शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध

0
228

बच्चा जन्मन्छ, हुर्कन्छ अनि बिस्तारै विद्यालय जाने अवस्थामा पुग्दछ । अनि आमाको न्यानो काख र परिवारजनको माया दिनभरिका लागि त्यागेर विद्यालय आउँछ । घर उसको पहिलो पाठशाला हो अनि आमा उसको पहिलो शिक्षक । जन्मने बित्तिकैदेखि उसले आमाको साथ पाउँछ र हरेक ज्ञान सिक्दछ । खान सिक्छ, बोल्न सिक्छ, हिँड्न सिक्छ र विभिन्न सवाल बुझ्ने अवसर आमाबाट पाउँदछ । साथै अरू परिवार पनि उसका संरक्षकका रूपमा रहन्छन् । यो समय उसले सही र गलत छुट्याउन सक्दैन । तर, सिक्ने क्षमता भने बढी हुन्छ । त्यसैले उसलाई उसका अभिभावकहरूले सही कुरा सिकाउनु पर्दछ ।

जब बच्चा विद्यालयमा भर्ना हुन्छ त्यो समय भनेको उसका लागि अति नै कठिन क्षण हुन जान्छ । उसले सबभन्दा प्यारो वस्तु (आमा) दिनभरिका लागि छोड्नुपर्ने हुन्छ । यो अवस्थामा ऊ रुन्छु, खाँदैन अनि विद्यालय जाने समय हुनासाथ विभिन्न बाहाना बनाउन थाल्दछ । जस्तो पेट दुख्यो, खुट्टा दुख्यो, निद्रा लाग्यो, सर मिसले पिट्नु हुन्छ इत्यादि । यो अवस्थामा बच्चालाई विद्यालयसम्म आउने र खुशी भएर बस्ने वातावरण मिलाउन शिक्षक र अभिभावकले महत्वपूर्ण भूमिका खेल्नु पर्ने हुन जान्छ । बच्चा घरबाट विद्यालय ल्याउने पहिलो काम अभिभावकको हुन्छ । बच्चालाई विद्यालय ल्याउँदा ऊ जोसँग बढी खुशी हुन्छ, उसले ल्याउनु पर्दछ । उसलाई सर मिसप्रतिको राम्रो भावना जगाइ दिनु पर्दछ । विद्यालयमा खेल्न गएको जस्तो भान हुनु पर्दछ । विद्यालय गएको केही समय गृहकार्यमा कडाइ गर्नुहुँदैन । विद्यालयमा के जानिस् भनेर प्रश्न गर्नु उचित हुँदैन । बरु दिनभरिका विद्यालयका गतिविधिहरू रमाइलो तरिकाले सोध्ने, उसलाई कुनै कठिनाइ आइ परे ती समस्या ल्याएर शिक्षकसँग भनि दिने । किनकी बच्चाले मनका कुरा सबैभन्दा बढी आमासँग बाँड्ने गर्दछ ।

शिक्षक नम्र र हँसिलो स्वभावको हुनु पर्दछ । विद्यालयलाई आफ्नो दिनभरिको संसार मान्नु पर्दछ । बच्चालाई समान व्यवहार गर्नुपर्दछ । समयको ख्याल राख्नु पर्दछ । सबै बच्चाको स्वभाव एकै किसिमको हुँदैन । त्यसैले ऊ के भन्दा बढी खुशी हुन्छ र के भन्दा बढी दुःखी हुन्छ राम्ररी विचार पुरÞ्याउनु पर्दछ । नराम्रा र अश्लील शब्द प्रयोग गरेर गाली गर्नुहुँदैन । शिक्षक आफू–आफूमा भएका मनमुटावहरू बच्चाहरूले थाहा पाउनु हुँदैन । उसका आफन्तका नराम्रा कुरा गरिदिनुहुँदैन । गृहकार्य धेरै दिनुहुँदैन । गृहकार्य गरेन भनेर पिट्नु हुँदैन । उसका राम्रा र नराम्रा बानी अभिभावकबाट थाह पाउनु पर्दछ । यसबाट बच्चा फकाउन सजिलो हुन्छ । उसलाई फकाउँदा धेरै डर देखाउने र तर्साउने गर्नुहुँदैन । शुरु–शुरुमा उसलाई म विद्यालय खेल्न जाँदैछु भन्ने भावना जगाइ दिएर थाहै नपाई पढाइमा सरिक गराउनु पर्दछ । उसले भनेका कुरा ध्यान दिएर सुनिदिनु पर्दछ ।

यी त भए भर्खरै विद्यालयमा भर्ना भएका बच्चालाई बानी बसाउने कुरा । जब बच्चा कक्षा चढ्दै जान्छ, उसमा व्यवहार परिवर्तन हुँदै जान्छ । उनीहरूलाई शिक्षकले गर्ने व्यवहार पनि परिवर्तन हुनु पर्दछ । विद्यार्थी सबै एकै परिवेशका हुँदैनन् । उनीहरूको जात, धर्म, बाबुआमाको पेसा, घर व्यवहारमा चल्ने तरिका विभिन्न किसिमका हुन्छन् । यी सबैलाई शिक्षकले समान व्यवहार गर्नुपर्दछ । म एक शिक्षिका हुँ, १८ वर्षकै उमेरदेखि म यो पेसामा सरिक हुन पाएँ । आज २९ वसन्तहरू पार भइ सकेछन् । २९ वर्षको अन्तरालमा मैले विभिन्न किसिमका जात, धर्म र समुदायका बालबालिकाहरूसँग घुलमिल हुने मौका पाएँ ।

सरकारी विद्यालय भनेको स्वभावैले निम्न र पिछडिएका वर्गका बच्चाले पढ्ने विद्यालयभन्दा फरक नपर्ला जस्तो मलाई लाग्दछ । कुनै पनि बच्चाको पारिवारिक परिवेश र उसको आर्थिक अवस्था शिक्षकले अनिवार्य बुझ्नु पर्दछ । बालबालिकाहरू निश्चल र निष्कपट हुन्छन् । उनीहरूले आफ्ना मनमा लागेका कुराहरू शिक्षक अनि आमाबुवासँग बाँड्न चाहन्छन् । यस्तो अवस्थामा आ–आफ्नो ठाउँबाट उनीहरूका कुरा सुनिदिने र सकेसम्म समस्या समाधान गरिदिने गर्नुपर्दछ । यदि मनका कुरा बाँड्न नपाएमा उसले नराम्रो बाटो लिन पनि सक्दछ ।

हाम्रो समाजमा धेरै बालबालिकाहरू पारिवारिक द्वन्द्वमा पीडित भएका मैले पाएकी छु । अभिभावकहरू बच्चाको भन्दा आफ्नो चाहना पूरा गर्न तल्लिन देखिन्छन् । हुन त सबैमा यो लागू नहोला तर मैले बुझेसम्म ६०–६५ प्रतिशत बालबच्चाहरु कुनै न कुनै तरिकाले पीडित छन् । आडम्बर, देखासेकी अनि सहन सक्ने क्षमताको कामीका कारण बच्चाहरूका अधिकार अभिभावकबाट खोसिएको पाइन्छ । टेलिभिजन, अश्लील चलचित्र, मोबाइल फोन अनि रमाइलोका नाममा प्रयोग गरिने नराम्रा खानपिनको दुरुपयोगले घर तहसनहस भएर बच्चाहरुमा मानसिक तनाव आएको सम्म पाउन सकिन्छ । कतै हामी जान्ने बुझ्ने भएर पनि यी गल्ती गरिरहेका त छैनौं ? एक पटक सबैले सोच्नै पर्छ ।

यसरी जब बच्चा घरबाट पीडित भएको हुन्छ, उसले विद्यालयमा राम्रो व्यवहार देखाउन सक्दैन । यस्तो अवस्थामा उसको मनस्थिति शिक्षकले राम्रोसँग बुझ्नुपर्ने हुन्छ । कुनै बच्चा एउटा गल्ती बारम्बार दोहो¥याउँछ भने त्यसका पछाडि के कारण छ ? सोच्नु पर्दछ । जस्तो कि दिनहुँ गृहकार्य गर्दैन, किन ? कापी ल्याउँदैन, किन ? सफा भएर आउँदैन, किन ? यसका पछाडि विभिन्न कारण हुन सक्छन् र शिक्षकले गाली गर्नुको साटो उसको पारिवारिक वातावरण बुझ्नुपर्ने हुन्छ । अनि अर्कातर्फ अभिभावकले पनि आफ्नो बच्चाको बारेमा सोच्नु पर्दछ ।

बच्चा पढ्न मन गर्दैन, किन ? विद्यालय जान मन गर्दैन, किन ? यस्तो अवस्थामा अभिभावकले शिक्षक सँग सम्पर्क गर्न जरुरी हुन्छ । त्यसैले ‘एक हातले मात्र ताली बज्दैन’ भने झैं हामी शिक्षक, अभिभावक र विद्यार्थी एक अर्काका पूरक हौं । सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी वहन गरौँ । त्यसपछि हुन्छन्– ‘आजका बालक भोलिका देशका कर्णधार ।’ अनि हुन्छ मलाला युसेफ जाइको भनाई चरितार्थ ‘One child, one teacher, one pen and one book can change the world’ (कँडेल बाल सुबोधिनी मावि, मेनपा– १४ की शिक्षिका हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here