गलपासो बन्दै पर्यावरणीय समस्या

0
129

हामी वर्तमान विश्वमा तीन वटा पर्यावरणीय समस्याहरूसँग एकपटक जुध्न बाध्य बनेका छौं । जलवायु परिवर्तन, वायु प्रदुषण र जैविक विविधताको ह्रास । तर, कोरोनाको संक्रमणको समयमा संसारले यी माथिका मुद्दाहरु बिर्सन बाध्य बनायो । मानव सभ्यतामा कोरोना एउटा भयावह समस्या बन्न पुग्यो । मानिसलाई अति चिन्ताको बिषय बन्यो । किनकि त्यो तुरुन्त देखिन्थ्यो । कालान्तरमा त्यसको भन्दा ठूलो रुपमा देखिनसक्ने पर्यावरणीय असन्तुलन र समस्याहरुप्रति मानिसको ध्यान कमै गएको देखिन्छ । मानव स्वास्थ्यको क्षेत्रमा अलिकति मात्र ध्यानपूर्वक विश्लेषण गर्ने हो भने सरुवा रोगले होइन, बरु असाध्य रोगले मानिसको मृत्यु द्रूतगतिमा हुन थालेको पाइन्छ । कुनै बेला क्षयरोग मानिसको मृत्युको प्रमुख कारण थियो । अहिले आएर नसर्ने असाध्य रोगहरुले थला पारेको छ । उच्च रक्तचाप र धुम्रपानपछि मानिस मर्ने तेस्रो कारण वायु प्रदुषणको असर बन्न पुगेको छ । सम्पूर्ण मानव प्रजातिको लागि सङ्कटको अवस्था आइरहेको छ । जलवायु परिवर्तनको असर र जैविक विविधताबारे धेरै सम्मेलन र महासन्धिहरु भइसकेका छन् । तर, अवस्था झन् भयावह हुने छाँटकाँट देखिँदैछ ।

सन् १९७० ताका जङ्गलमा रमाइ–रमाई कुद्ने जनावरको संख्यामा झण्डै ७० प्रतिशतले घट्न पुगेको छ । सरिसृप, उभयचर जस्ता वर्गमा पर्ने जीवहरु त झन् सङ्कटापन्न बन्दै जाने र लोप हँुदै जाने अवस्थामा छन् । सन् ७० को दशकमा नेपालकै पूर्वी तराईका जिल्लामा खेतमा हलो जोत्दा कछुवा भेटिन्थ्ये । आज त्यो अपवाद बनिसकेको छ । विश्वका एक चौथाई जीवहरु लोपोन्मुख अवस्थामा पुगेका छन् । सन् २०१९ मा गरिएको एउटा अध्ययन अनुसार प्रत्येक १० वर्षमा एउटा चिसो रात कमी हुने गरेको छ । चिसो दिनको हकमा पनि आधा दिनले चिसो घटेको र दुई तातो दिन थपिने गरेको छ ।

जलवायु परिवर्तनले जनावरहरुको व्यवहारमा परिवर्तन ल्याएको छ । सर्प, भ्यागुतो र माछाहरु जमिनभित्र अति जाडो र गर्मी छल्न बस्ने समय बद्लिन पुगेको छ । तिनीहरुमा आश्रित अन्य जीवहरुमा खाद्यसङ्कट उत्पन्न हुन पुग्दछ । यसले जनावरहरुको बसाइँ सराइ अप्रत्याशित प्रकारको हुन पुगेको देखिन्छ । नयाँ स्थानको पारिस्थिक प्रणालीमा कुनै विशेष प्रकारका जीवको संख्या ह्वात्तै बढेर खाद्य शृंखलामा असन्तुलन पैदा गराउन थालेको सहजै देख्न सकिन्छ । आज हजारौं किलोमीटर यात्रामा रहेर आउने चराहरुको बाटो जलवायु परिवर्तनले अवरुद्ध पारिदिएको छ । वसन्त गृष्म ऋतुको समयमा एकाबिहानै मधुर कण्ठबाट आवाज निकाल्ने विभिन्न चराहरु आउन के–कसरी अप्ठेरो परेको होला ? तिनीहरुका प्रजनन् केन्द्र बनाउन र तिनीहरुको नेपाल बसाई सहज बनाउनेबारे न त कसैले सोचेको छ न त चर्चानै चलेको छ । त्यसकारण हामी छोटो–छोटो समयमा परिवर्तनको चपेटामा पर्दैछौं भनेर बुझ्नु पर्दछ ।

हामी प्रत्येक बर्ष विश्वका ठूला–ठूला शहरहरुले वायु प्रदुषणको आजसम्मको रेकर्ड ब्रेक गरेको भनेर खबरहरु सुन्ने गर्दछौं । चीन, भारत जस्ता एसीयाली मुलुकहरुका ठूला शहरहरुमा तँुवालोले ढाकेर विद्यालयहरु छुट्टी गरिएका र त्यसका असरहरु नेपालमा पनि देखिएको बिर्सन मिल्दैन । अप्रिल महिनाको शुरुदेखि नेपालको चुरे क्षेत्रमा डढेलोको प्रकोप शुरु हुन्छ । यसले वन विनास, वायु प्रदुषण, जैविक विविधतामा ह्रास आदि गराउँछ । दक्षिण एसियाली मुलुकहरु पनि जलवायु परिवर्तन जोखिममा पर्ने मुलुकहरुको अग्रपंक्तिमा पर्दछन् । ‘न्यू क्लाइमेट नर्मल’ भनिने अवस्थालाई यस क्षेत्रमा तातो हावापानी, लामो मनसुन तथा बढ्दो सुक्खाले प्रतिनिधित्व गर्दछ । लामो मनसुनले दक्षिण एसीयामा बाढी, पहिरोको प्रकोप बढ्दै जाने देखिन्छ । समुद्री क्षेत्रमा समुद्री तुफान साइक्लोनको प्रकोप क्रमशः बढ्दै जानेछ । यसले कृषि उत्पादन, पशुपालन, निर्माण तथा मानव स्वास्थ्य सबैतिर असर पु¥याउने देखिन्छ । यसबाट जोगिन सार्क मुलुकहरुले एकीकृत कार्यक्रम सञ्चालन गर्नु अति आवश्यक हुन्छ ।

नेपालकै परिस्थिति हेर्ने हो भने यो पर्वतीय मुलुक जलवायु परिवर्तनको उच्च जोखिममा परेको छ । यहाँ केहीअघिसम्म सेता देखिने हिमालहरु कालापत्थर टल्कने चट्टानका थुप्रामा परिणत भएका देखिन्छन् । एउटा अध्ययनले प्रतिवर्ष नौ मिलिमिटर पानी कम पर्न थालेको त्यसैले हिमाली क्षेत्र कालापत्थरमा परिणत हुन थालेको बताएको छ । पछिल्लो ५० वर्षमा हिम नदीको फैलावटमा १५ प्रतिशतले कमी आएको बताइएको छ । सीमसारमा पानी सुक्न थाल्नु, खोल्सा, गल्छी, चुरेमा पानीका मुहान सुक्दै जानु, तराई मरुभूमिकरणतर्फ उन्मुख हुनु, हिउँद सुक्खा बन्नु, आगजनी र वन डढेलो व्यापक बन्नु, हिमाली प्रदेशमा एक्कासी बाढी आउनु, लोपोन्मुख वनस्पति र जीवहरुको संख्या वृद्धि हुनु, अनाब्रिष्टी, अति ब्रिष्टी, खडेरी आदिले जोखिमको स्तर मापन गरिरहेका छन् । सन् १९६० देखि सन् २०१९ सम्मका तुलनात्मक अध्ययनहरुबाट नेपालको स्थायी हिमरेखा क्रमशः माथि सर्दै गएको देखिएको छ । पहिले पाँच हजार चार सय मिटरमा जहिले पनि टम्मै हिउँ देखिन्थ्यो अहिले आएर पाँच हजार छ सय ५० मिटर माथि मात्र यस्तो अवस्था देख्न सकिन्छ ।

भर्खरै मात्र फेब्रुअरी २०२३ वालस्ट्रिट जर्नलमा छापिएको सुखद् समाचारलाई आधार मान्दा केही सन्तोषको अवस्था आउन लागेको आभाष हुन्छ । ‘अर्थ ओजोन लेयर रोकोभर्स एज एयरबर्न केमिकल डिक्लाइन’ शीर्षकको समाचारमा पृथ्वीको सतहमाथि नौदेखि १८ माइल उचाइमा रहेको ओजोन तहको संतोषजनक मोटाइ वृद्धि भएको उल्लेख छ । ‘यू एन ब्याक प्यानेल अफ साइन्टिस्ट’लाई उदृत गर्दै वालस्ट्रीट्ले त्यो सुखद् समाचार प्रकाशित गरेको छ । ‘युनाइटेड नेसन इन्भार्योमेण्ट प्रोग्राम एण्ड वल्र्ड मेटेरोलोजिकल ओर्गनाइजेशन रिसर्च’ले सो कुरा पत्ता लगाएको थियो । आशा गरौं यो अवस्था पुनः पुष्टि हुनेछ । अझ मानिसमा यसप्रतिको चेतनाले मूर्तरुप लिनेछ । सरकारहरुले राष्ट्रिय र अन्तर्रास्ट्रिय स्तरमा पर्यावरण क्षेत्रमा अझ ध्यान दिनु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here