खोरमा थुनिएका युवाको उद्धार

0
250

लक्ष्मी उप्रेती,
मेचीनगर ।

खोरमा थुनिएर बस्न बाध्य झापाको मेचीनगर–१२का २४ वर्षीय धनकुमार राईलाई मेचीनगर नगरपालिकाले उद्घार गरी उपचारका लागि चितवन पठाएको छ । राईको परिवारले उनलाई घर नजिकै सानो खोरमा हालेर बाहिरबाट ताला लगाएर राखेको थियो ।

मानसिक रोगी र हिँड्डुल समेत गर्न नसक्ने अवस्थाका राईलाई उनको परिवारले घर नजिकै खोर बनाएर राखेको थियो । त्यसको जानकारी पाए लगत्तै केही दिनअघि मात्र मेचीनगर नगरपािलका उपप्रमुख मीना पोखरेल उप्रेती, वडाध्यक्ष मधुसुदन निरौला, मेचीनगर नगरपालिकाको महिला शाखाका महिला निरीक्षक जयन्ती खरेल लगायतको टोलीले राईको घरमै पुगेर विविध विषयमा जानकारी लिएर तत्काल खोरबाट बाहिर निकालेको थियो ।

बाहिर राख्दा मानिसहरुलाई कुटपिट गर्ने, घर छाडेर हिँड्ने तथा घरबाट हिँडेपछि फर्केर नआउने गरेका कारण धनकुमारलाई खोरमा थुनेर राख्नु परेको बाबु जीवन राईले बताए । नबोल्ने, कपडा नलगाउने, कपडा लगाइदिए खोलेर फालिदिने, नाङ्गै बस्न थालेपछि परिवारले बाध्य भएर उनलाई खोरमा राख्नुपरेको जीवनले थपे । खोरमै खाना खाने, खोरमै दिसा पिसाब गर्ने र परिवारले बेला–बेलामा खोरमै गएर सफा गरिदिने गरेको स्थानीयको भनाइ छ ।

आर्थिक अवस्था न्यून र एउटा सिटी रिक्साका भरमा घर चलाइरहेका धनकुमारका पिता जीवनले उपचार गर्न आर्थिक अभावका कारण खोरमा थुनेर राख्नु परेको बताए । बोल्न नसक्ने तथा कहिले काहीँ आफूले लगाएको लुगा फुकाउने, बेला–बेला घरका अभिभावकदेखि अन्य मानिसहरुसँग समेत आक्रमक रुपमा जाइलाग्ने धनकुमारलाई जिल्ला प्रशासन कार्यालय झापाले मिति २०७९ साल कात्तिक २३ गते नेपाली नागरिकताको प्रमाण–पत्र जारी गरेको थियो ।

प्रशासकीय अधिकृत दयाकृष्ण ढकालले हस्ताक्षर गरेको नेपाली नागरिकता धनकुमारले थुनिएको खोरमै प्राप्त गरेका हुन् । ‘यो २१औँ शताव्दीमा पनि मानिसलाई खोरभित्र थुनेर राखेको छ भन्दा हामीलाई पत्याउन गाह्रो भयो’– नगरप्रमुख बुढाथोकीले भने– ‘यो जानकारी प्राप्त हुनासाथ नगर उपप्रमुखको नेतृत्वमा टोली उनको घरमा पुग्यो र तत्काल खोरबाट बाहिर निकाल्ने काम गर्यो ।’ नगरपालिकाले तत्काल उनलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग र अपाङ्गताको प्रमाण–पत्र प्रदान गर्दै थप सहयोग गरिरहेको थियो ।

‘उनले खानपिन खोरभित्रै गर्ने, दिसापिसाव समेत त्यहीँ गर्ने भएकाले उनको अवस्था अत्यन्तै कहालीलाग्दो थियो’– उपप्रमुख उप्रेतीले भनिन्– ‘तत्काल उनलाई खोरबाट बाहिर निकाल्ने काम गरियो र थप उपचारका लागि चितवन पठार्यौँ ।’ नगरपालिकाले उनको उपचार समेत गर्ने गरी २०७९ साल पुस १ गते बसेको कार्यपालिकाको बैठकले एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।

उपचारका लागि नगरपालिकाको तर्फबाट चितवनको खैरहनी नगरपालिका–११ गैंडाहामा रहेको ब्युटिफुल माइण्ड इन्स्टीच्यूट अफ साइक्याट्रिकसँग कुराकानी गरिएको उनको भनाइ छ । शुक्रबार ब्युटिफुल माइण्ड इन्स्टीच्यूट अफ साइक्याट्रिकका पिता भनेर चिनिने डाक्टर गिरीराज भन्तानालगायतको टोली नगरपालिका आएको थियो । डाक्टर भन्ताना नशा, मानसिक लागूपदार्थ तथा छारेरोग विशेषज्ञ हुन् ।

नगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, जीवन राईको परिवारले उपचारका लागि टोलीको जिम्मा लगाएर पठाएको हो । डाक्टर भन्तानाका अनुसार देशभरबाटै पहिलोपटक मेचीनगर नगरपालिकाले आफ्नो नगरवासीको उद्घार गरी उपचारका लागि पठाएको हो । छ महिनाभित्रमा राईको स्वास्थ्य ठीक हुने र सामान्य जीवन यापन गर्न सक्ने उनको भनाइ छ । ‘ब्युटीफुल माइण्ड इन्स्टीच्यूट अफ साइक्याट्रिक ब्युटिफुल माइन्ड रिहाबिलिटेशन सेन्टरमा मानसिक रोगी तथा लागू तथा मादकपदार्थ दुव्र्यसनीहरुको उपचार गछौँ’– डाक्टर भन्तानाले भने– ‘जसलाई समाजले पनि उपेक्षा गरेको छ, उनीहरुको विभिन्न औषधिबाट उपचार गछौैँ, थेरापी गछौँ र आवश्कता अनुसार सिप सिकाउने र स्वरोजगार बनाउने प्रक्रियामा जान्छौ ।’

रिह्याबिलिटेशन सेन्टर मानसिक रोगी तथा लागूपदार्थ दुव्यर्सनीहरुको उपचार र पुनःस्थापना गर्ने हेतुले २०७४ सालमा स्थापना भएको हो । यस सेन्टरमा २४सै घण्टा बाह्य तथा आन्तरिक सेवा सञ्चालित रहेको डाक्टर भन्तानाले जानकारी दिए । सेन्टरको प्रभावकारी सञ्चालनमा आवश्यक नर्सिङ स्टाफ, पारामेडिक्स स्टाफ र अन्य सेवा सम्बन्धी कर्मचारीहरु कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here