सरकारको अबको गन्तव्य

0
117

प्रधानमन्त्री पुष्पकमल दाहाल दोस्रो अग्नि परीक्षामा सहजै उत्तीर्ण भएका छन् । सोमबार विश्वासको मत प्राप्त भएपछि प्रधानमन्त्री दाहालको अबको बाटो निष्कंटक भएको छ । प्रतिनिधिसभामा उपस्थित दुई सय ६२ सांसदमध्ये एक सय ७२ सांसदले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका थिए । झण्डै एक तिहाइ सांसदको विश्वास प्राप्त गरेका दाहालका अघि अब मन्त्रिमण्डल विस्तार गर्ने चुनौति छ । स्वतन्त्रसहित दश वटा दलको समर्थन र विश्वास प्राप्त गरेका दाहालले अब मन्त्रालय बाँडफाँट गर्दै मन्त्रिमण्डल विस्तार गर्नुपर्नेछ । मन्त्रिमण्डलमा आफूलाई समर्थन गर्ने दल सबैलाई समेट्नुपर्ने दायित्व प्रधानमन्त्री दाहालको हो । यस्तोमा सबैलाई चित्त बुझाउने काम त्यति सहज भने छैन ।

सत्तारोहण गरेको दुई महिनामै दोस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था राजनीतिक स्थिरताका लागि शुभ संकेत चाहिँ होइन । एक त राजनीतिक प्रणाली र संविधानको कार्यान्वनयमा अझै चुनौति छ, त्यसमाथि कुनै राजनीतिक दलले निर्वाचनमा बहुमत प्राप्त गर्न सकेका छैनन् । यस्तोमा निर्विकल्प जस्तै भएको गठबन्धनको सरकारमार्फत राजनीतिक स्थिरतासँगै सुशासनको अनुभूति दिलाउनु प्रधानमन्त्री दाहालका लागि अर्को परीक्षा हो । सरकार गठन गर्दा लगभग सम्पूर्ण सांसद र दलको विश्वास प्राप्त गरेका प्रधानमन्त्री दाहालले दुई महिनाकै अन्तरालमा सत्ता समीकरण बदल्नुपर्ने परिस्थितिको गम्भीर मूल्यांकन उनी र उनको दलले गर्नुपर्छ ।

जे भए पनि स्पष्ट बहुमत सरकारसँग छ । झण्डै दुईतिहाइकै विश्वास र समर्थन प्राप्त सरकारले अब विकास र समृद्धिमा लाग्नु पर्दछ । अहिलेसम्म स्थगित भएका विकास, निर्माणका गतिविधिहरु निर्वाधरुपले सञ्चालन हुनुपर्छ । आम नागरिकले स्थिर सरकार र भ्रष्टाचारमुक्त शासनको अनुभूति गर्न पाउनुपर्छ । अहिलेसम्मका राजनीतिक घटनाक्रमले देश गम्भीर संकटमा फसेको चित्र देखाएको थियो भने पनि त्यसलाई चिर्ने र खस्किएको आर्थिक क्षेत्रलाई चलायमान बनाउने जिम्मा पनि सरकारकै हो । आर्थिक संकटका कारण आमजनतामा बढेको आशंका र असुरक्षालाई समेत सम्बोधन गर्ने नीति तथा कार्यक्रम मार्फत देश र जनतालाई नयाँ, सुरक्षित र निश्चित मार्ग प्रशस्त गर्नेतर्फ सरकार गम्भीर हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here