पछिल्लो घटनाक्रमले नेपालको राजनीति अस्थिरता र अनिश्चिततातर्फ उन्मुख भएको संकेत गरेको छ । त्यसो त नेपालमा राणा शासनको प्रारम्भ हुनु पूर्वको घटनाक्रम आज पनि जीवित छ । अर्थात् भारदारहरुको सत्ता केन्द्रीत स्वार्थले राणा शासनको प्रादुर्भावको वातावरण तयार गरेको थियो । त्यसयता प्रजातन्त्रका नाममा, जनतालाई सार्वभौम बनाउने कबोलमा गरिएका आन्दोलनका परिणाम सुखद् र अपेक्षित भए पनि व्यवहारमा त्यो सिद्ध हुन सकेन । परिणाममा राजनीतिक प्रणाली नै फेरियो । पटक–पटक फेरिएको प्रणाली र पद्धतिले पनि जनइच्छा र अपेक्षालाई सम्बोधन गर्न सकेन र अवस्था जहाँको त्यहीँ छ ।

लामो राजतन्त्रात्मक शासन प्रणालीको अन्त्य गरी गणतन्त्रात्मक शासन पद्धति आरम्भ भएको पनि लामो समय भइसक्यो । जानताका सेवक र रक्षक भन्ने दलहरु यसैमा गर्व पनि गर्छन् । परम्परागत शासन पद्धतिको सट्टामा कार्यकारी अधिकारसहितको प्रधानमन्त्री मार्फत शासन सञ्चालन गर्ने वाचा गरेका दलहरु सत्ताको उपभोगबिना बाँच्नै नसक्ने भएको आजको अवस्थाले स्थिरता र निश्चितता आकाशको फल सरह बनाएको छ । कुनै एउटा दललाई सत्ता सञ्चालनको आदेश नभएको अवस्थामा मिलिजुली सरकार दलहरुको बाध्यता हो । तर, त्यस्तो सरकार नटिक्ने कारणले राजनीति अस्थीर र अन्यौलग्रस्त बनिँदा पनि आमजनता केवल रमिते भएर बस्नुपर्ने बाध्यतामा छन् ।
नयाँ समीकरणमार्फत गठन भएको सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएसँगै देश राजनीतिक अस्थिरतातर्फ उन्मुख भएको विश्लेषकहरु बताउन थालेका छन् । नेपाली कांग्रेसले प्रतिपक्षी हुँदाहुँदै पनि सरकारलाई समर्थन गरेका कारण सरकार तत्काल ढल्ने अवस्था छैन । तर, यसले दलहरुका बीच अविश्वास बढाएको छ र राजनीति बेइमानी खेल हो भन्ने चाहिँ प्रमाणित गरेको छ । हाम्रो संवेदनशील भूराजनीतिक स्थिति स्वयम् अस्थिरताको मूल कारण हो भन्ने पनि छन् । छिमेकीहरुको बाक्लो ‘आउजाउ’ले त्यही संकेत पनि गरेको छ । उनीहरुको हस्तक्षेप, प्रभाव र दवाव हुने गरेको नेताहरुले नै बताउने गरेका पनि छन् । छिमेकी, कुटनीतिक, सुरक्षा अधिकारीहरु र विज्ञहरुले लिखित रुपमै हाम्रो आन्तरिक विषयमा अभिव्यक्ति दिने गरेका छन् । यसले हाम्रो स्वतन्त्र र सार्वभौम अधिकार गुम्ने खतरा बढाएको छ । अहिले कांग्रेस, एमाले र माओवादी केन्द्र नामका तीन राजनीतिक शक्तिहरुको कपट तथा जालझेलपूर्ण राजनीतिले देशलाई अनिश्चितताको भुँवरीमा लाने संकेत देखिन थालेको छ । यसले हाम्रो स्वाभिमान र स्वतन्त्रताको रक्षा गर्न सक्दैन । त्यसैले यस्तो संकटको घडीमा दलहरुले विवेकपूर्ण निर्णय गर्नैपर्छ ।





























