सेनाबाट अवकाशपछि राजकुमार गुरुङको व्यस्त जीवनशैली: नाङ्लो फुड ट्रकमा व्यापार

0
216

गोपाल अधिकारी,
बिर्तामोड ।

जागिरबाट अबकास लिएपछि धेरैको समय बसिबियालोमै बित्छ । कतिपय देश विदेशका नयाँ–नयाँ ठाउँ भ्रमण गरेर आफ्नो अवकास जीवन बिताउँछन् ।

तर, बिर्तामोडका राजकुमार गुरुङले भने अवकास पछिको जीवन व्यापारसँगै सेवामा लगाएका छन् । लकडाउन शुरु हुनुअघि नाङ्लोमा मःम बिक्री शुरु गरेका उनी अहिले ‘नाङ्लो फुड ट्रक’ नै सञ्चालन गर्न सफल भएका छन् ।

‘नाङ्लो फुड ट्रक’ अर्थात् ट्रकलाई ‘मोडिफाई’ गर्दै मःमसहितका खाजाका परिकार बनाएर उनी बिक्री गर्छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गको बुट्टाबारी पूर्व जंगलको एक छेउमा उनले ट्रक र म्याजिक भेनमा ‘नाङ्लो फुड ट्रक’ नाम दिएर व्यापार गर्दैछन् । दिनभरि सडक किनारमा व्यापार गर्ने उनी राति सबै सामग्रीसहितको ट्रक लिएर घर फर्कन्छन् । ठूला–ठूला भवनमा व्यवस्थित रुपमा होटल सञ्चालन गर्दा त व्यवसाय चलेको छैन्, ट्रकमा सामान बेचेर के कमाउलान् भन्नेहरुका लागि गुरुङ अहिले उदाहरण बनेका छन् ।

अहिले गुरुङ दैनिक झण्डै १५ हजारको खाजाका परिकार बिक्री गर्छन् । न कोठा भाडा, न त बत्ती पानीकै बिल तिर्नुपर्छ । खुल्ला आकाशमुनि रुखको छहारीमा शुरु गरेको व्यापारले अहिले गुरुङको परिचय नै बदलेको छ । म्याजिक भेन र ट्रकलाई नयाँ रुप दिएर होटलकै आकारमा ढालेका उनले त्यसैमा राखेर खाजाका परिकार बिक्री गर्छन् ।

सन् २००२बाट भारतीय सेनामा भर्ती भएका गुरुङले सन् २०१९सम्म सेवा गरे । त्यसपछि नेपाल फर्किएका उनले नयाँ तरिकाले व्यवसाय थालेका हुन् । शुरुमा नाङ्लोबाट ५ प्लेट मःम विक्री गरेको उनी सुनाउँछन् । कामले काम सिकाउँछ भने झैं गुरुङले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै इच्छाएको सबै खाजाका परिकार बिक्री गर्छन् । पेय पदार्थमा मदिरा बाहेकका सबै पेयपदार्थ उनको पसलमा पाइन्छ ।

शुरुमा व्यवसाय नचल्ला कि भन्ने चिन्ताले पिरोलिएका गुरुङले कुनै दिन आफ्नो पेशाप्रति निराश हुनु परेको छैन । बरु उल्टै खाजा खान आउनेका भीडका कारण अरुलाई समेत रोजगारी दिन पुगेको छ । नयाँ–नयाँ प्रविधि सिकेर उनले आफूसँगै अरु ६ जनालाई र घरमा तीन जनालाई रोजगारी दिएका छन् ।

आवासको सुविधासहित सबै कामदारलाई स–सम्मान व्यवसायमा संलग्न गराएका गुरुङले सडक किनारमा मःम लगायतका खाजाका परिकार बिक्री गरेर मनग्ये आम्दानी गरिरहेका छन् । जागिरको दौरानमा भारतका विभिन्न ठाउँमा पुगेर उनले जीवन र जगत बुझ्ने अवसर प्राप्त गरे । जागिरकै सिलसिलामा उनी यूएसए र कङ्गो पुगे । त्यहाँको रहन–सहन समेत उनले नजिकबाट नियाल्ने मौका पाए ।

भारतका विभिन्न ठाउँमा खाएको खाजाको स्वाद र सेवाका क्रममा विदेश पुगेका बेला खाएको खानालाई सम्झँदै उनले आफ्नो होटलको सेवामा त्यसलाई जोडे । जसका कारण उनले सञ्चालन गरेको ‘नाङ्लो फुड ट्रक’ मा खाजा खान आउनेको चाप उच्च हुने गरेको छ ।

अझ लामो दुरीको यात्रामा निस्किएकाहरुले उनले बनाएको परिकार धेरै रुचाउने गरेको गुरुङ बताउँछन् । शहरको कोलाहलभन्दा बाहिर एकान्तमा भएर पनि होला अहिलेसम्म कुनै दिन कुनै कुराको समस्या भएको छैन–उनले भने– एकपटक खाजा खाने मानिस दोहो¥याएर आउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here