सडक बिस्तारलाई तीव्रता देऊ

0
167

निर्माण सम्पन्न भएको डेढ वर्षपछि नेपालको पूर्वी सीमालाई भारतसँग जोड्ने मेची नदीमाथिको पुल विधिवत् सञ्चालनमा आएको छ । एसिया उपक्षेत्रीय आर्थिक–सडक सञ्जाल परियोजना अन्तर्गत एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण सम्पन्न भएको सो पुलको उद्घाटन आइतबार दुबैतर्फका अधिकारीहरुले अलग–अलग तर एकसाथ गरेका हुन् । नेपालको काँकरभिट्टाबाट भारत पश्चिमबंगालको पानीट्यांकी नाकालाई जोड्ने सो पुललाई ‘मितेरी पुल’ भनिएको छ । पाँच सय पचहत्तर मिटर लामो पुल छ लेनको रहेको छ । पुल भारतीय एक अर्ब साठी करोड रुपैयाँको ऋण सहयोगमा भारतले निर्माण गरेको हो । पुलको उद्घाटन भएपछि महेन्द्र–राजमार्गले जोडेको पुरानो मेची पुलको भार कम भएको छ । पुरानो पुलबाट अब (दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारी) साइकल, मोटरसाइकल, टेम्पो र रिक्सामात्र सञ्चालन हुने छन् ।

नयाँ फराकिलो र एसियाली सडक सञ्जालको मापदण्ड अनुसार निर्मित सो पुलको सञ्चालनले घण्टौं जाम हुने समस्याको हल भएको छ । दिनहुँ जतिसुकै बेला ट्राफिक जाम हुँदा पुल भएर आवत–जावत गर्ने पैदलयात्रीदेखि सबैखाले सवारीसाधनका चालकहरुले समेत सास्ती भोग्दै आएका थिए । पुलको सञ्चालनले त्यस क्षेत्र र दुई देशका बीचको आर्थिक गतिविधि समेत चलायमान हुने अपेक्षा गरिएको छ । पुल निर्माण सम्पन्न भएर दुई पक्षीय अधिकारीहरुको पटक–पटकको बैठकपछि उक्त पुल सञ्चालन गर्ने सहमति भएको थियो । चौडा पुल सञ्चालनमा आएपछि नेपालबाट भारततर्फ जानुपर्ने आपतकालीन सेवाका साधनहरु आवागमनमा सहज भएको सम्बद्ध अधिकारीहरुले बताएका छन् । निक्कै पुरानो र सीमाना जोडिएको नेपाल र भारतको गहिरो सम्बन्धका प्रतीकका रुपमा ‘मितेरी’ नामकरण गरिएको पुलको सञ्चालनले नेपालको आर्थिक क्षेत्र पनि चलायमान हुने विश्वास छ ।

त्यसो त पुलको निर्माणले मात्रै देशको अर्थतन्त्रमा सुधार आउन सक्दैन । त्यसका लागि पुल अनुसारकै सडक सञ्जाल पनि निर्माण गरिनुपर्दछ । त्यसैले अबको आवश्यकता भनेको पुल क्षेत्रबाट विद्यमान पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई पुलकै मापदण्डका आधारमा विस्तार एवम् सुधार गरिनु पर्दछ । महाकालीलाई मेचीसँग जोड्ने तत्कालीन राजा महेन्द्रको दूरदर्शी योजना र उपलब्धीका रुपमा रहेको नेपाल र नेपालीको भाग्यरेखा भनिएको राजमार्ग अहिलेको जनसंख्या र सवारी चापको तुलनामा साँघुरो छ । त्यहीकारण एसियाली देशहरुलाई सडक सञ्जालले जोड्ने उद्देश्यले निर्माण थालिएको मुख्य सडकलाई क्रमशः र दू्रतगतिमा निर्माण सम्पन्न गरी सञ्चालनको अवस्थामा ल्याउन जरुरी छ । त्यसले मात्र हाम्रा उत्पादनहरु भारत लगायतका देशहरुमा लान–ल्याउन सुविधा हुने मात्र होइन चलायमान अर्थ व्यवस्थाका कारण राष्ट्रको आर्थिक विकासमा समेत महत्वपूर्ण योग पुग्नसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here