कोभिड–१९ को जोखिम न्यूनीकरण अन्तक्र्रिया

0
114

टङ्कीसिनवारी,

सरोकारवाला संस्थाबीच सहकार्य, समन्वय र सहजीकरण नै कोभिड–१९ रोकथाम तथा नियन्त्रणको अचुक अस्त्र भएको आज विराटनगरमा आयोजना गरिएको एक अन्तक्र्रियामा निष्कर्ष निकालिएको छ ।

कोभिड–१९ लगायत महामारीजन्य रोगको रोकथाम, नियन्त्रण तथा निगरानीका लागि सरोकारवालासँगको अन्तक्रिया कार्यक्रममा विश्वमा कोरोनाले आक्रान्त पार्न थालेको र यसको चपेटामा परेर मृत्युदर पनि तीव्र गतिले बढिरहेको भन्दै स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्नेमा जोड दिइएको थियो ।

विराटनगर महानगरपालिकाले आयोजना गरेको अन्तक्रियामा सङ्घीय र प्रदेश सरकार, स्थानीय तह, निजी संस्था, सञ्चारकर्मी, सुरक्षाकर्मी, चिकित्सक, अस्पताल, मेडिकल कलेज, निजी अस्पताललगायत विभिन्न निकायको कोरोना रोकथामका लागि जिम्मेवारीपूर्ण भूमिका हुने प्रष्ट पारिएको थियो ।

कार्यक्रममा महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले कोभिड–१९ को पहिलो र दोस्रो लहरमा देखिएका कमिकमजोरीलाई सच्याएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले खोप र स्वास्थ्यमापदण्डको अनिवार्य पालनाले जोखिम कम हुने बताउनुभयो ।

महानगरका वडाध्यक्षका तर्फबाट वडा नं १३ का वडाध्यक्ष सूर्यलाल यादवले विराटनगरका आँखा अस्पतालमा नेपालबाट मात्र नभइ भारतबाट बिरामी उपचारका लागि आउने भएकाले त्यस्तो ठाउँमा खोपदेखि कोरोना परीक्षण सञ्चालन गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रशासन कार्यालय मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदराज पोखरेलले कोभिड–१९ रोकथामका लागि पूर्व तयारी आवश्यक रहेको बताउनुभयो ।

उहाँले आइसोलेसन सेन्टर र होल्डिङ सेन्टरलाई तयारी अवस्थामा राख्न जरूरी रहेको बताउनुभयो । उहाँले स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मीसम्मले कोभिड–१९ को जस्तोसुकै स्थिति आए पनि त्यसको निराकरणका लागि तयारी अवस्थामा बस्नुपर्नेमा जोड दिनुभयो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले कोभिड–१९ का कारण जस्तोसुकै विषम स्थिति आए पनि महानगर सामना गर्न तयार रहेको बताउनुभयो । उहाँले कोभिड–१९ विरूद्ध लड्न स्रोतसाधन जुटाउने काम गरेको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत कोइरालाले नगरक्षेत्रभित्र स्वास्थ्यको अवस्था के छ, हेल्प डेस्कको अवस्था के छ भनेर बुझ्ने काम भइरहेको जानकारी गराउनुभयो ।

महानगरको सामाजिक समितिका सभापति एवं वडा नं १ का वडाध्यक्ष काजीबहादुर बस्नेतले नयाँ भेरियन्टको नाम सुन्नासाथ महानगरपालिकाका जहाँ जहाँ स्वास्थ्य संस्था र हेल्प डेस्क छन् सो ठाउँको अनुगमन गरेर स्वास्थ्य सामग्री तथा स्वास्थ्यकमीका बारेमा जानकारी लिइएको बताउनुभयो ।

महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कुनै न कुनै रूपमा कोरोना निरन्तर आइरहने भएकाले खोपका माध्यमबाट नै रोकथाम गर्न सकिने बताउनुभयो । उहाँले खोप नलगाएकालाई खोप लगाउने गरी सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।

रानी भन्सारमा रहेको हेल्प डेस्कको फितलो व्यवस्थापन, भारतबाट नेपाल भित्रिने सवारीसाधनका सवार व्यक्तिको एन्टिजेन वा पीसीआर परीक्षण हुन नसक्नु मुख्य चुनौतीको रूपमा रहेको छ । सीमामा पाँच सय शय्या क्षमता भएको होल्डिङ सेन्टरको स्थापना आवश्यक रहेकोमा जोड दिइएको छ ।

कोभिड–१९ को पहिलो र दोस्रो लहरमा विराटनगरका निजी स्वास्थ्य संस्थाले मनोमानी शुल्क असूलेको भन्दै सरोकारवाला निकायले नियमित अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ । अस्पतालमा अक्सिजन र औषधिको अभाव हुन नदिन तथा आपूर्ति चक्रलाई नियमित, चुस्त र चलायमान बनाउन सरोकारवालाबीच सहमति बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here