ग्रेटा

१४ माघ २०७९, शनिबार मा प्रकाशित

आज बिहानैदेखि मलाई नरमाइलो लागि रहेको थियो । आज बिहान म सधैँभन्दा छिटो उठेँ र झ्यालको पर्दा सारेर हेरेँ । हिजोभन्दा आज बढी हिउँ परेको रहेछ । मोबाइलमा तापक्रम हेरेँ माइनस ३५ डिग्री चलिरहेको छ । आज त बाहिर निस्कन धेरै कठिन छ । देखिएको माइनस ३५ डिग्री भए पनि माइनस ४५ डिग्री जति महशुस भइरहेको मौसम विभागले अनुमान गरेको थियो । यस्तो ठण्डीमा नरमाइलो लागे पनि म उत्तेजित भइरहेकी थिएँ ।

जति नै हिउँ परेर चिसो बढ्दै गए पनि हिम आँधी चलेर समस्या नभएसम्म जीवन त चलाउनै थियो । चलि नै रहन्छ । कहिल्यै बन्द हुँदैन । हिउँ परेर माइनस ५० पुगे पनि क्यानडामा जीवन बन्द हुँदैन । यो क्यानडा देश नै यस्तो । यहाँ डिसेम्बर महिनादेखि अप्रिल महिनासम्म जताततै हिउँ नै हिउँ जमेको हुन्छ । खोला, नाली, चौर, पार्क, रुख, बुटा, घरका भित्ता, छत, गाडीका छत, सीसा जताततै हिउँ नै हिउँ जमेको हुन्छ । झ्यालमा हिउँ जमेर खोल्नै सकिन्न । यस सिजनमा पनि सधैँ झैं हिममय भएको छ क्यानडा ।

मेरो पूरा नाम ग्रेटा थनवर्ग हो । तर, मलाई सबैले ग्रेटा भनेर बोलाउँछन् । मलाई पनि ग्रेटा मात्रै भनेको मन पर्छ । हाम्रा पुर्खा एकताका जर्मनीबाट अमेरिका गएर बसेका हुन् रे । त्यसैको प्रभावले होला मेरो नाम ग्रेटा राखिएको । ग्रेटा नाम र क्यानडाको शरीरै जम्ने चिसो भए पनि जीवन चलिरहेको छ । विद्यार्थीहरु विद्यालय र कलेज गइरहेका छन् । मल र डिपार्टमेन्टल स्टोर्स चलेकै छन् । मान्छेको भीड, मल र डिपार्टमेन्टल स्टोर्समा देखिएकै छ । सडकमा मुश्किलले देखिने लेन समातेर गाडी कुदेकै छन् । सेतो बालुवाको समुद्र जस्तै देखिएको छ क्यानडाको हरेक भाग । तर, पनि जीवनको गति रोकिएको छैन ।

पहिलो पटक अमेरिकाको फ्लोरिडाबाट क्यानडा आउँदा मलाई दुई दिनमै फ्लोरिडा फर्किउँ जस्तो नलागेको होइन । तर, जोसेफसँग रिसाएर तीन बर्षअघि क्यानडा हानिएकी म, हारेर फर्कन कुरै थिएन । तर, बस्दै गएपछि अहिले त यही हिउँको समुद्र नै मन पर्न थालेको छ । मे महिनादेखि नोभेम्बरसम्मको केही गर्मी र हरियाली तथा डिसेम्बरदेखि अप्रिलभरीको हिउँको सेतो बालुवा र शरीर नै जाम हुने चिसो देखेर यसैलाई मैले आफ्नो जीवन बनाइसकेकी छु ।
यहाँका आदिवासीहरु अर्थात् फस्ट नेसनका केही मेरा साथी पनि छन् । मारिया, एमिली, मिकिनी र निली नजिकका साथी हुन् । आदिवासी बाहेक अरु पनि मैले केही साथी बनाएकी छु । तर, मेरा धेरै साथी छैनन् ।

आदिवासीमा पनि छ सय ३० समुदाय रहेछन् । ५० किसिमका जाति, ५० भाषा । त्यसमा पनि क्रि जातिको सबैभन्दा बढी संख्या एक लाखभन्दा बढी नै रहेछ । अरुको भने कम्तीमा नौ हजारदेखि बढी नै रहेको सुनेकी छु । करिब चार करोड जनसंख्या रहेको क्यानडामा सबै आदिवासीको जम्माजम्मी संख्या २० लाख जति रहेछ । तर, लामो समय फ्रान्स अनि बेलायतको उपनिवेश रहेको क्यानडाको सम्पर्क भाषा भने अंग्रेजी र फ्रेन्च रहेछ ।

उपनिवेशबाट स्वतन्त्र भएर एउटा प्रजातान्त्रिक मुलुक भए पनि अहिले पनि क्यानडाले बेलायतको राजसंस्थालई सेरेमोनियल राष्ट्राध्यक्ष मानेको देख्दा अचम्भ नलागेको होइन । अमेरिकामा पनि एकताका बेलायतकै उपनिवेश थियो । हामीले त बेलायतको राजसंस्थालाई आफ्नो राष्ट्राध्यक्ष मानेका छैनौं । खैर छोडौं यो कुरा । आ–आफ्नो कुरा हो ।

आदिवासीहरु धेरै सरल । तर, झोंक्की स्वभावका हुँदा रहेछन् । उता अमेरिकाका रेड इण्डियन आदिवासी झैं । पहिला यहाँका आदिवासीलाई पनि रेड इण्डियन नै भनिँदोरहेछ । पछि उनीहरुले विरोध गरेपछि त्यस्तो कानून नै परिवर्तन गरी फस्र्ट नेसन भन्न थालिएको रे । सुविधा पनि उनीहरुलाई बढी हुँदोरहेछ । उनीहरुको कमाइ ट्याक्स फ्रि रहेछ । स्वास्थ्य, शिक्षा आदि फ्रि । भत्ता पनि पाउने अनि कमाइमा पनि कर नलागेपछि केहीले राम्रै जीवनशैली बनाएका रहेछन् भने त्यति सुविधा हुँदा पनि धेरै त बिग्रेका छन् ।

आदिवासीहरु अर्थात् फस्ट नेसन, मेटिस तथा इनुइट्सको त कुरै नगरौं । उनीहरु त यहाँ हजारौं बर्षदेखि बस्दै आएका हुन् । उनीहरुका पुर्खाले नै क्यानडालाई आवाद गरेका हुन् । त्यसैले उनीहरुको रगतमै चिसो खप्न सक्ने क्षमता छ, हिउँ भालु र हिम चितुवालाई जस्तो ।

बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको बेला आदिवासीले आफ्नो छुट्टै स्वतन्त्र राज्य बनाउन चाहेका रहेछन् । तर, स्वतन्त्र राज्य होइन उनीहरुलाई सुविधा दिने र संस्कार तथा आन्तरिक व्यवस्था चलाउन उनीहरुको जातीय कानूनलाई मान्यता दिने सम्झौता गरेको रहेछ । अहिले त क्यानडा आप्रवासी बहुल देश भएको छ । युक्रेनीदेखि भारतका पञ्जाबीसम्मको यो देशमा राम्रो प्रभाव रहेछ । यो कुरा छोडौं अहिले ।

म आज बिहानै जति चिसो भए पनि आफ्नो अपार्टमेन्टबाट तल झरेँ र वेटिङ रुमको झ्यालबाट एकटक सडकमा हेरिरहेँ । कतै जोसेफ आइ त पुगेन । हुन त उ आइपुग्ने समय पाँच घण्टाभन्दा बढी नै थियो । तर, पनि म आतुर थिएँ । जोेसेफसँगै आउने मेरी ५ बर्षकी छोरी लुसीलाई भेट्न । लुसीकै जिद्दीका कारण जोसेफ यहाँ आउँदै थियो । यो उसको भनाइ थियो । तर, उसको यो भनाइलाई मैले विश्वास गर्न सकिरहेकी थिइन् । सायद उ पनि आत्मैदेखि यही नै कारण हो भनिरहेको थिएन । जे भए पनि ऊ आउँदै थियो । मेरी प्यारी छोरी लुसी आउँदै थिइ । यही नै मेरो लागि महान उपलब्धि हुनेवाला थियो ।

मैले मेरो बारेमा यस्तो सोचिरहेकी छु भने उसले के सोचिरहेको होला । उसको पक्षबाट सोच्ने हो भने ऊ पनि सही छ कि ? उसले मलाई दुत्कारेको थिएन । या मेरो बानी र स्वभाव आफ्नो कुरा नै सही ठान्ने, दोष जति उसको मात्र देखाउने र उसले बढी रक्सी खाएको भनेर गाली गरिरहने गर्नाले त ऊ मसँग टाढिन खोजेको थिएन ? अहिले म यसरी पनि सोच्दै छु यहाँ एक्लै अपार्टमेन्टमा बसेपछि ।

तर, उसको अरु केटी साथीसँग बढी लहसिने, राति बढी रक्सी खाएर आउने, घरमा आएपछि पनि छोरी र आमासँग समय दिनुको बदला रक्सी नै खाइरहने र जति सम्झाए पनि वा गाली गरे पनि केही नलाग्ने भएरै मैले उसलाई सबक सिकाउन अमेरिका छोडेर क्यानडा आएकी हुँ । अमेरिकाकै अरु स्टेट जाँदा पनि हुन्थ्यो वा त्यहीँ अर्को काउन्टीमा गएर बस्दा पनि समस्या हुने थिएन मलाई । तर, म उसलाई सबक सिकाउन होला अर्कै देश रोज्न पुगेँ ।

ऊ सँगको रिस अझै नमरे पनि अहिले भने मलाई रमाइलो र एक प्रकारको सुकुन मिलिरहेको थियो । मैले क्यानडाको एडमन्टनमा बसेर सानोतिनो काम त पाएकी छु । आफ्नो एक्लै कमाइले पनि मलाई खान–बस्न, छोरी पाल्न–हुर्काउन र ऊ पनि बस्न चाहे उसलाई पनि पाल्न नसक्ने होइन । तर, ऊ यतै बस्न आउँदै हो कि छोरी जिम्मा लाएर जाने हो अहिल्यै भन्न सक्दिनँ । तर, उसले मसँग म्यासेन्जरमा कुरा गर्दा र उसको फेसबुकका स्टाटसका भाषा पढ्दा भने ऊ सुध्रिन चाहेको देखिन्छ । उसले पटक–पटक मसँग माफी मागेकोे छ । तर, मैले माफी दिइसकेकी छैन । मैले उसको यो माफी मगाइलाई पुरै पत्याएकी छैन र नपत्याउने कसम पनि खाएकी छैन ।

अर्कोतिरबाट सोच्छु, अब म के यत्तिकै जीवन विताउन सक्छु ? अहिले त म यस्तै ४० बर्षकी छु । ३ बर्षको बसाइमा मैले ब्वाइफ्रेन्ड बनाएकी छैन । मेरा केटी साथीहरुले मलाई ब्वाईफ्रेन्ड बनाउन नउक्साएका होइन । मलाई पनि बेला–बेला बनाउँ कि भन्ने नलागेको होइन । स्वास्थ्यमा समस्या छैन । म बाहिरको खाने कुरा बढी खान्न र रुचाउँदिन पनि, घरको बढी खाने कुरा खान्छु । घरको र बाहिरको खाने कुरामा ७०–३० को प्रतिशत छ । ऊ भने १०–९० प्रतिशतको स्वभावको छ ।

म पनि अल्कोहल नखाने त होइन । खान्छु तर वियर खाँदा एक क्यान र रक्सी खाए बढीमा डेढ पेग मात्र हो । त्यो पनि शुक्रबार राति र शनिबार राति मात्र हो । अरु बार खाने त के कुरा हेर्दा पनि हेर्दिनँ । मन पनि लाग्दैन । जोसेफले नै वाक्क बनाएकोले होला, रक्सी खान मनै लाग्दैन । यहाँ आएपछि पनि उसको बानी त्यस्तै भयो भने कुरा बिग्रन सक्छ ।
जे होस अब पनि बितेका कुरा सोच्ने र भविष्यको कल्पना गरेर दुःखी हुने पक्षमा म छैन । म वर्तमानमा बाँच्न चाहन्छु । मेरो वर्तमान भनेको मेरी छोरी लुसी हो । लुसीसँगै जोसेफ पनि मसँग बस्न चाहेमा म उसलाई मौका दिनेछु । म वर्तमानमा बाँचेँ भनेमात्र खुशी र सुखी हुन सक्छु । यो मलाई योगबाट प्राप्त शिक्षा हो । किनकि म एक बर्षदेखि पूर्वीय जीवन दर्शनका ग्रन्थहरु अध्ययन गर्दैछु र एक जना भारतीय योग गुरुसँग मैले भर्चुअल माध्यमबाट योगको कक्षा, साधना र ध्यान पनि गरिरहेकी छु । कतै यसले ममा सकारात्मक ऊर्जा आएर मैले जोसेफसँग बिताएका धेरै दुःखका पलहरु बिर्सेर वर्तमानका बारेमा त सोचिरहेकी छैन ? आफैंसँग पनि मेरो प्रश्न छ ।

यस्तै सोचिरहेकी थिएँ । मोबाइलको घण्टी बज्यो । जोसेफले नै म्यासेन्जरमा सम्पर्क गरेको रहेछ । हत्तपत्त उसको फोन रिसिभ गरेँ । मैले उसलाई भ्यानकुभरबाट एडमन्टन आउने बिमानमा चढेपछि कल गर्नु भनेकी थिएँ । भ्यानकुभरबाट एडमन्टन आइपुग्न बिमानमा डेढ घण्टा लाग्छ । त्यही समय मिलाएर म एयरपोर्टमा रिसिभ गर्न आउँछु भनेकी थिएँ ।

अब मेरो मनमा अरु कुरा खेल्न छोडे । म डेढ घण्टाको समय बिताउन कहिले रुममा, कहिले डिपार्टमेन्टको बेटिङरुममा र कहिले बाहिर सडक छेउमै ओहोर दोहोर गरिरहेकी थिएँ । त्यहीबीचमा मोबाइलको घण्टी पुनः बज्यो । साँच्चै नै ऊ एडमन्टनको एयरपोर्टमा झरेछ । सामान लिन झण्डै एक घण्टा लाग्ने भएकोले मलाई समस्या थिएन । मत आधा घण्टामै एयरपोर्ट पुग्न सक्ने थिएँ ।

तर, फोन आउने बित्तिकै कति पनि ढीलो नगरी मैले गाडी स्टार्ट गरेँ । मलाई जतिसक्दो चाँडो लुसीसँग भेट्नु थियो । उसलाई हग गर्नु थियो । तीन वर्षको माया एकै पटक दिनु थियो । तर, मलाई अर्को डर थियो । कतै लुसी, मसँग आउन मानिन भनेँ । फोनमा कुरा गर्दा त उसले मलाई औधी माया गर्थी । प्रकटमा देख्दा उसको कस्तो प्रतिक्रिया होला ?

कतै उसले मलाई मम्मा नमान्ने त होइन ? उहाँ हजुरआमासँग बसेकी लुसीको प्रतिक्रिया कस्तो होला भनेर डर नलागेको होइन । जोसेफसँग त मलाई समस्या थिएन । उसँग भेट्दाको उसको बडी ल्याङ्ग्वेज र आँखाको चाल पढेपछि प्रष्ट भइहाल्छ । नभन्दै म एयरपोर्ट पुगेँ । बाबु छोरी सुटकेस पर्खिरहेका रहेछन् ।

जाडोका भारी लुगा लगाएकी र अनुहार मात्र खुल्ला भएकी मलाई देख्दा लुसीले पहिला त चिनिन । जोसेफले तिम्रो मम्मा भनेपछि मसँग दौडेर मम्मा…मम्मा… भन्दै आई । मैले लुसीलाई हग गरेँ । एकक्षण मलाई संसार जिते जस्तै भयो । यसअघिका सबै दुःख फुमन्तर भए । त्यही मौकामा जोसेफलाई हेरेँ । उसले पनि मलाई एकटक हेरिरहेको रहेछ । ऊ त मलाई विचरा लाग्यो । उसलाई पनि मैले हग गरेँ । साँच्चै उसले सुध्रिने प्रतिज्ञा गरेको मलाई महशुस भयो ।
हाल एडमन्टन, क्यानडा

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here