५० प्रतिशत विद्युत महसुल समेत गाउँपालिकाले व्यहोर्ने

0
170

बिर्तामोड, झापा गाउँपालिकाले कृषि उत्पादन बढाउँदै कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइका लागि विद्युत मोटर प्रदान गरेको छ ।
गाउँपालिकामा बसोवास गर्ने ९० प्रतिशत नागरिक कृषिमा आत्मनिर्भर रहेकाले उनीहरुलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई विद्युत मोटर प्रदान गरेको हो ।
९० जना कृषकलाई २÷३ हर्ज पावरको विद्युत मोटर उपलब्ध गराएको हो । यो सँगै ८० थान हेण्ड ज्याकसिडर (मकै रोप्ने मेसिन) र तीन सय ५३ जना किसानलाई स्पे्र टयांकी वितरण गरिएको हो । मोटरको मूल्य प्रतिमोटर २२ हजार रुपैयाँ पर्ने बताइन्छ । जसमा ५० प्रतिशत रकम गाउँपालिकाले व्यहोर्ने र ५० प्रतिशत रकम कृषकले व्यहोर्ने गरी सामान खरिद गरिएको र किसानलाई वितरण गरिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताए ।
त्यस्तै मकै रोप्ने मेसिन र स्प्रे टयांकी समेत ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो । आठ हजार दुई सय घरधुरी रहेको झापा गाउँपालिकामा सबैजसो परिवारका सदस्य कृषि पेशामा आबद्ध रहेको र उनीहरुलाई खेतीपातीका लागि सहज तुल्याउने उद्देश्यले गाउँपालिकाले कृषि औजार वितरण गरेको हो ।
गाउँपालिकाको २०७९÷०८० को गाउँसभाबाट कृषि तथा पशुपालनलाई प्राथमिकता दिँदै बजेत ल्याएको र सोही बजेट मध्येबाट २० लाख रुपैयाँ छुट्याएर मकै प्रबद्र्धन कार्यक्रम अन्तरगत यान्त्रिकीकरणमा सहयोग पु¥याएको कृषि शाखाका अधिकृत जगतनारायण मण्डलले बताए । झापा गाउँपालिकामा मकै पकेट कार्यक्रम सञ्चालित छ भने मकै प्रबद्र्धनका सञ्चालनमा छ ।
विद्युत मोटर वितरण गरिएका कृषकलाई विद्युत महशुलमा समेत गाउँपालिकाले सहुलियत दिएको छ । गाउँपालिका अध्यक्ष जयनारायण शाहले भने– ‘हामीले खेत–खेतमा पोल र खेतखेतमै विद्युत मिटर उपलब्ध गराएका छौं, अब यहाँका किसानले पानी नभएर खेती गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छैन । आफूलाई चाहिए जति सिँचाइ गर्न सक्छन् ।’ उनले भने– ‘विद्युत महशुलको आधार रकम गाउँपालिकाले तिरिदिन्छ ।’

गाउँपालिकाले मकैखेतीका लागि समेत किसानलाई २० लाख रुपैयाँ बराबरको बीऊमा अनुदान गरेको छ । कृषकलाई उत्पादनमा जोड्दै स्वावलम्वी बनाउन सहयोग पुर्याउने उद्देश्यले कृषि क्षेत्रमा नयाँ–नयाँ कार्यक्रम भित्र्याइएको बताइन्छ । हाल गाउँपालिकाले किसान परिचयपत्रको अवधारणा अघि सारेको छ भने घरधुरी कार्ड मार्फत मात्रै अनुदानका प्याकेजहरु किसानलाई उपलब्ध गराउँदै आएको छ ।


एक पटक सहयोग पाएका किसानले आफूले पाएका सामग्री दुरुपयोग गरे आगामी अनुदानका कार्यक्रमबाट वञ्चित गराइने अध्यक्ष साहको भनाई छ । कृषि उत्पादनमा बढावा दिन कृषकलाई धान, मकै, तरकारी लगायतका बीऊमा समेत अनुदान प्रदान गरिँदै आएको र यो कार्यलाई निरन्तरता दिने अध्यक्ष साह बताउँछन् । झापा गाउँपालिकामा एक सय ३४ वटा व्यवसायिक कृषि फार्म सञ्चालनमा छन् भने ८० वटा पशु फार्म सञ्चालनमा छन् । सामान्यदेखि सामान्य कृषकलाई समेत गाउँपालिकाले अघि सारेको कार्यक्रममा सहभागी गराउँदै सहयोग पुर्याउँदै अघि बढेको अध्यक्ष साहको भनाइ छ ।
डिल्लीराज माध्यमिक विद्यालयको प्राङ्गणमा बिहीबार कृषकका लागि मोटर वितरण गरिएको थियो । मोटरसहितका सामग्री वितरण गरिएसँगै त्यसक्षेत्रका कृषक उत्साहित देखिएका थिए । सधैँ खेतीबारीमा व्यस्त हुने कृषक ५० प्रतिशत अनुदानमै कृषि औजार पाउने भएपछि उत्साहित हुँदै मोटर मोटर लिन आएका थिए ।
गाउँपालिकाकी उपाध्यक्ष अञ्जुदेवी थपलियाले कृषकलाई सहज हुनेखालका कार्यक्रम ल्याउने र आगामी दिनमा गाउँपालिकालाई यान्त्रिकीकरणमैत्री बनाउँदै उन्नत जातको बाली उत्पादनमा प्रोत्साहन गर्ने बताइन् । उनले भनिन्– ‘कृषि औजारसहित कृषि सडकको निर्माण गर्दै उत्पादित सामग्रीलाई बजारीकरणमा सहयोग पुर्याउने हाम्रो लक्ष्य छ ।’
मोटर बितरण कार्यक्रममा झापा गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष राजकुमार यादव, साना किसान सहकारी संस्थाका अध्यक्ष केशव कटुवाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कृषि शाखाकी कर्मचारी रीता वर्देवाले सञ्चालन गरेको कार्यक्रममा स्वागत कृषि शाखाका अधिकृत जगतनारायण मण्डलले गरेकी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here