचारक, एक दार्शनिक, राजनीतिक तथा क्रान्तिकारी सिद्धान्तकारका रूपमा संसारले स्मरण गर्ने गर्दछ ।
वास्तवमा माओको जन्मजयन्ती मनाउनु भनेको उनको विचारको रक्षा र विकासको कुरा पनि हो । त्यो मूलतः सर्वहारावर्गीय विचार हो । माक्र्सवादका तीन संघटक अङ्ग हुन्– वैज्ञानिक समाजवाद, राजनीतिक अर्थशास्त्र र द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादी दर्शन । यी तीन वटै अङ्ग एकअर्कासँग घनिष्ठ रूपले गाँसिएका छन् । माक्र्स, एङ्गेल्स र लेनिनपछि माओले द्वन्द्वात्मक भौतिकवादमा अन्तरविरोधको नियम, एकको दुईमा विभाजन, विश्लेषण र संश्लेषण, चिन्तन र सत्ताको एकरूपता, पदार्थ र चेतनाको एकअर्कोमा रूपान्तरणजस्ता विषयमा थप विकास गरे । दर्शन सम्बन्धी दृष्टिकोण प्रष्ट पार्दै माओले भनेका छन्– ‘व्यवहारबाट अलग भई ज्ञानमीमांसाबारे बहस गर्नु व्यर्थैमा समय गुमाउनु हो ।’ माओले माक्र्सवादी दर्शनको सर्वहारा वर्गीय पक्षधरता हुने भएकाले यसको व्यवहारिक प्रयोग गर्दै दर्शनलाई जनतामा पु¥याउनुपर्नेमा जोड दिन्छन् ।
माक्र्सवादी शिक्षालाई सानो कोठाबाट व्यापक जनसमुदायमा लैजान सकेमात्र यसले सफलता प्राप्त हुने माओको विचार छ । द्वन्द्वात्मक भौतिकवादी नियम प्रकृति, मानवसमाज र मानवचिन्तनमा सार्वभौम रूपले लागू हुन्छ । अन्तरविरोधहरूमा रहेका विपरीतहरू सँगसँगै एकरूपता र संघर्ष कायम गर्दै जान्छन् र यसरी नै वस्तुहरूलाई गतिशील र परिवर्तनशील तुल्याउँदै अघि बढाउँछन् । इतिहासको चालक शक्ति वर्गसङ्घर्ष र इतिहासका निर्माता जनसमुदाय हो भन्ने मान्यतालाई आत्मसात गरेर माओले इतिहासको अध्ययनमा भौतिकवादी द्वन्द्ववादको प्रयोग गर्न सुझाएका छन् । उनी भन्छन्– ‘माक्र्सवाद लागू गर, संशोधनवाद होइन, एकजुट होऊ, नफुट, स्पष्ट र खुला बन, षडयन्त्र र छलछाम नगर । विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही या गलत हुनुले सबैथोकको निर्धारण गर्छ ।’ विचारधारात्मक, विश्व दृष्टिकोण तथा राजनीतिक कार्यदिशाको बारम्बार चर्चा गर्नुपर्ने र ती कुरा विशाल क्रान्तिकारी जनसमुदायलाई पनि अवगत गराउनुपर्ने माओको जोड छ ।
सन् १९१८ मा आफूसमेत संस्थापक भई स्थापित चिनियाँ कम्युनिष्ट पार्टी (चीकपा)को तागतमा सन् १९४९ अक्टुबर १ मा नयाँ जनवादी राज्यव्यवस्था स्थापनाको घोषणा गर्दै माओले क्रान्ति सम्पन्न नभएको क्रान्तिको प्रारम्भ भएको बताएका थिए । हुन त संसारले सन् १९४९ मा चीनमा क्रान्ति भएको मान्छ, तर वास्तवमा त्यो राजनीतिक क्रान्तिको एक तर मुख्य काम थियो । उनले भ्रष्टाचार, फजुल खर्ची र नोकरशाही ढिलासुस्तीका बिरुद्धमा लाग्ने र घुसखोरी, कर भुक्तानीमा धोखाबाजी, राज्यसम्पत्तिको चोरी, सरकारी ठेक्कामा छलकपट, राज्यको सूचनाको चोरी जस्ता अपराधलाई कडाइका साथ नियन्त्रण गरिने बताएका थिए । उनले उत्पादन बढाउने काम जनताको मात्र नभएर पार्टी कार्यकर्ता र सेनाको पनि भएकोमा जोड दिएका थिए ।
सन् १९६६ देखि १९७६ सम्म महान सर्वहारा सांस्कृतिक क्रान्ति सम्पन्न भयो, जसले समाजवाद निर्माणको दिशामा चीनलाई दृढतापूर्वक डो¥यायो । माओले पटकपटक पार्टीभित्र र बाहिर निम्न पूँजीवादी चिन्तन, अनुभववाद, ढुलमुले दक्षिणपन्थी मध्यपन्थी प्रवृत्ति, मनोगतवाद, संकीर्णतावाद, तीव्र वा शीघ्र विजय वा परिवर्तनको आशा, क्रान्तिकारी लफ्फाजी, क्षेत्रवाद, आत्मकेन्द्रित व्यक्तिवाद, नोकरशाही कुलीनवाद जस्ता सबै गैरक्रान्तिकारी प्रवृत्तिबिरुद्धमा निर्मम संघर्ष गरेका थिए र माओले आजको चीनको आधुनिकीकरणको जग बसाएका थिए । चीनले माओको पहलमा राजनीतिक र आर्थिक सुधारको श्रृंखला आरम्भ ग¥यो र आज चीन विश्वको शक्तिशाली मुलुकको रूपमा स्थापित भएको छ ।
हाम्रो देशमा पूँजीवाद र माक्र्सवादलाई, क्रान्ति र प्रतिक्रान्तिलाई एउटै देख्ने सारसङ्ग्रहवादी र खिचडीवादी सोचको प्राधान्य छ र माक्र्सवादी आन्दोलन जडमतिवाद र विसर्जनवादमा फँस्दै गएको छ । जनविरोधी कुरालाई पवित्रीकरण गर्ने र झुटलाई सत्य सावित गर्न कुतर्कवादको सहारा लिने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनमा झाग्गिँदो छ । आफ्नो कार्यदिशाको पुष्टि गर्न तथ्यलाई तोडमरोड गर्ने, सत्यलाई झुट र झुटलाई सत्य बनाउने, मानिसलाई भ्रमित तुल्याउने र यथार्थलाई उल्टो रूपमा प्रस्तुत गर्ने महारोगबाट नेपालका कम्युनिष्टहरू आक्रान्त छन् ।
माक्र्सवादको खास्टो ओडेर माक्र्सवादको चीरहरण गर्ने र राज्यसत्ताको कुर्सी प्राप्तिका लागि नयाँ–नयाँ सिद्धान्तको आविष्कार गर्ने, क्रान्तिप्रति विश्वासघात गर्ने र जनताबिरुद्धमा मध्ययुगीन निरङ्कुशता लाद्ने घोर सामन्ती प्रवृत्ति कम्युनिष्ट नेतामा हुनु सबैभन्दा दुःखद् कुरा हो । कुनै पनि कुरालाई जाँच्ने कसी व्यवहार नै हो, कुतर्क र वितण्डाले केही समय भ्रम छर्न त सकिएला, तर क्रान्ति हुँदैन । माओवाद वा माओविचारधारा जे भने पनि माओको नाम भजाएर, माओको नामको फड्के थापेर सारमा जनविरोधी काम गर्ने, आफ्ना महत्त्वाकांक्षा पुरा गर्ने, अकूत सम्पत्ति आर्जन गर्ने र घुमाउरो रूपमा संशोधनवाद कै सेवा गर्ने नेपालका आफूलाई माओपन्थी दावी गर्ने कम्युनिष्टको व्यवहार देखिन्छ । माओका चिन्तन वैज्ञानिक थिए, तर तिनीहरूबाट शिक्षा लिनुको सट्टा सोही चिन्तन माथि भीषण हमला गर्ने सोच घातक छ ।
समाजवादी राजनीतिक ढाँचामा लोकतन्त्रको आयामहरू थपेर जनताको सुख र स्वतन्त्रतालाई सँगसँगै लैजाने नितान्त नवीन चिन्तन र प्रयोगको बाटोबाट अघि बढिरहेको चीनबाट आर्थिक, भौतिक, वैचारिक क्षेत्रमा हुन सक्ने सहयोग लिन आवश्यक छ र नेपाललाई भू–परिवेष्ठित मुलुकको रूपमा रहेको भन्दै निराशासहितको कुण्ठाबाट मुक्त गर्न जरुरी छ । माओले माक्र्सको वर्गसंघर्षको सिद्धान्तलाई चिनियाँ देश, काल र परिस्थितिमा सफलतापूर्वक प्रयोग गरे । प्रयोगका क्रममा माक्र्सवादी विचार सिद्धान्तलाई थप अर्को नयाँ उचाइमा विकसित गरे । तर, माओलाई देवताको स्थानमा राख्ने, पुज्ने र उनको भक्त बन्ने जडसूत्रवादी सोच पनि हाम्रो देशमा छ ।
वास्तवमा माओका सोच, विचार, सिद्धान्त र माक्र्सवादलाई चिनियाँ माटोमा प्रयोग गर्ने क्रममा प्राप्त भएका अनुभवहरूलाई पाठका रूपमा लिनुपर्नेमा धर्मशास्त्रका ऋचा वा मन्त्रका रूपमा मान्ने कुरा विज्ञान विरोधी हो । निकटतम छिमेकी भएर नेपालले आफ्नो प्रगतिका लागि चीन र विशेषगरी माओबाट केही न केही सिक्न आवश्यक छ । सिक्नु भनेको अन्धानुकरण होइन, सृजनशीलतासहितको आफ्नो परिवेश अनुसारको हुनु आवश्यक छ । चीन कल्पनातीत मात्रामा आफ्नो सारा क्षमताका साथ अभूतपूर्व सफलतासहित अगाडि बढिरहेको अवस्था छ । यी सबै कामहरू कसरी सम्भव भए भनेर आज हामी नेपालीले सकारात्मक भावका साथ चिन्तन मनन गर्नु जरुरी छ ।
नेपाल पनि विश्वपरिवेश अनुरूप नयाँ–नयाँ योजनाका साथ अघि बढ्नु जरुरी छ । कम्युनिष्ट वा गैरकम्युनिष्टको मूल कुरा होइन, मूल कुरा के हो भने जनता नै इतिहासका निर्माता हुन् भन्ने भावलाई आत्मसात गर्दै मुक्ति, न्याय र समानताको अभिप्रेरणा प्रदान गर्ने चीन अहिले संसारका साम्यवादी र गैरसाम्यवादी सबै मुलुकका लागि भरोसायोग्य सहयोगी राष्टूको रूपमा उभिन सफल भएको यथार्थलाई आत्मसात गर्न आवश्यक छ । माओले क्रान्ति र प्रतिक्रान्तिका समस्यालाई ठीकसँग बुझ्न र तिनको सही हल गर्न समर्थ बन्नुपर्नेमा जोड दिएका छन् । उनले सबैखाले प्रतिक्रियावाद र संशोधनवादका बिरुद्ध भीषण सङ्घर्ष गर्दै क्रान्तिको लामो यात्रा प्रवाहमा निरन्तर अघि बढ्न प्रेरणा दिएका छन् । विश्रृंखलित नभई गुणात्मक परिवर्तनका लागि निराशा, अकर्मण्यता र पलायन होइन, क्रान्तिकारी आशावादको दिशा देखाएका छन् माओले ।
माक्र्सवाद समस्याको दर्शन होइन, यो समाधान र मुक्तिको दर्शन भएको मान्यतालाई स्थापित गर्न सफल भएका छन् माओ । माओका सार्वभौम शिक्षाबाट सिक्न र क्रान्तिका सिद्धान्त निर्माणका लागि सन्दर्भका रूपमा लिन जरुरी छ । माओलाई देवत्वकरण गरेर भगवानका रूपमा भक्ति गर्नुभन्दा उनका असल मान्यतालाई आत्मसात गर्ने, उनलाई पनि जीवनमा सही र गलत दुवै भएका मानिसका रूपमा बुझ्न आवश्यक छ । हाम्रो देशका विद्यमान अन्तरविरोधहरूलाई बुझ्न र तिनका वास्तविक एवम् वैज्ञानिक समाधानका लागि माओका शिक्षालाई ग्रहण गर्न आवश्यक छ । माओको देवत्वकरण गरी भजनकीर्तन गर्दै भक्त उत्पादन गर्ने होइन, सही अर्थमा उनका शिक्षालाई नेपालमा सापेक्ष रूपमा लागू गर्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here