विशंखुनारायणबाट हाइकिङ

१४ माघ २०७९, शनिबार मा प्रकाशित

अप्रत्याशित बढेको जाडोलाई पुष्टी गराउन, चिसो मौसमको भयावह कहरले कठ्याङग्रिन पुगेको शरीर नै काफी थियो । यो रुग्णावस्थालाई खल्बल्याउन चियाको महत्व बढेको हो, जसलाई भुल्न नहुने ठानेर नै पिउँदै प्रष्फुटित चियागफमा ललितपुर २(क) प्रदेशतहकी प्रत्यासी उम्मेदवार रिशा श्रेष्ठले आन्तरिक पर्यटन विकासलाई जोडेर काठमाडौं उपत्यका वरिपरिका पर्या–पर्यटकीय आकर्षणले युक्त पहाडहरु सुन्दर र पैदलयात्रालाई अनुकूल भएकाले जाडो मौसममा हाइकिङ कार्यक्रमलाई अघि बढाउँदा असल हुने विचार प्रकट गर्नुभयो ।

उहाँका अनुसार १५÷१५ दिनमा गर्न सकिने हाइकिङ कार्यक्रममा भाग लिएका कारणबाट साना–साना भाइ–बहिनीहरुका हातमा प्रायः देखिने गरेका मोबाइल फोन हेर्न भ्याउने छैनन् । हिँडडुल गर्ने बानीमा अप्रत्याशित विकास हुनेछ, सास्ंकृतिक र ऐतिहासिक धरोहरका बारेमा जानकारीसहितका अविस्मरणीय अनुभूतिहरुले मनसपटलमा स्थान जमाउने लगायतका फाइदाहरु प्राप्त गर्न सकिने भएकाले सबैले यसबारेमा ध्यान दिनै पर्ने भन्ने रिशाजीको आग्रहमा प्रल्हादजी र सुरेन्द्रजीका बीचको भलाकुसारी र मन्थनले अत्यन्त स्वागतयोग्य धारणा भनिएपछि र हाइकिङ प्रविधिका ज्ञाता मोहनकुमार तामाङजीले पथप्रदर्शन र बिषयवस्तुको व्याख्यानमा आपूmले सहयोग पु¥याउने वाचा गरेपछि पाक्षिकरुपमा सञ्चालन गर्न खोजिएको हाइकिङ कार्यक्रमलाई विशंखुनारायण मन्दिर अध्ययन भ्रमणसँगै थालनीमा ल्याउने निश्चय गरियो ।

मुलुकलाई आर्थिक रुपबाट सक्षम र सबल बनाउने आयआर्जनको महत्वपूर्ण र भरपर्दाे श्रोतको रुपमा रहेको विषय नै ‘आन्तरिक पर्यटन विकास’ भएकाले हामी सबैले कुनै न कुनै रुपबाट ओझेलमा परेका सबैको दृष्टिमा नपरेका महत्वपूर्ण ठाउँहरुलाई उजागर गराउनु अनिवार्य रहेको हो । ललितपुर महालक्ष्मी नपा–४ शितल हाइट चोकबाट हाम्रो हाइकिङ कार्यक्रम भनिए अनुरुपकै प्रक्रिया अनुसार अघि बढाइयो । अग्रभाग हाइकिङका ज्ञाता मोहनकुमार तामाङजीले सम्हालेपछि साना विद्यार्थी भाइ–बहिनीहरुलाई मध्य भागमा र पछिल्लो पंक्तिमा ललितपुर– २(क) प्रदेश तहको निर्वाचन प्रत्यासी उम्मेदवार रिशा श्रेष्ठ, नेपाली कांग्रेस महालक्ष्मी–४ इकाई सचिव प्रल्हाद संग्रौला, व्यवसायी तथा चन्द्रनगर टोल सचिव सुरेन्द्र केसी (कमल)सहित मेरो पनि संलग्नता रह्यो । शुरुमा ओरालै–आरालो सानेगाउँ हुँदै सानोआलीको गोरेटोबाटोमा खुट्टा चिप्लेर लडिने हो कि भन्दै डराउँदै–डराउँदै भए पनि सबै जना अघि बढ्न थालिसकेका थियौं । पानीटङ्की नजिक भएर गोदावरी खोला तर्दै अघि बढेपछि भने केही उकालोलाई पनि व्यहोर्नुपर्दा शरीरबाट पसिनाले बाहिरिने अवसरको थालनी पनि गरिसकेको थियो ।

उकाली चढ्ने क्रमअघि बढिसकेको थियो, निकै माथि पुगेपछि भने एउटा राम्रो विद्यालयमा नजर प¥यो, जसको नाम ‘ब्लूम स्कूल’ रहेछ । मोहनजीका अनुसार बुढानिलकण्ठ विद्यालयबाट उत्पादित बिद्यार्थीहरुसँगै केही स्थानीय शिक्षाप्रेमी लगानी इच्छुक व्यक्तित्वहरुको संलग्नताबाट उक्त विद्यालय सञ्चालनमा रहेको भन्ने थाह पाउँदा खुशी लाग्यो । यात्रा निरन्तरअघि बढाउँदै हामी शंखादेवी चोकमा आइपुग्यौं, धेरै पट्यारिलो र लामो यात्रा नभए पनि हिँड्ने बानी कमजोर भएकै कारण सबै जनाको यात्रामा थकानले अप्ठ्यारोपना र शिथिलता थोपर्दै मडारिँदै हाम्रो कमजोरीमा रमाउन खोज्दै गरेको भन्ने भान परिरहेको थियो । नजिकै पसल देखिएकाले चिया–बिस्कूट, खाजाभूजा खाँदै हाम्रो यात्रा पुनः अघि बढ्यो । कतै कच्ची, कतै गोरेटो, कतै जंगलले छोपिएको सानो गारेटो, कतै हिँड्नेबाटै नभए पनि कोदालीले ठिक खुट्टामात्र अँटाउने गरी बनाएका उकाली मार्ग जसलाई पछ्याउँदै पसिना पुछ्दै हाम्रो यात्रा अघि बढ्दै थियो ।

लगभग शितल हाइटबाट चार किलोमिटर यात्रा गरेपछि गोदावरी नपा–२ बाँडेगाउँ जंगलको बीचमा लिच्छवी राजा हरिदत्त बर्माद्वारा इशापूर्व ४३.१४३ एडीको बीचमा निर्माण गरिएकोे प्राचीन र ऐतिहासिक विशंखुनारायण मन्दिर परिसर पुग्यौं । मन्दिर प्रवेशद्वारमै चिया पसल भएकाले केही क्षणको बसाईपछि ढुंगाबाट बनेकोको सिँढी चढ्दै अघि बढ्ने जमर्काेतिर लाग्यौं । उपत्यकामा रहेका चार नारायणमा पहिलो गोदावरी नगरपालिमा रहेका विशंखुनारायण, दोस्रो तारकेश्वर नपामा इचंगुनारायण, तेस्रो चाँगुनारायण नपामा चाँगुनारायण, चौथो दक्षिणकाली नपामा शेषनारायणमध्ये अहिले हामी विशंखुनारायण मन्दिर परिसरमा छौं । स्थानीयको भनाइ अनुसार यहाँ दैनिक पाँच सय पर्यटकहरुको आवागमन हुने र कात्तिकको हरिबोधिनी एकादशीमा भगवान बिष्णु चार महिनापछि जागा हुने पवित्र दिन मानिएकाले लगभग २० हजार भक्तजनहरु दर्शन गर्न आउने गर्छन् ।

प्राचीन किंवदन्ती अनुसार दानव भष्मासुरले कैयौंैं बर्षको घोरतपबाट भगवान शिवलाई खुशी बनाई जसको टाउकोमा हात राख्छु त्यो भष्म हुने वरदान माग्यो, प्रशन्न भएका शिव भगवानले आशीर्वाद दिनुभयो । तर, राक्षस पहिलो परिक्षण उनकै टाउकामा हात राखेर हेर्ने अनि मात्र अघि बढ्ने देखिएपछि आपूmले दिएको वरदान भूmठो नहुने भएकाले भगवान भाग्न थाल्नुभयो, ऊ खेद्न थाल्यो । भाग्दै यहाँ आइपुगेर सुतेका नारायणलाई बिउँझाई सारावृत्तान्त सुनाउँदा नारायणले मोहिनी रुप धारण गरेर हाउभाउ देखाई त्यो वरदान नै होइन । त्यसको विश्वास नगर बरु परीक्षा नै गर्न मन लागेको छ भने आफ्नै टाउकामा हात राखेर हेर, भनी सम्झाउँदा उसले आफ्नै टाउकामा हात राखेकाले जल्न थाल्यो । यहाँ धर्मद्धारको एकापट्टिको ढुंगाको भाग तलदेखि माथिसम्म नै डढेको देखिनाले किंवदन्तीमा सत्यता रहेको पुष्टी हुन्छ ।

मोहनजीका अनुसार बौद्ध मतमा यहाँका हिमाली बौद्धमार्गीहरुले गुरु पद्मसम्भव अर्थात् दोस्रो बुद्धको तप स्थलका रुपमा हेर्ने गर्छन् । उहाँले बौद्ध ‘काथाङदेङाको ल्हाण्डेकाथाङ’ अर्थात् अमानुष वर्ग देशना ग्रन्थमा पाटनको यम्पी विहार, इमाडोलको रातो चैत्य, टेम्पो पार्क नजिकको पातलीपूर विहार अनि लुभूको सिंहसार्थवाहु चैत्य हुँदै हिँड्दै जाँदा विशंखुनारायण मन्दिर परिसर पुगेर नै तपस्या गर्न थाल्नुभयो । जसमा उहाँका सहचरी साँखुकी शाक्यदेवी वशुधर, जिलाजिशा, कुन्लाकुन्साशीहरुसँगै रहेको उल्लेख छ । त्यसपछि राजा वृषदेवले निर्माण गरेको गोदावरी विहार जानुभयो, जसको प्रमाण स्वरुप अहिले पनि त्यहाँका भित्ताहरुमा ‘ॐमणीपदुमेहुँ’ लेखिएका शिलाहरु पाइन्छन् । तर, आजभोलि बौद्धमार्गीहरु ओझेलमा पर्दै गरेको र वोन धर्मावलम्बीहरुको मूलमन्त्र ‘ॐमात्रीमूयेसालेदु’ मन्त्र कुँदिएकाले तुलनात्मक रुपमा वोन धर्मावलम्बीहरुसँग यो तीर्थको सम्बन्ध नजिक हुँदै गरेको मान्न सकिन्छ ।

पारिलो र पर्यटकीय सुन्दरताले रमणीय विशंखुनारायण मन्दिर परिसरबाट लगभग दुई किलोमिटर यात्रापछि हामी कोतडाँडा आइपुग्यौं । यहाँको नागी सुन्दरमात्र नभएर पर्या–पर्यटकीय छटाहरुको आकर्षणले भरिभराउ रहेछ । यसपछि हामी घनाजंगलले भरिएको भञ्ज्याङ र ओराली हुँदै घरतर्पmको यात्रा अघि बढाउँदै थियौं, अकस्मात ढुंगेन बसपार्कमा आइपुगेछौं, आनन्दको सीमा नै रहेन लामो श्वास फेर्दै गुडाउन तयारी गरिराखेको नेपाल साझा यातायातको बसमा चढ्यौं र आ–आफ्नो गन्तव्यतर्पm लाग्यौं ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here