दीनबन्धुले बनाइदिने भए १२ घर

0
142

पार्थ मण्डल,
झापा ।

भद्रपुर नगरपालिका–६ भतियावारी निवासी नारायण राजवंशी पेशाले मजदुर हुन् । दुई छोरीको विवाह पश्चात् नारायणको सम्पत्तिको नाममा १० धुर जमिन मात्र छ । टिनको छाप्रोमा जसोतसो गुजारा चलाउँदै आएका राजवंशी दम्पत्तिलाई समाजसेवी तथा उद्योगी दीनबन्धु गोयलले नयाँ पक्की घर बनाइ दिन लागेपछि उनी दङ्ग परेका छन् ।

‘दैनिक ज्यालादारीमा काम गर्छु, त्यही कमाइको पैसाले पक्की घर बनाउने सामथ्र्य मसँग थिएन’– नारायणले भने– ‘व्यक्तिबाट घर पाउन लाग्दा अत्यन्तै खुशी छु, दाता दीनबन्धुज्यूलाई ह्दयदेखि धन्यवाद दिन चाहन्छु ।’ नयाँ घर पाउने भएपछि राजो माझीका परिवार पनि हर्षित छन् । राजोका परिवारमा छोराबुहारी, दुई नातिनातिना छन् ।

राजोका छोरा बिसन गाडी चालक हुन् । डेढ कठ्ठा जमिनमा टिन र टाँटीको बेराले घर बनाएर बस्दै आएको माझी परिवारको पक्की घर बनाएर बस्ने सपना चाहिँ थियो । ‘त्यो सपना बल्ल पूरा हुँदैछ’– बिसनले भने– ‘गाडी कुदाएर परिवार पाल्नै समस्या छ, पैसा जुटाएर घर बनाउने सपना थियो, त्यो सपना दाताले पूरा गरिदिँदै हुनुहुन्छ ।’

दाता दीनबन्धुले नारायण र रोजालाई मात्र पक्की घर बनाई दिन लागेका होइनन् । दीनबन्धुले आफ्ना दाजु स्व. ओमप्रकाश गोयलको स्मृतिमा सो बस्तीमा बसोबास गर्ने आदिवासी–जनजाति समुदायका व्यक्तिहरूको लस्करै १२ वटा घर बनाइदिन लागेका हुन् । साथै सो बस्ती जोड्ने सडकको नाम स्व. ओम गोयल कोलोनी मार्ग राखिएको छ । भद्रपुर–६ नम्बर वडा कार्यालयको सहजीकरणमा बिहीबार आयोजित एक कार्यक्रमकाबीच सो कोलोनी मार्गको उद्घाटन गर्दै घरको शिलान्यास गरिएको छ । नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले उक्त मार्ग र घरको शिलान्यास गरेका हुन् ।

दाता दीनबन्धुले राजो माझी, श्याम माझी, रमेश माझी, नारायण राजवंशी, फूलकुमार राजवंशी, प्रमिला राजवंशी, भेलासरी राजवंशी, सुमित्रा माझी, लखन माझी र रवीन माझीको वरन्डासहित दुई कोठे घर बनाइदिन लागेको ६ नम्बर वडाध्यक्ष रतिया राजवंशीले जानकारी दिए । निर्मला राजवंशी र बिजयकुमार माझीले पक्की घर बनाइसकेकोले उनीहरूको घरको मर्मत सम्भार र रंगरोगन गरिदिने वडाध्यक्ष राजवंशीले बताए ।

दाता दीनबन्धुजीले वडा नं. ६मै जग्गा धनीपुर्जा वा सुकुम्वासी बस्तीमा घर बनाइदिने बताएपछि वडा कार्यालयले नगरपालिकाको सहयोगमा यस बस्तीलाई छनौट गरेको उनले बताए । ‘दाताले घर त बनाइदिँदै हुनुहुन्छ, तर ती घरहरूमा शौचालय बनाइदिने दाता भेटिएको छैन’– उनले भने– ‘शौचालयका लागि पहल गरिरहेका छौँ, खानेपानीको व्यवस्था मिलाइदिन नगरपालिकालाई अनुरोध गरेका छौँ ।’

यता दाता परिवारकातर्फबाट बिनय गोयलले एक महिनाभित्र घर बनाउने काम सम्पन्न गरिने र त्यसका लागि करिब ६० लाख रुपैयाँ खर्च हुने बताए । वडाध्यक्ष राजवंशीको अध्यक्षता तथा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा भएको शिलान्यास कार्यक्रममा नगर उपप्रमुख कार्की, निवर्तमान नगर प्रमुख जीवनकुमार श्रेष्ठ, ४ नम्बर वडाध्यक्ष हंशधर राजवंशी, महतलाल राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । स्वागत मन्तव्य वडा सदस्य सन्ध्या डङ्गोल हाडाले राखेको कार्यक्रमको सञ्चालन राजा मण्डलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here