सभापति देउवाकै कारण कांग्रेस कार्यकर्ता निराश हुन पुगेः सांसद खतिवडा

0
198

अर्जुनधारा , नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीका सभापतिकै कमजोरीपनका कारण कार्यकर्ता निराश हुनुपरेको बताएका छन् ।

व्यक्तिगत भ्रमणमा पूर्व आएका बेला नेपाली कांग्रेस अर्जुनधारा नगर पार्टी कार्यालयले आयोजना गरेको कार्यक्रममा ०७९ को आम निर्वाचनमा पार्टीले सबैभन्दा बढी मत ल्याए पनि सभापति शेरबहादुर देउवाको गलत निर्णयका कारण गठबन्धन बिग्रिएको बताए ।

ओखलढुंगाबाट निर्वाचित सांसद खतिवडाले उम्मेद्वार छनौट गर्ने समयमा पार्टीभित्र नेता त्यसपछि नाता, दाता र भ्राता हुँदै टिकट बाँडिएपछि त्यहीबाट असन्तुष्टि पैदा भई कांग्रेसले धेरै ठाउँ पराजय भोग्नुपरेको तीतो यथार्थ बताए ।

‘म पनि देउवा लवीभित्रैबाट प्राप्त टिकटले विजय भएको हुँ’ उनले भने, ‘तर, यस्तो अवस्थामा सभापति देउवाको जय गाउनुभन्दा कार्यकर्तामाझ गल्ति भएका कुराहरु खुलेरै भन्न पछि पर्दिन ।’

सोमबार कार्यकर्तामाझ पार्टी नगर सभाहलमा सांसद खतिवडाले गठबन्धनलाई मजबुद बनाउँदै सरकार निर्माण गर्नुपर्ने बेलामा कांग्रेसभित्र गट र उपगुटको भेला हुन थाल्यो, मन्त्री को बन्ने ? कसका गुटबाट कति हुने ? हुनेवालाहरु पनि सभापति देउवालाई सल्लाह दिनुको साटो दौरासुरुवाल सिलाउनेमा सांसदहरु पुगेको हुँदा यस्तो दुर्घटना हुन पुगेको ठोकुवा गरे ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका खतिवडाले पार्टी अझै सुध्रिन बाँकी रहेको प्रशस्त कारणहरु छन् । अझै पनि भातृ संगठनका पदाधिकारीहरुलाई गोजीबाट पद दिने चलन चलेको हुँदा नेवि संघ जस्तो सक्रिय संगठन अगाडि बढ्न नसकेको उदाहरण दिँदै समानुपातिकदेखि वडाध्यक्षसम्म पार्टीले पैसा मागेर पद बेचेको कारण कार्यकर्ताहरु अझै पीडित भएको यथार्थ राख्दै केन्द्रीय समितिको बैठकमा यसको छानविन र सुदृढिकरणका विषयमा आवाज उठाउने आश्वासन दिए ।

स्थानीय तह पार्टीले जित्दै गर्दा केन्दीयदेखि प्रदेश सरकारसम्ममा पार्टी सहभागि नहुँदा विजयी स्थानीय तहका जनप्रतिनिधिहरुलाई काम गर्न कठिन भएको बताउँदै आलोचना र समिक्षासँगै देश दौडाहमा पार्टीका शीर्षस्त नेताहरु लाग्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

उनले सुकुम्बासी समस्या राष्ट्रको समस्या भएको कारण सुकुम्बासीसँग पैसा लिएर धनीपूर्जा दिने आश्वासन गलत भएको हुँदा सदनमा यसको जोडदार आवाज उठाउने समेत बताए ।

उनले कम्युनिष्टहरुको आलोचना गर्दै अन्तर्राष्ट्रिय स्तरबाट कम्युनिष्टको सत्ता अन्त्य हुँदै जाँदा हाम्रै गल्तीका कारण त्यो बेला दुईतिहाइ बहुमत ल्याएको हो । पछिल्लो पटक कम्युनिष्ट टुक्रिए पनि सत्ता सम्हाल्न पुग्नु गट उपगुटकै फाइदा लिएको बताए ।

पार्टी नगर उपसभापति चतुर्भुज काफ्लेको सभापतित्वमा भएको कार्यक्रममा पार्टी झापा जिल्ला सचिव कृष्ण हुमागाई, बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाई, वडा नं. ३ का वडाध्यक्ष सीताराम भट्टराई, जीवन भण्डारी, शनिश्चरे बहुमुखी क्याम्पसका सहायक प्रमुख कृष्ण थापा, अधिवक्ता कृष्ण पौडेल, पम्फा विक, रञ्जीता कार्की, विशाल थापा लगायतले स्थानीय तहका समस्याका विषयमा नेतालाई जानकारी गराएका थिए ।

कार्यवाहक सभापति प्रशान्त भण्डारीले स्वागत गरेको कार्यक्रममा अर्जुनधारा क्षेत्रका सचेत कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here